|

नेपाली फोटो पत्रकारहरूको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैठौँ संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनी घोषणा गरेको छ। क्लबले बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो। 

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले बुधबारबाटै फोटो दर्ता गराउन सक्नेछन्। क्लबको आधिकारिक वेवसाइट www.pjclub.com.np  मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ। प्रतियोगितामा व्यावसायिक र सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउनेछैनन्। तर खेलकुद विधाको हकमा भने नेपालबाहिर खिचिएको तस्बीर भने समावेश गराउन पाइनेछ। उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनुपर्नेछ।

बुधबारबाटै सुरु हुने दर्ता प्रक्रिया असार ६ गते मध्यरात १२ बजे बन्द हुनेछ। पिजे क्लबले एक भव्य कार्यक्रमबीच सातै विधाका विजेताको घोषणा गरेर विजेतालाई पुरस्कार वितरण गर्नेछ। पुरस्कार वितरण कार्यक्रमपछि साउन १५ देखि २१  गतेसम्म काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सात विधाका १६० बढी उत्कृष्ट फोटोहरूलाई प्रदर्शनीमा राखिनेछ। काठमाडौंमा सात दिनको फोटो प्रदर्शनी गरिसकेपछि मोफसलका पाँच स्थानमा पनि उक्त फोटोहरू प्रदर्शनी गरिने पिजे क्लवका अध्यक्ष विकास कार्कीले बताए। उनका अनुसार विराटनगर, धनगढी, नेपालगंज र पोखरामा तीन/तीन दिन फोटो प्रदर्शनी गरिनेछ। 

प्रतियोगितामा यस पटक एक हजार ५०० बढी फोटोग्राफर तथा फोटो पत्रकारका १३ हजार बढी फोटोले विभिन्न विधामा सहभागिता जनाउने आयोजकको अपेक्षा छ। दुई वर्षअघि सम्पन्न अघिल्लो संस्करणमा करिब एक हजार २०० फोटोग्राफर तथा फोटो पत्रकारका ११ हजार फोटो प्रतिस्पर्धामा उत्रिएका थिए। प्रदर्शनीलाई एक लाख बढी जिज्ञासुले अवलोकन गरेको पिजे क्लबले बताएको छ। 

आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्युज फोटो, आइएमएस डेली लाइफ, एक्सपिरियन्स नेपाल कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाइल्डलाइफ, शिखर इन्स्योरेन्स, नेपाल स्माइल, डिस एक्सन स्पोर्ट्स र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन्। 

अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७३  बैशाख १ गतेदेखि २०७४ चैत मसान्तसम्म खिचिएका तस्बीरले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्बीरहरू पठाउन सकिनेछ। अन्य कुनै प्रतियोगितामा मुख्य विजेता भइसकेका र यही प्रतियोगिताको अघिल्ला संस्करणका विजेता फोटो यो प्रतियोगिताका लागि समावेश गराउन पाइनेछैन। पाँच लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशि रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले एक लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।

प्रत्येक विधामा प्रतियोगीले बढीमा तीनवटा फोटो, फोटो स्टोरीमा बढीमा दुईवटा स्टोरी र प्रत्येक स्टोरीमा चारदेखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन्। आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा नेपाल टुरिजम बोर्डको मुख्य सहयोग हुने प्रतियोगितामा हालसम्म अर्घाखाँची सिमेन्ट, आइएमएस, शिखर इन्स्योरेन्स, नेप्टोस र डिसहोमले विधागत प्रायोजकका रूपमा सघाउनेछन्। विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्ट्स, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्ट्स, भायनेट, राष्ट्रिय खेलकुद परिषद्लगायतका संस्थाहरूले सहयोगीको भूमिका निर्वाह गर्ने भएका छन्। 

मुख्य प्रायोजक आइएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले फोटो प्रतियोगिता र प्रदर्शनीको प्रायोजनलाई निरन्तरता दिइने वचन दिए। ‘पत्रकारिता र दैनिक जीवनमा फोटोको महत्त्व विशेष छ तर पनि हामी यो कार्यक्रमसँगको सहकार्यलाई आगामी वर्षहरूमा निरन्तरता दिनेछौँ’, ढकालले भने, ‘नेपालकै गौरवका रूपमा स्थापित हुँदै गएको यो प्रतियोगिता र प्रदर्शनीमा सफलताका लागि हामी क्यामेरा चलाउने सबैलाई शुभकामना दिन चाहन्छौँ।’

नेपाल चेम्बर अफ कमर्स तथा आइएमएसका अध्यक्ष दीपक मलहोत्राले यस्ता प्रतियोगिताको आयोजना गरेर पिजे क्लबले सराहनीय काम गरेको बताए। ‘फोटोले जुन कुरा उजागर गर्छ, अरू कसैले गर्न सक्दैन। त्यसैले पिजे क्लबले अहिले बनेको स्थायी सरकारका कामकारवाहीलाई फोटोमार्फत् प्रस्तुत गरेर आफ्नो भूमिका नि्र्वाह गर्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने, ‘हामी छ वर्षदेखि साथमा छौँ। हरेक वर्ष सहयोग गर्न तत्पर छौँ।’

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कार्यक्रमको प्रभावकारिताका कारण आफूहरूले सहयोग गरेको बताउँदै नेपाल चिनाउन यो प्रतियोगिता महत्त्वपूर्ण रहँदै आएको विचार राखे। उनले भने, ‘फोटोले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्धत गरेको छ। हामी पिजे क्लबसँग हातेमालो गर्न पाउँदा आभारी छौँ। सधैँ साथ रहनेछ।’

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले फोटोले पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले बोर्डले सधैँ यस्ता कार्यकक्रमलाई सहकर्मीको रूपमा साथ दिने बताए। 

यसैगरी शिखर इन्स्योरेन्सका म्यानेजर सुरज राजवाहकले पिजे क्लबले आयोजना गर्दै आएको यस प्रतियोगितामा आफ्नो कम्पनीले तीन वर्षदेखि सहकार्य गर्न पाउँदा खुसी महसुस गरेको बताए। उनले भने, ‘हामी आगमी दिनमा साथ दिने वाचा गर्छौं।’

डिस मिडियाका मार्केटिङ म्यानेजर मनोज न्यौपानेले लामो समयदेखि यो प्रतियोगिता आयोजना भएको भए पनि आफूहरू यस पटकदेखि जोडिन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘हाम्रो यो साथलाई निरन्तरता दिन सक्छौँ।’ 

यस्तै, अर्घाखाँची सिमेन्टका जनरल म्यानेजर रमेश थापाले पाँचौँ र छैठौँ संस्करणमा आवद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पिजे क्लबसँग जोडिन पाउँदा गौरव महसुस गरेका छौँ। सहकार्य अनन्तसम्म रहिरहोस्। सफलताको कामना गर्छु।’

मनराम ग्रुप तथा नेप्टोसका अध्यक्ष सुजनकुमार श्रेष्ठले फोटोको माध्यमबाट अभिव्यक्त गर्दा यथार्थ देख्न सकिने र प्रत्येक फोटोले कहानी उद्घोष गर्ने भएकाले यस्ता प्रतियोगिताको महत्त्व रहेको बताए। उनले भने, ‘अब हाम्रो सम्बन्ध निरन्तर चलिरहन्छ। आगामी दिनमा सम्बन्ध कायम रहन्छ।’ 

यस आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ को छ सदस्यीय  निर्णायक मण्डल रहेको छ। दक्षिण एसिया तथा भारतका वरिष्ठ फोटोग्राफर पाब्लो बारथोलोमिओको अध्यक्षता रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधान, वरिष्ठ फोटो पत्रकार, क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्स फ्रान्स प्रेस (एएफपी)का फोटोपत्रकार एवम क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.