|

पर्वत : बागलुङ नगरपालिकाले बलेवादेखि काठमाडौ‌ं हवाइ सेवा सञ्चालन गरेबापत तीन महिनामा साढे पाँच लाख रुपैयाँ भन्दा बढीको घाटा व्यहोरेको छ। गत चैतदेखि सञ्चालनमा आएको विमानस्थलबाट तारा एयरलाइन्स र नेपाल एयरलाइन्सले सेवा दिएबापत यात्रु नपुग भएका बेला त्यो बराबरको भाडा तिरिदिने सम्झौताअनुसार नगरपालिकाले विमान कम्पनीहरुलाई पाँच लाख ६५ हजार पाँच सय रुपैँया तिरेको हो।

बागलुङ नगरपालिकाका सामाजिक शाखा प्रमुख भीमसेन पन्तका अनुसार चैतमा तारा एयरलाई चैतमा एक लाख ३० हजार र नेपाल एयरलाइन्सलाई ७८ हजार रुपैयाँ गरी दुई लाख अाठ हजार,  वैशाखमा तारा एयरलाई एक लाख ६९ हजार र नेपाल एयरलाइन्सलाई ९७ हजार पाँच सय रुपैयाँ बुझाइएको छ। यस्तै, जेठ महिनाको पनि तारा एयरलाई अपुग भएका १४ जना यात्रु बराबरको ९१ हजार रुपैयाँ बुझाइएको छ।  

बागलुङ नगरपालिका–१४ बलेवामा मा रहेको विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गरिए पनि प्राधिकरणले यात्रुको सुनिश्चितताको लिखित प्रतिबद्धता मागेपछि नगरपालिकाले बिमान कम्पनीसँय यात्रु अपुग भए अपुग यात्रीको भाडा बेहोर्ने गरी सहमति गरेको छ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने नेपाल एयरलाइन्सले हवाइ शुल्क घटाएकाले केही राहत मिलेको बताए। उनले आगामी दिनमा नगरपालिकाले यात्रु अपुग संख्याको भाडा नबेहोर्ने गरी नियमित उडान गर्न पहल गरिरहेको जानकारी पनि दिए। 

२०१८ सालमा निर्माण भएको विमानस्थल पोखरा–बागलुङ राजमार्ग खुलेपछि २६ बर्षदेखि बन्द थियो। २०४८ सालदेखि बन्द भएको विमानस्थल सञ्चालनका लागि नगरपालिकाले यात्रुको संख्या सुनिश्चित गरेपछि मात्रै २०७४ चैत ९ गते देखि सञ्चालनमा आएको हो। 

बलेवादेखि काठाडौंसम्म ४५ मिनेटमा पुगिने हवाई शुल्क धेरै भएको भन्दै यात्रुले गुनासो गरेपछि नेपाल एयरलाइन्सले बागलुङ–काठमाडौ हवाई भाडा छ हजार ५०० रुपैँया लिदै आएकोमा पाँच हजार ८०० रुपैँया र बागलुङ–काठमाडौको यात्रामा पाँच हजार ६०० रुपैँया कायम गरेको छ। 

तीन महिनामा साढे ५ लाखभन्दा बढी रकम विमान कम्पनीलाई बुझाएर विमान चलाउन सम्भव नभएकोले सेवा फेरि बन्द हुने भन्दै नगरपालिकाका सर्वसाधारण चिन्तित छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.