|

दमक (झापा) : फुटबलको महाकुम्भ विश्वकपको माहोलले नेपालको राजधानी मात्र होइन, गाउँगाउँसम्म तताएको छ। प्रतियोगितामा नेपाल सहभागी नभए पनि फुटबलप्रेमीको उत्साहका कारण विभिन्न चोक झकिझकाउ बनाउनेदेखि विश्वकपमा सहभागी टिमको जर्सी लाउने, झण्डा राख्नेजस्ता कार्यले विश्वकपमय भएको छ

यस्तो महौलले पूर्वी नेपालको सह दमकलाई पनि तताएको छ। यहाँ गुड्ने सवारी साधन, पसल, कार्यालय लगायतका स्थानमा आफूले मन पराएको राष्ट्रको झण्डा राख्ने, टीमको जर्सी लगाउने बढेका छन्। चोक र बजारमा चलहपहल पनि बढेको छ भने विश्वकपसँग सम्बन्धित वस्तुको खरिद बिक्री पनि बढेको व्यवसायीहरुले बताउँछन्। 

दमकका व्यवसायीहरुले स्वतस्फूर्त रूपमा मुख्यबजार र नमुनासडक विश्वकपमा सहभागी राष्ट्रका झण्डाहरुले श्रृङ्गारेका छन्। प्रत्येक पसलदेखि मुख्य सडक पनि विश्वकपका ध्वजापतकाले सजिएको छ।

३२ राष्ट्रको बीचमा नेपालको झण्डा

फुटबल प्रेमीहरूले स्वतस्फूर्त रूपमा बजार श्रृङ्गारेको दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाई बताउँछन्। विश्वकपमा सहभागी ३२ राष्ट्र र नेपालको झण्डासहित बजार सजाइएकाले उत्सवजस्तै भएको उनको अनुभव छ।

वर्षासँगै सुस्ताएको व्यापार विश्वकपका कारण चहलपहल बढेको उनले बताए। व्यवसायीहरुले पनि आफ्नो मन परेको टीम भएको राष्ट्रको झण्डा पसलमा राखेका छन। आफ्नो समर्थन रहेको टिमको जर्सीमा ठाँटिएका छन्। विश्वकपको माहोलले एउटा पर्वकै महसुस गराएको तयारी कपडा तथा फेन्सी व्यवसायी संजिव बराल बताउँछन्। आफू समेत फुटबलप्रेमी भएकाले बजार र सडक सजाएको उनले बताए।

बजारमा बिभिन्न देशका जर्सी लगाएर हिँड्ने फुटबलप्रेमी युवाहरुको चहल पहल छ। पोर्चुगलका समर्थक रहेका दमक–९ का सुदिप खतिवडा फुटबलको महाकुम्भको प्रभावले आफुलाई पनि तानेको बताउँछन्। यस्तै दमक–२ का एलेक्स भट्टराई ब्राजिलको जर्सीमा ठाँटिएर हिँड्न रुचाउँछन्। 

माग थेग्नै धौधौ

एक साताअघि तातिएको जर्सी र झण्डाको व्यापार विश्वकपको सँघारसम्म आइपुग्दा भने स्थिर हुन लागिसकेको छ। दमकमा अर्जेन्टिना र ब्राजिलका जर्सी र झण्डाको बढी माग हुने गरेको व्यवसायीले बताए। केही देशको जर्सीको त अभाव समेत भएको व्यवसायीको भनाइ छ।

यस्तै, स्पोर्टस् वेयर व्यवसायी बुद्धि पौडेलले युवाहरुले अधिक मात्रामा अर्जेन्टिना र ब्राजिलको जर्सी र झण्डा रुचाएको बताए। जर्मनी, फ्रान्स, पोर्चुगल, इङ्लेण्ड र स्पेनका फ्यानहरू पनि कम छैनन्। बजारमा ५० देखि २०० रुपैयाँसम्मका झण्डा र ६०० देखि एक हजार २०० रुपैयाँसम्मका जर्सीले बिक्री भइरहेको छ।

टिभीदेखि चिसो पेयसम्मको बढ्यो माग

विश्वकपका कारण जर्सी र झण्डा मात्र होइन अन्य वस्तुको समेत कारोबार बढेको व्यवसायीहरुको अनुभव छ। घरमा एक्लै बसेर विश्वकप हेर्ने भन्दा पनि समूहमा बसेर हेर्ने चलन बढेकाले उपभोग्य वस्तुको कारोबार बढेको व्यवसायी ज्ञानु पौडेलको भनाइ छ। ‘त्यसै पनि गर्मी छ, फेन र एसीको कारोबार त बढेकै छ’ उनले भने, ‘योसँगै ठूला आकारका टेलिभिजिन, फ्रिज, चिसो पेयजस्ता सामाग्रीको कारोबार पनि बढाएको छ।’

विश्वकप हेर्दै चिसो पेय पदार्थ पिउने चलन बढ्दो छ। पेप्सीका डिलर सञ्चालक राजु न्यौपाने एक सातादेखि चिसो पेयको माग बढेको बताउँछन्। उनले भने, ‘एकातर्फ गर्मीले पनि चिसो पेयको माग बढायो, अर्कातिर समूहमा बसेर वल्र्डकप हेर्ने र सो समयका लागि पनि जोहो गर्ने चलनले कारोवार बृद्धि भएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.