|

काठमाडौं : देशकै जेठो सरकारी अस्पताल वीर अस्पतालको सरसफाई तथा रङ रोगन गर्न धुर्मुस-सुन्तली फाउन्डेसनले  चन्दा उठाएको भन्दै बाहिर आएको कुरालाई धुर्मुस–सुन्तली फाउन्डेसनले खण्डन गरेको छ।

बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्षसमेत रहेका सीताराम कट्टेल (धुर्मुसले) आफूहरूले वीर अस्पतालको नाममा कुनै पनि व्यक्ति, संघसंस्थासँग रकम नउठाएको बताए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको समेत सहभागिता रहेको पत्रकार सम्मेलनमा भावुक हुँदै धुर्मुसले भने, 'मैले र मेरो संस्थाले वीर अस्पतालकै लागि भनेर कोहीसँग एक रुपियाँ लिएका छैनौँ, स्वत:स्फूर्त दिनेहरूको सरसफाई सामग्री अस्पतालको रोहवरमा मात्र लिएका छौँ। अस्पतालको नाममा चन्दा असुल्यो भन्ने हल्लाप्रति मेरो आपत्ति छ।'

सामाजिक अभियन्ता तथा सरसफाई दूतसमेत रहेका धुर्मुसले  देशका लागि केही गरौँ भन्ने भावनाले आफूले काम सुरु गरेको र यसप्रति शंका नगर्नसमेत आग्रह गरे। भावुक हुँदै उनले भने, 'हामी जस्ता सामान्य मानिसले उपचार पाउने अस्पताललाई राम्रो बनाअौँ भन्ने मात्र हाम्रो उद्देश्य छ। यसका लागि स्वत:स्फूर्त आएका सहयोगहरू हामीले पारदर्शी ढंगले वेवसाइटमा समेत राखेका छौँ। वीर अस्पताल सरसफाई गर्ने उद्देश्यले मैले केही रकम खाएको प्रमाण पाउनुभयो भने म त्यही दिन यो संसार छाड्न तयार छु।'

मन्त्री अर्यालले सरकारी अस्पताललाई नमुना बनाउने अभियानको सुरुवात भएको भन्दै यसलाई देशव्यापी बनाउने बताइन्। उनले मन्त्रालय, अस्पताल तथा धुर्मुस-सुन्तली फाउन्डेसन तथा खेम्स क्लिनिकको त्रिपक्षीय सझौताबाट सरसफाई कार्यक्रम अघि बढेको भन्दै अभियान सार्थकतातर्फ अघि बढेको दाबी पनि गरिन्।

कार्यक्रममा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्रा. डा. गणेश गुरुङले मन्त्रालय, अस्पताल र सामाजिक अभियन्ताका सहयोगमा वीरले काँचुली फेरेको भन्दै धुर्मुस-सुन्तली फाउन्डेसन तथा खेम्स क्लिनिकको काममा कसैले शंका नगर्न आग्रह गरे। उनले भने, 'हामीबीचको सम्झौताअनुसार उहाँहरूले काम गरिरहनुभएको छ, हामीले मात्र यो काम गरेको भए एक वर्षमा पनि यति काम गर्न सकिँदैनथ्यो। त्यसैले उहाँहरूले गर्नुभएको राम्रो कामलाई शंका नगर्नुहोस्।'

उनले हालसम्म १४ लाख ६४ हजार ८३५ रुपैयाँ संकलन भएको बताए। आफूले ८२ जना पेन्टरको नेतृत्व गरेर रातदिन खटेर काम गरिरहेको उनको भनाइ थियो। उनले हालसम्म ४८ लाख ६४ हजार १४४ रुपैयाँ बराबरको काम गरिसकेको जानकारी गराए।

वीर अस्पतालको सरफाई गर्न भन्दै गत बैशाख २३ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको अगुवाइमा स्वास्थ्य मन्त्रालय, अस्पताल तथा धुर्मुस-सुन्तली फाउन्डेसन तथा खेम्सबीच त्रिपक्षीय समझौतामा अस्पतालको सरसफाई थालिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.