|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहितको विकासमा अहिलेको सरकार लागिपरेको बताएका छन्।  स्थिरता, सुशासन र  विकाससँगै देशलाई अघि बढाउने अहिलेको सरकारको मुख्य लक्ष्य रहेको उनले बताएका हुन्। रातो पाटी डटकमको ५औँ वार्षिक उत्सवमा उनले विगतका कमी कमजोरीलाई सुधार गर्दै आफूहरू अघि बढ्ने पनि बताए।

उनले आफूहरू फरकपनको समाजवाद ल्याउन लागिपरेको दाबी गरे। निरंकुशता र अधिनायकवादविरुद्ध विगतमा एक भएजस्तै समाजवाद ल्याउन पनि एक भएर लाग्नुपर्ने उनको भनाइ थियो। उनले भने, 'एउटा उद्देश्यका निम्ति हामी एक हुनुपर्छ। विकास र समृद्धिमा सत्तापक्ष र प्रतिपक्षबीच पनि एकता देखाएका छौँ। एकले अर्कालाई दोष दिएर विकासबाट पछि हट्नुहुँदैन।'

नेपालको इतिहासमा प्रत्येक १० वर्षमा केही न केही उथलपुथल भएको प्रसंग निकाल्दै अबको १० वर्षमा नेपालमा विकासको क्षेत्रमा उथलपुथल हुने बताए। उनले भने, 'प्रत्येक १० वर्षमा केही न केही उथलपुथल भएको छ। अबको दशक समृद्धिको दशक हुनेछ।' उनले भारत र चीनबीच पनि समान सम्बन्ध बनाउने भन्दै समृद्धिका लागि त्रिदेशीय साझेदारीलाई प्राथमिकता दिने पनि बताए।

यस्तै, प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपाल पनि चाँडै सरकारमा सहभागी हुने जानकारी दिए। उनले भने, 'अहिले राजपासँग पनि बालुवाटरमा बारम्बार छलफल भइरहेको छ। फोरमसँग संविधान संशोधनका लागि एक प्रकारको सहमति भएको छ। राजपाले सहमति गरेपछि देश विकासमा झन् सहज हुन्छ।' उनले अर्थिक समृद्धि र विकासका लागि सहयोग गर्न कांग्रेसलाई समेत आग्रह गरे। उनले भने, 'कांग्रेसलाई पनि सरकारमा आउनुस् भनेर हुँदैन। तपाईंहरू प्रतिपक्षमा बस्नुहोस् र राम्रो भूमिका खेल्नुहोस्, विकास र समृद्धिमा सहयोग गर्नुहोस्।' उनले दश वर्षभित्र वैदेशिक रोजगारमा जानेको संख्या घटाउने र गएकालाई पनि स्वदेश फर्काउने गरी रोजगारीको अवसर सृजना गर्ने बताए।

दाहालले आफूहरू सधैँ निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले भने, 'जुन परिस्थितिमा शान्ति वार्ता गर्‍यौँ, त्यही बेलादेखि नै निजी क्षेत्र सँगसँगै छौँ भन्नुपर्छ। दुई पटक प्रधानमन्त्री हुँदा निजी क्षेत्रको विश्वास जित्न ठूलो मिहिनेत गरेँ। निजी क्षेत्रसँग सहकार्य गर्ने हो। देशको विकासमा ठूलो हात निजी क्षेत्रको छ।'

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनको आन्दोलनमा मिडियाको भूमिका रहेको बताए। तर पछिल्लो समय मिडियामा पनि केही विकृति भित्रिएको उनको भनाइ थियो। उनले भने, 'पछिल्लो समय मिडियामा मनलाग्दी लेखिन थालेको छ। राष्ट्रियहितलाई हेरेर अघि बढ्नुहोस्।'

निर्देशनले मात्र समृद्धि आउँदैन : डा. रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले काम गर्न निर्देशन दिएर मात्र देशमा समृद्धि नआउने दाबी गरे। उनले सचिव तथा कर्मचारीलाई कार्यकक्षमा बोलाएर निर्देशन दिँदैमा विकास र समृद्धि नआउने बताए। उनले भने, 'मन्त्रीले सचिवलाई निर्देशन दिने सचिवले तल्लो तहका कर्मचारीलाई निर्देशन दिने गर्दा विकास सम्भव छैन। निर्देशन दिने होइन, काम गर्नतर्फ लाग्नुहोस्।'

उनले विकासका काममा कांग्रेसले सधैँ सरकारलाई साथ र सहयोग गर्ने बताए। उनले स्थिरता मात्र समृद्धि र विकासको मापक नभएको बताउँदै भने, 'विकासको मापक स्थिरता मात्रै होइन, १०४ वर्षको राणा शासन र ३० वर्षको राजाको शासनमा पनि स्थिरता थियो तर विकास भएन।' विपक्षीको आवाज नसुन्दा समृद्धि र विकास अघि नबढ्ने उनको भनाइ थियो। उनले विकास र समृद्धिका लागि विश्वासिलो आधार प्रस्तुत गर्न आग्रह पनि गरे।

उनले भने, 'प्रधानमन्त्रीले रेल, पानीजहाज ल्याउने भन्नुभयो। यो नचाहिने कुरा पनि होइन तर पूर्वधारबिना विकास हुन सक्दैन। त्यसैले विकासका लागि विश्वासिलो आधार ल्याउनुहोस्।'

राजपा अध्यक्ष मण्डलका सदस्य यादवको प्रश्न : समृद्धिको मानक के?

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आधारबिनै देशमा समृद्धिका कुरा गरिएको आरोप लगाए। उनले भने, 'हाम्रो संविधानले समाजवाद उन्मुख समृद्धिको कुरा गरेको छ। समृद्धिको मानक केलाई मान्ने? हामीले पनि समृद्धि चाहेका हौँ तर आधार देखेका छैनौँ।'

समृद्धिका लागि सरकारलाई राजपाले सधैँ सहयोग गर्ने उनले बताए। उनले समृद्धिका लागि निजी क्षेत्रको पनि त्यतिकै महत्त्व रहने भन्दै लगानीमैत्री कानुन ल्याउन सरकारलाई आग्रह गरे।

समृद्धिको सर्त पूरा : महासचिव पौडेल

यस्तै, नेकपाका महासचिव विष्णु पौडेल समृद्धिका लागि राम्रो राजनीतिक प्रणाली आवश्यक पर्ने बताए। त्यसका लागि स्थिरताको अवश्यकता पर्ने उनको भनाइ थियो। उनले भने, 'देशको विकासका लागि राम्रो राजनीतिक प्रणाली आवश्यक पर्छ। त्यो हामीले पूरा गरेका छौँ। स्थिर सरकार बनेको छ।'

उनले देश विकासको अर्को सर्त स्थायित्व पूरा भएको बताए। उनले भने, 'अहिले हाम्रो सरकारमा दुई तिहाई छ। स्थायित्व र स्थिरता पूरा भएको छ। विकासको पूर्वसर्त शान्तिको प्रत्याभूतिको आधार तय भएको छ। सुशासन कायम गर्ने। सबै पूर्वसर्त पूरा भएको छ।'

उनले अहिलेको सरकारले ल्याएको बजेट प्रतिपक्षले पनि विपक्षमा मतदान नगरी पारित भएको दाबी गरे। उनले भने, 'सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम देखाउनका लागि होइन, यही कार्यक्रमले दुनियाँमा भएका नेपाली फर्काउन हामी सफल हुनेछौँ।'

निजी क्षेत्रसँग सहकार्य हुन्छ : मन्त्री बाँस्कोटा

सूचना, संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निजी क्षेत्रसँगको सहकार्य सरकारले नतोड्ने बताए। अहिलेको सरकार व्यवसायीको पक्षमा रहेको भन्दै निजी क्षेत्रको सहकार्यसँगै देश विकासमा अघि बढ्ने उनले बताए।

उनले सरकारले लगानीको सुरक्षा प्रत्याभूत हुने वातावरण बनाउने पनि बताए। उनले निजी क्षेत्रलाई एक हुन आग्रहसमेत गरे।

यो सरकारबाट धेरै अपेक्षा गरेका छौँ : निजी क्षेत्र

रातो पाटीको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पनि आफ्नो धारणा राखे। उनीहरूले निजी क्षेत्रले यो सरकारबाट धेरै अपेक्षा गरेको बताए। उनीहरूले देशमा रोजगारीको सृजना गर्दै वैदेशिक रोजगारीमा जाने युवालाई रोक्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा ठूलो संघर्ष अर्थिक समृद्धिका लागि भएको बताइन्। उनले जनताको अपेक्षा समृद्धिको रहेको बताइन्। राणाले निजी क्षेत्रबिनाको आर्थिक समृद्धि अपूरो हुने बताउँदै भनिन्, 'रोजगारीलाई अभिवृद्धि कसरी गर्ने भन्ने अहिलेको मुख्य मुद्दा हो। यसका लागि निजी क्षेत्रले पनि योगदान गर्छ। अहिलेको सरकारसँग हामीले धेरै आशा गरेका छौँ।'

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराईले भनेः हिन्दुवादी सोचले विकास हुँदैन 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.