|

भक्तपुरः ललाई फकाई र लोभ लालचमा पारी मृगौला लिएको आरोपमा भक्तपुर प्रहरीले मृगौला प्रत्यारोपण गरेका एक बिरामीलाई नियन्त्रणमा लिएको छ।

काभ्रेपलाञ्चोकको साविक टुकुचा गाविस–९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने प्रल्हाद गिरीको जाहेरीका आधारमा भक्तपुर प्रहरीले मृगौला प्रत्यारोपण गरेका मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१ घर भई हाल भक्तपुर नगरपालिका–१ डेरागरी बस्ने ५१ वर्षीय थर्क बहादुर बस्नेतलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको हो।

जाहेरीवाला प्रल्हादले मृगौला पीडित थर्क बहादुरले ललाई फकाई र लोभ लालच देखाएर आफ्ना २९ वर्षीय भाइ कुमार गिरीको मृगौला लिएको आरोप लगाउँदै भक्तपुर प्रहरीमा जाहेरी दिएको र सोही जाहेरीका आधारमा थर्कबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धानअघि बढाएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत एवम् प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

बिरामीको स्वास्थ्य स्थितीलाई ध्यानमा राखी चिकित्सकको सल्लाह बमोजिम थर्कबहादुरलाई आवश्यक व्यवस्थाका साथ प्रहरी नियन्त्रणमा राखिएको प्रनाउ प्रसाईंले बताए। थर्कबहादुरले गत बैशाख १० गते शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपण गरेका थिए। थर्कबहादुरलाई मानव अंग बेचविखन ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनाउ प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.