नमुना वडा बन्दै ठूलोसिरुवारी

|

सिन्धुपाल्चोक : विकास निर्माणका लागि छुट्याइएका सरकारी बजेट योजना सम्पन्न नभएर वषौँ रकम फ्रिज भइरहेको सन्दर्भमा ठूलोसिरुवारीका जनताले भने आफ्नै लगानीमा विकास निर्माणमा सक्रियता देखाएका छन्। स्थानीय तहको गठन भएसँगै चौतारा साँगाचोकगढी नगरपालिका १३ अन्र्तगत रहेको ठूलोसिरुवारीले विकास निर्माणमा अग्रता लिएको हो। 

वडा अध्यक्ष रामप्रसाद गौतमको अग्रसरताका कारण उक्त वडाले शिक्षा, स्वाथ्य, मोटरबाटो, आवास निर्माण, खानेपानी तथा अन्य विकास निर्माणमा तिव्रता लिएको हो।

सो वडाका निम्न वर्गदेखि उपल्लो तहसम्मले एम्बुलेन्स, सडक, नमुना बस्तीलगायत सामजिक तथा पूर्वाधार विकासमा चन्दादान  गरिरहेका छन्। जस्ले ठूलोसिरुवारी जिल्लाभरीकै नमुना वडा बन्ने तरखरमा रहेको छ।

चन्दा उठाएर एम्बुलेन्स

स्थानीय युवाहरूले सामाजिक सञ्जालको माध्यमबाट चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स किनेका छन्। साविकको ठूलोसिरुवारी गाविस हाल चौतारा साँगाचोकगढी नगरपालिका १३ का युवाहरूले फेसबुकलगायत सामजिक सञ्जालबाट रकम संकलन गरेर एम्बुलेन्स खरिद गरेका थिए।

वडाको योजना तथा माओवादी केन्द्र र युवाहरूको सक्रियतामा ठूलोसिरुवारी विकास समाजको अभियानबाट एम्बुलेन्स खरिदका लागि चन्दा संकलन गरिएको थियो। देश विदेशमा रहने गाउँका सबैलाई सामाजिक संजाल मार्फत अनुरोध गरेर एम्बुलेन्स खरिद गरिएको सो वडाका वडा सदस्य तथा अगुवा लिलाबहादुर गिरीले जानकारी दिए। उनका अनुसार विदेशमा रोजगारीको शिलशिलामा रहेका श्यामसुन्दर नेपाल, राज पुरी, टंकबहादुर दुलाल, यमबहादुर श्रेष्ठ र नेमा तामाङको सक्रियतामा रकम संकलन भएको थियो। 

स्थानीय विरामी हुँदा एम्बुलेन्स अभावमा अकालमा नै ज्यान गुमाउन पर्ने स्थितिलाई मध्येनजर गर्दै सामाजिक संजालको प्रयोग गरेर रकम संकलन गरिएको अर्का अभियान कर्ता सुनिल श्रष्ठले बताए। अभियानमा साथ दिएका वडा पार्टी कमिटी तत्कालीन माओवादी केन्द्रका १३ नम्बर वडाका अध्यक्ष रामशरण विश्वकर्माका अनुसार सामाजिक संजालको माध्यमबाट सात लाख ४५ हजार रुपैयाँ संकलन गरिएको थियो।

एम्बुलेन्स खरिदका लागि सो वडाका प्रत्येक घरबाट साविकको ठूलोसिरुवारीले घरधुरीदर्ता गरेर पाँचसयका दरले संकलन गरिएको रकमसमेत प्रयोग गरिएको वडा अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए। जसमा छ लाख संकलन भएको थियो तर एउटै गाविस हुँदा पूर्व ७, ८ र ९ वडा रहेको डडुवाले छ लाख बाहेक फिर्ता लगेको थियो। 

स्थानीयले सुरु गरेको धुरीकरबापत छ लाख संकलन भएको थियो। सामाजिक संजाल र धुरीकरबाट संकलन भएको रकममा नपुग रकम चौतारा नगरपालिकाले दुई लाख र वडा कार्यालयले एक लाख सहयोग गरेको चौतारा साँगाचोकगढी नगरपालिका १३ का वडा अध्यक्ष गौतमले जानकारी दिए।

एम्बुलेन्स सञ्चालनका लागि आगामी दिनमा वडा कार्यालयले सहयोग गर्ने वडा अध्यक्ष गौतमले बताए। स्थानीयको सहयोगमा खरिद गरिएको एम्बुलेन्स सेवाको वडा अध्यक्ष गौतमले एक समारोहका बीच शुभारम्भ गरेका थिए। एम्बुलेन्स खरिदपछि यस भेगका पाँच हजार बढीलाई फाइदा पुग्ने एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष नारायण गौतमले बताए।

एम्बुलेन्सलाई प्रभावकारी र सर्वसुलभ बनाइने एम्बुलेन्स संचालक समितिले जानकारी दिएको छ। उक्त एम्बुलेन्स खरिद गर्न १२ लाख ३३ हजार खर्च भएको छ भने आवश्यक अन्य उपकरण साइरनसमेत जडान गर्न अब ४८ हजार खर्च लाग्ने एम्बुलेन्स सेवा समितिले जनाएको छ। एम्बुलेन्सको लागि सहयोगदाताहरूको वचनवद्धताबाट अझै एक लाखभन्दा माथि आउन बाँकी रहेको वडा अध्यक्ष गौतमले जानकारी दिए। उक्त वडाले एम्बुलेन्स खरिद गरेपछि उक्त नगरपालिका अन्र्तगत दक्षिण भेगका छिमेकी ८, ९, १० र १४ लगाएत वडालाई समेत सेवा पुर्‍याइने वडा अध्यक्ष गौतमले जानकारी दिए।

आवास निर्माणमा ठूलोसिरुवारको अग्रता

विकास निर्माणमा अग्रता लिएको ठूलोसिरुवाले आवास निर्माणमा पनि अग्रता लिएको छ। एक हजार १४५ घरधुरीको पहिलो किस्ता निकासा भएकोमा दोस्रो किस्ता एक हजार १०४ अर्थात ९६.५ प्रतिशतले प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो किस्ता लिएका लाभग्राहीले ८ सयको हाराहारीमा घर निर्माण गरिसकेका छन्। 

जसको औसत झण्डै ७० प्रतिशत हुन आउँछ। वडा कार्यालयका अनुसार अब दोस्रो किस्ता लिन बाँकी ४१ लाभग्राही रहेका छन् भने १०० को हाराहारीमा आवास सम्पन्न भए पनि काठकर्मीको अभावमा धुरी हाल्न बाँकी रहेको छ। यसैगरी गुनासोमा परेका १५७ पहिलो सर्भे भएको र दोस्रोमा  ८९ लाभग्राहीको सर्भे हुन बाँकी रहेको वडा कार्यालयले जनाएको छ ।

बाटो निर्माणमा पनि जनस्तरबाट लगानी 

यतिबेला चौतारा साँगाचोकगढी १३ नम्बर वडाले सबभन्दा धेरै चर्चा पाउने मूख्य कारण सडक निर्माणले पनि हो। यस वडाले बाटो फराकिलो बनाउने काम जिल्लाकै नमुना बनाएको छ। जल्किनी घुम्तीदेखि नर्सिङडाँडा–डौठे–अर्चलेसम्म पुर्‍याउने लक्ष्य रहेको उक्त बाटो यस वर्ष दुलालगाँउसम्म फराकिलो बनाइएको वडा अध्यक्ष गौतमले जानकारी दिए। यस आर्थिक वर्ष सम्मभव भएसम्म कोटडाँडादेखि नर्सिङडाँडासम्म फराकिलो बनाउने योजना रहेको उनले जानकारी दिए।   

उसोत यस आर्थिक वर्ष उक्त बाटो २७७ मिटर पिचको प्रक्रियामा छ। जसका लागि नगरपालिकाले ५० लाख छुट्याएको थियो। यसैगरी, बाटो निर्माणमा लागत साँझेदारीमा १० लाख र वडाबाट १८ लाख खर्च गरिएको वडा कार्यालयले जनाएको छ। त्यस्तै श्रीछाप सामुदायिक बनबाट दुई लाख लगानी भएको छ। सडक निर्माणमा फेसबुक सञ्जाल र स्थानीयबाट चन्दा संकलन गरिएको छ। १५ लाख चन्दा संकलनको अपेक्षा गरिएकोमा गत बिहीबारसम्म पाँच लाखभन्दा माथि रकम संकलन भएको वडा अध्यक्ष गौतमले जानकारी दिए। 

वडा कार्यलयका अनुसार मोटरबाटो निर्माणमा वडा अध्यक्ष रामप्रसाद गौतमबाट एक लाख, समाजसेवी जनार्दन फुयाँलबाट एक लाख, रामबहादुर गिरीबाट एक लाख १० हजार, कृष्ण फुँयालबाट ५० हजार, अर्जुन पुरीबाट ५० हजारलगायत सर्वसाधारणबाट समेत चन्दा प्राप्त भएको बाटो निर्माण समितिका अध्यक्ष गंगालाल श्रेष्ठले जानकारी दिए। उक्त अभियान निर्माण सम्पन्न नहुँदासम्म जारी रहने  सो समितिका सचिव रामप्रसाद चौलागाईले जानकारी दिए। 

खानेपानी निर्माणमा तिव्रता 

भूकम्पपछि खानेपानीले निकै समस्या झेलेको ठूलोसिरुवारीमा पछिल्लो पटक खानेपानी निर्माणले तिव्रता पाएको छ। जसअनुसार सेवकद्वारा पाँचवटा खानेपानी आयोजान (ठाडो गाउँ, जुगे विरौटा गौतम टोल, खत्रिटोल, झ्याडीखर्क) निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ। 

जसमा तीनखोला लिफ्ट खानेपानी क्षमता वृद्विका लागि सेवक नेपालद्वारा झण्डै २१ लाखको लागतमा ट्याङकी निर्माण तथा पाईप लाईन व्यवस्थित गर्ने कार्य भइरहेको छ। यसैगरी, फ्रन्टवोर्डको लगानीमा आर्साे नेपालद्वारा नर्सिङडाँडा र भुलभुलेको लिफ्ट खानेपानीको कार्य भइरहेको छ। जसमा नर्सिङडाँडाको लागि लागतसाँझेदारी अन्र्तगत १० लाख र भुलभुलेको लागि सोही कार्यक्रम अन्र्तगत पाँच लाख रकम विनियोजित भएको छ। दुवै खानेपानी योजनाको लागि एक करोड र ४० लाख खर्च लाग्ने बताइको छ। अहिले यी दुबै योजना निर्माण अन्तिम चरणमा पुगेका छन्।

त्यस्तै, चन्द्रधिमालकोटीको सक्रियतामा जमुना सुमन च्यारिटी पाउण्डेशनको आर्थिक सहयोगमा तल्लो रोका टोलमा लिफ्टिङ प्रविधिद्वारा खानेपानी निर्माण सम्पन्न भएको छ। यसैगरी हेल्प ईभि जर्मनीले हर्रेको लिफ्टिङ खानेपानीको लागि सर्भे सम्पन्न भई निर्माण शुरु गर्ने चरणमा रहेको छ भने इच्छादेवी थानदेखि नेपाली टोल, सेतीदेवी माविलाई खानेपानी पुर्‍याउने योजनामा छ। हेल्प ईभि जर्मनीद्वारा वडा भित्रका सबै विद्यालयमा खानेपानी पानीको व्यवस्था मिलाउने योजना रहेको  वडा अध्यक्ष गौतमले जानकारी दिए। 

काठे पोल विस्थापित हुँदै 

यसैगरी दुईबर्ष भित्रमा वडालाई काठको पोल मुक्त बनाउने अभियान अन्तर्गत उक्त वडामा काठको पोल हटाई एकसयको हाराहारीमा नगरपालिका र विद्युत प्राधिकरण समेतबाट पोल फेर्ने काम भईरहेको गौतमले जानकारी दिए । 

त्यसैगरी, वडा स्तरमा खानी पानीको लागि लागत साझेदरीमा नगरबाट दुईवटा ट्रान्सफर्मको व्यवस्था तथा प्राधिकरणबाट दुई वटा ट्रान्सफर्मको व्यवस्था गरिएको उनले जानकारी दिए । त्यस्तै उक्त वडाको हर्रेमा ट्रान्सफर्म प्राप्त भइसकेको र ट्रान्सफम जडान गर्नको लागि पोल तार अन्य सामग्रीहरु विद्युत प्राधिकरण सामुसाँघुबाट प्राप्त हुने क्रममा रहेको वडा कार्यालयले जनाएको छ। 

शिक्षामा सुधार 

नगरपालिकाबाट निर्देशित योजना अनुरुप उक्त वडामा गुणस्तरीय शिक्षाको लागि सबै विद्यालयहरुको योजना बनाई सामुदायिक शिकाई केन्द्रमार्फत बालमैत्री सिकाई तालिम प्रदान गरिएको छ। यसैगरी वडा भित्रका विद्यालयहरुलाई विद्यार्थी संख्याका आधारमा तहगत मिलान गरी तल्ला तहका कक्षाहरुमा अंग्रेजी माध्यामको पढाईलाई परिणाममुखी बनाइएको तथा विद्यालयको योजनालाई निर्माणको अन्तिम चरणमा रहेको वडा कार्यालयले जनाएको छ। यसैगरी प्राविधिक धारको विद्यालय सिटिईभिटीमार्फत विद्यालय सञ्चालनको लागि पहल शुरु गरिएको वडा अध्यक्ष गौतमले जानकारी दिए। 

यसैबीच लक्षित वर्गलाई केन्द्रीत गरी विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने चरणमा रहेको वडा कार्यालयले जनाएको छ। त्यस्तै पशु तथा कृषि औजारको लागि समेत विषयगत कार्यलय नगर शाखाले लगानी गरेको वडा कार्यालयले जनाएको छ। उक्त वडाको झ्याडीखर्कलाई प्रधानमन्त्री आधुनिक कृषिप्रणाली अन्र्तगत मकैको बिउको पकेटक्षेत्र घोषणासमेत गरिएको छ। 

पीडित नै जुटे एकीकृत बस्ती निर्माणमा

भूकम्पले खण्डहर बनाएको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलोसिरुवारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत नमुना बस्ती निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती निर्माणमा लागेका हुन्। ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँलेले असोजदेखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका हुन्।

पीडित सम्मिलित सिमाका सामुदायिक पुनर्निर्माण समिति गठन गरेर एकीकृत नमुनाबस्ती निर्माणमा जुटेका गाउँलेले अहिले कामलाई तीव्र बनाइरहेका छन्। ‘असारभित्रै एकीकृत नमुना बस्तीले अन्तिम रूप पाउँदै छ,’ पुनर्निर्माण समितिका उपाध्यक्ष तोकबहादुर श्रेष्ठले भने । उनका अनुसार निर्माण अन्तिम चरणमा पुगेका २८ घरको छाना छाइसकिएको छ भने १९ घरको भुइँ तह संरचना (डिपिसी) तयार भइसकेको छ।

‘लोडबियरिङ’ संरचनाका एकै डिजाइनका घर, निलो जस्तापाता र एउटै रङरोगनसहितको साजसज्जा बस्तीको प्रमुख विशेषता रहने उपाध्यक्ष तोकबहादुर बताए। ‘परिवार सदस्यको आधारमा घरका आकार भने केही साना–ठूला छन्,’ बस्ती पुनर्निर्माणको रेखदेख गरिरहेका श्रेष्ठले भने।

समितिका अनुसार गाउँमा हालसम्म अनुदान प्राप्त गरीसकेका लाभग्राही परिवारको संख्या भने ३६ मात्र छ । ११ परिवारले लाभग्राहीमा समेटिन गुनासो फारम भरेका छन् । गुनासो सम्बोधन नहुँदा उनीहरु अझै अनुदानबाट वञ्चित छन्। तर लाभग्राहीमा नसमेटिए पनि उनीहरुको समेत घर पुनर्निर्माण भइरहेको छ। ५० हजार रुपैयाँका दरले प्राप्त पहिलो किस्ताको १८ लाख रुपैयाँ एउटै कोषमा जम्मा भएपछि गाउँले बस्ती निर्माणमा जुटेका हुन्। दोस्रो किस्ताको समेत एउटै कोषबाट बस्ती निर्माणमा ७२ लाख रुपैयाँ परिचालन भइसकेको समितिले जनाएको छ।

‘हालसम्म करिब डेढ करोड रुपैयाँ लगानी भइसकेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने। ‘अनुदान बाहेकको लागत परिवार–परिवारबाट जुटाएका हौँ’ उनले भने।  बस्ती विकासपछि घरका आकार अनुसार भएको लगानी सम्बन्धित पीडितले बेहोर्ने उनले जानकारी दिए।

बस्तीमा नेवार समुदायको मात्र बसोबास छ। पीडितका घर भने आ–आफ्नै जग्गामा बनिरहेका छन्। ‘एकै ठाउँमा नजिक–नजिक घर रहेका गाउँ रहेकाले खानेपानी, शौचालय, बिजुली, सडक लगायत न्यूनतम पूर्वाधार विकासमा पहुँच स्थापित गर्न गाउँ सल्लाहमै एकीकृत नमुना बस्ती बसाल्ने निर्णयमा पुगेका हौँ’, निर्माण अभियन्ता धनबहादुर श्रेष्ठले भने। आलोपालोमा कामदार परिचालन, निर्माण सामग्री ढुवानी समितिले एकद्वार नीतिअनुरुप गरिरहेको छ। यसो गर्दा ढुवानी र निर्माण सामग्री नै सस्तो पर्न गएको अध्यक्ष लिलाबहादुर श्रेष्ठले बताए।

पानीको समस्याले पुनर्निर्माणमा ढिलाइ भइरहेको स्थानीयको गुनासो छ। समितिले पानी समस्याकै कारण दैनिक २८ को संख्यामा परिचालन हुने कामदार १० मा झारेको छ। उक्त समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले खानेपानीको लागि तीन लाख प्रदान गरेको छ। त्यस्तै एकीकृत नमुनाबस्तीको रंगरोगनको लागि समेत नगरपालिकाले दुई लाख अनुदान दिएको छ। 

उक्त एकीकृत नमुना बस्ती निर्माण गर्न दुई समूहमा विभाजन गरेर उनीहरूलाई पुनर्निर्माणमा खटाइएको छ । ११ परिवारले घरमा तला थपेका छन्। अधिकांश भुइँतले छन्।

गाउँको एकीकृत नमुना बस्ती निर्माणमा वडा कार्यालयले पनि हौसला थपिरहेको छ। बस्ती बनिरहेको चौतारा–साँगाचोकगढी नगरपालिका–१३ नम्बर वडाको आग्रहमा जाइकाले प्राविधिक सहयोग गरिरहेको वडा अध्यक्ष गौतमले बताए। उनका अनुसार वडा कार्यालयले नै संरचनामा एकरुपता ल्याउन घरका डिजाइन बनाउन सुझाब दिएको थियो।

‘बस्तीमा सडक, खानेपानी, सामुदायिक भवन, खेल मैदानलगायत पूर्वाधार विकास गुरुयोजना वडा कार्यालयकै अगुवाइमा बनेको छ,’ तत्कालीन माओवादी केन्द्रका वडाध्यक्ष रामशरण विश्वकर्माले भने। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एकीकृत बस्तीमा आकर्षण बढाउन पूर्वाधार विकासमा सघाउने नीति लिएको जानकारी गराउँदै उनले भने, ‘यो बस्तीको पूर्वाधारमा सघाउन प्राधिकरणसँग पहल थालिसकेका छौँ।’

उक्त एकीकृत नमुना बस्ती सम्पन्न हुन करिब तीन करोड अन्य पूर्वाधारमा थप तीन करोड खर्च लाग्ने अनुमान पुननिर्माण समितिको ठहर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.