|

त्रिभुवन आर्मीलाई छ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जितेको छ। सोमबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा एपीएफले २०९ रनको लक्ष्य ५२ बल बाँकी छँदा पूरा गर्‍यो। विजेता एपीएफले नगद २० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको आर्मीले नगद १० लाख प्राप्त गर्न सफल भयो।

यसअघि आर्मीले एपीएफलाई समूह चरणमा पराजित गर्दै समूह विजेता बनेको थियो। तर, फाइनलमा भने एपीएफको सानदार ब्याटिङका अघि आर्मी निरीह रह्यो। गत संस्करणमा आर्मी पुलिसँगै संयुक्त विजेता बनेको थियो। यस पटक भने आर्मी अपराजित टिमका रुपमा फाइनलमा पुगे पनि उसको एउटा हारनै उपाधि गुमाउन पर्याप्त रह्यो।

आर्मीले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २०९ रनको स्कोर तयार गरेको थियो। आर्मीका लागि भिम सार्कीले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बल खेल्दै समान दुई चौका र छक्काको मद्दतमा ४५ रन बनाएका थिए।

आर्मीको ओपनिङ लाइनअप राम्रोसँग चल्न नसक्दा उसको इनिङलाई पछिल्लो क्रमले धानेको थियो । आर्मीले ५६ रनको स्कोर गर्दा महत्वपूर्ण चार विकेट गुमाएको थियो। तर, उसका भिम सार्कीले इनिङ समाले त्यसपछि महत्त्वपूर्ण इनिङका रुपमा सोमपाल कामी र विनोद भण्डारीको साझेदारी रह्यो। कामी र कप्तान भण्डारीले पाँचौ विकेटका लागि ६८ रनको साझेदारी गरे। कामीले ३३ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ३६ रन बनाउँदा भण्डारीले २५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३५ रनको स्कोर बनाए।

२१० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको एपीएफले उत्कृष्ट सुरुवात गर्दै ५२ बल अगावै चार विकेट गमुाएर जित आत्मासात् गर्‍यो। एपीएफका ओपनर सुवास खकुरेले चौंथो ओभरमा  १२ रनको अवस्थामा रिटायर्ड हट भएपछि क्रिजमा आएका प्रदीप ऐरी र अनिल साहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए। उनीहरुले समान ६३ रनको योगदान दिए। ७२ बल खेलेका साहले चार चौका र तीन छक्का प्रहार गर्दा ऐरिले ९९ बल खेलेर समान दुई चौका र छक्का प्रहार गरे। त्यस्तै, पृथ्यु बाँस्कोटाले ३२ रन बनाउँदा रोहितकुमार पौडेलले १५ तथा करण केसी १५ रनमा अविजित रहे। रिटायर्ड हट भएर सुरुमा बाहिरिएका खकुरेल खेलको अन्तिम तिर क्रिजमा आउँदै थप २ रन बनाएका थिए।

सागर उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मीका अलराउन्डर सागर पुन प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भए।  टिम उपविजेता बने पनि सागरको प्रदर्शन प्रतियोगितामा नै उत्कृष्ट रह्यो। उनले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीलाई फाइनलमा पुर्‍याएका थिए। राष्ट्रिय टोलीका पूर्व अलराउण्डर रहेका सागरले ब्याटिङतर्फ छ इनिङमा २११ रन बनाउँदा प्रदेश ५ विरुद्ध ११८ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै, बलिङतर्फ सागरले छ इनिङमा ११ विकेट लिए उनले नगद एक लाख प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान एपीएफका प्रदीप ऐरी चुनिए। उनले प्रतियोगितामा ३१५ रन बनाए। ऐरीले समूह चरणमा प्रदेश २ विरुद्ध १५८ रनको शानदार इनिङ खेलेका थिए। प्रतियोगितामा ब्यक्तिगत तर्फ सर्वाधिक ठूलो रनस्कोर समेत हो। ऐरीले ३० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा १२ विकेट लिएका त्रिभुवन आर्मी क्लबका सुशान भारी उत्कृष्ट बलर घोषित भए। उनले पनि ३० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा एक शतकसहित ह्याट्रिक गरेका प्रदेश ४ का १८ वर्षीय हरि चौहान इमर्जिङ खेलाडी बने उनले नगद ५० हजार प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.