|

काठमाडौं : चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लबले हात पारेको छ। चिरपरिचित प्रतिद्वन्दी न्यू डाइमण्डलाई पराजित गर्दै एपिएफले यो सिजनको पहिलो उपाधि हात पार्न सफल भएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफले २५१४, २३२५ र १९२५ को सोझो सेटमा जीत हात पारेको हो। निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा न्यू डाइमण्डले दर्शकको निकै राम्रो ताली पाएको थियो तर सोचे जस्तो खेल्न नसक्दा न्यू डाइमण्डले दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो। पहिलो भएसँगै एपिएफले नगद दुई लाख पुरस्कार पाएको छ। दोस्रो भएको न्यू डाइमण्डले एक लाखमा चित्त बुझायो। यस्तै, तेस्रो भएको विभागीय टोली नेपाल प्रहरीले नगद ५० हजार प्राप्त गर्‍यो भने प्रतियोगितामा चौथो बनेको त्रिभुवन आर्मी क्लबले नगद २५ हजार हात पार्‍यो।

राष्ट्रिय भलिबल संघको आयोजनामा गत जेठ २१ बाट सुरु भएको प्रतियोगितामा छवटा टिमले सहभागिता जनाएका थिए। गत फागुनमा भएको एनभिए राष्ट्रिय च्याम्पियनसिपमा भाग लिएका नौ टिममध्येका उत्कृष्ट छ टिमले उक्त प्रतियोगितामा भाग लिने अवसर पाएका थिए।

यस्तै, प्रतियोगिताको अन्य विधातर्फ भने न्यू डाइमण्डकै वर्चश्व रह्यो। सात विधा मध्ये चारमा विधाको पुरस्कार न्यू डाइमण्डले हात पर्‍यो। प्रतियोगिताको उत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरी घोषित भइन्। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन्। उक्त पुरस्कार नेपाल स्याटलाइट टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले वितरण गरेकी थिइन्। यस्तै, उत्कृष्ट स्पाइकर न्यू डाइमण्डका प्रतिभा मालि, उत्कृष्ट सरभर डाइमण्डकै अरुण शाही, उत्कृष्ट लिब्रो डाइमण्डकै सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक डाइमण्डकै कुमार राई, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीकी सोफिया पुन, उत्कृष्ट सटर आर्मीकै जानकी भण्डारी घोषित भइन्। उनीहरूले जनही पाँच/पाँच हजार रुपैयाँ नगद हात पारे।

प्रतियोगिता सञ्चालनका निम्ति भलिबल संघलाई नेपाल स्याटलाइट टेलिकम प्रालिले ४० लाख रुपैयाँको प्रायोजन गरेको थियो।


राखेपको कभर्ड हलको विजोग

हुन त त्रिपुरेश्वरस्थित राखेपको दशरथ रंगशालाको मात्र विजोग छैन, त्यहाँ रहेका अधिकांश संरचना जीर्ण छन्। २०३० सालमा चीन सरकारको सहयोगमा बनेको रंगशालाले अहिले कन्तविजोग अवस्थामा पुगेको छ। पुनर्निर्माणको गति सुस्त हुँदा रंगशालाको अवस्था विजोग हो। योसँगै रहेको राखेपको कभर्ड हलको अवस्था पनि निकै नाजुक छ।

कभर्ड हलमा जेनतेन खेलहरू भइरहेका छन्। देशकै ठूलो कभर्ड हल बर्खाको समयमा पानी पर्ने बित्तिकै हिलाम्मे हुने गरेको छ। गत जेठ २१ गते प्रतियोगिता सुरु भएको दिन पनि पानी परेको थियो। पानी परेर हिलाम्मे भएको कभर्ड हलमा हिलो सफाई गरेर खेल खेलाइयो। यस्तै शनिबार भएको फाइनल खेलमा पनि कभर्ड हलको अवस्था उस्तै थियो।

खेल सुरु हुनुभन्दा अगाडि समय पानी पर्‍यो। पानीले उक्त हल केही क्षणमै हिलाम्मे भयो। पानी पर्न रोकिएपछि भने खेल सुरु भयाे। उक्त कभर्ड हलमा खेलाडीलाई भने बेलाबेला समस्या भएको देख्न सकिन्थ्यो। उनीहरू खैल्दै गर्दा चिप्लिरहेका थिए।

शनिबार समापन कार्यक्रम भएकाले राखेपका सदस्यसचिव केशवकुमार विष्ट पनि सहभागी थिए। आयोजक राष्ट्रिय भलिबल संघले उनलाई बोल्न दिने समयमा पानी पर्‍यो र कभर्ड हल जलमग्न भयो। दर्शकले त्यसको अाक्रोश उनी बोल्दै गर्दा हल्ला गरेर पोखे।

विष्टले चाँडै कभर्ड हलको मर्मत हुने र अर्को पटक प्रतियोगिता गर्दा यस्तो समस्या नहुने प्रतिवद्धता जनाउँदै गर्दा दर्शक हल्ला मात्रै गरिरहे। जब उनले बोल्न छाडे पुनः हल शान्त भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.