|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि माओवाद पतन गराएको आरोप लगाएका छन्। नयाँ शक्तिको स्थापना दिवसमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै भट्टराईले प्रचण्डलाई विचार विहीन एमालेका पछि लागेकोमा आलोचना गरे।

‘पहिले साथीहरूले मलाई माओवाद सक्यो भन्थे अहिले कसले सकेको छ देखिरहनुभएकै होला,’ भट्टराईल भने, ‘अहिले प्रचण्डले सुरिलो बाँसुरी बजाएर कार्यकर्तालाई खोलामा हालेका छन्।’ जनयुद्धमा आफूहरूलाई मार्नका लागि हरदम कोशिश गर्ने एमालेसँग अहिले गएर मिल्नु निकै घातक भएको समेत उनले बताए।

साथै डा. भट्टराईले अहिलेको सरकार हावादारी भएको बताएका छन्। अहिलेको सरकार बाँडेका सम्वृद्धिका सपना नयाँ शक्तिका एजेण्डाहरू भएको समेत उनले बताए। ‘उनीहरूले आफू मात्रै मोटाउने गरी एजेण्डा बोकेका छन्’, उनले भने, ‘सहभागितामुलक समाजवादका लागि यी एजेण्डा हामीले बोकेका हौँ।’
अहिलेको सरकारको चरित्रलाई भट्टराईले बाँदरको उश्रृङखलतासँग तुलना गरे। ‘मान्छेले दाह्री काटेको देखेर बाँदरले चुरा चलाउँदा उसको गाला रातै भएको थियो’, भट्टराईले भने, ‘अरुको देखासिकी गरेर अहिलेको सरकारले सवृद्धि ल्याउन सक्दैन।’ उनले अहिलेको अवस्थामा नयाँ शक्ति पार्टी नेपाल तेस्रो विकल्प भएको समेत बताए। 

‘मैले प्रचण्डजीलाई रुपान्तरित तरिकाले अघि बढौँ भनेको हुँ’, उनले भने, ‘तर उहाँहरू रुपान्तरण हुन सक्नुभएन।’ उनले नयाँ शक्ति पार्टी नेपाललाई उन्नत बिउसँग तुलना गर्दै आफूहरू सानो भएपनि उन्नत भएकाले विस्तारै फल दिने बताए। उनले भने, ‘हामी उन्नत छौँ, तर अहिलेलाई ठिकै छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.