|

सिन्धुपाल्चोक : दुगुनागढी वि.स.१९११ मा नेपाल तिब्बत सीमायुद्धका कारण निर्मित गढी राष्ट्रकै पुरातात्विक सम्पदा हो। सानो र ठूलो गरी दुई भागमा बाँडिएको गढी तत्कालीन समयमा एकरात र एक दिनमा निर्माण गरेको बताइन्छ। 

तिब्बत युद्धका जययात्रा पार गर्दा लेफ्टिनेण्ट कर्णेल पहलमानसिंह कुवँरको फौज पुगी नेपालको सीमा खासा कायम गरी फर्किएर यस ठाउँमा गढि बनाएर फौज बसेको थियो। श्री सेरश्री कालीप्रसाद गोरखनाथ गोर्खा फौजअन्तर्गत जनरल वीरशम्शेरको मर्जीबाट पहलमानसिंह कुँवर युद्धको नेतृत्व गरी सीमा रक्षाको लागि दुगुना आएको कुरा शिलालेखमा उल्लेख गरिएको छ। 

नेपाल चीन सिमाना नजिक हालको भोटेकोशी गाउँपालिकाको यार्मासिङ गाउँमा अवस्थित दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ हो। यार्मासिङ आदिबासी शेर्पाहरूको बस्ती हो। प्राचीन सभ्यतादेखिको संस्कार संस्कृतिले तिनमा आफ्नै पहिचान र अस्तित्व रहिरहेको देखिन्छ। समुन्द्री सतहबाट २१२३ मि. को उचाइमा अवस्थित दुगुनागढी विशाल विशाल भीमकाय गगनचुम्बी पहाडहरूको मध्यभागतिर स्वतन्त्र र अटल बामपुड्के ढिस्के पहाडको स्वरूपमा उभिएको देखिन्छ। यहाँबाट पारि देखिने भोटेली खासाबजार हाराहारी उचाइमा छ। तल बगिरहेको भोटेकोशीको गहिराइले छुट्टै रौनक दिएको अनुभूति हुन्छ।

वि.सं.२०७२ वैशाख १२ को भूकम्पले यस ठाउँलाई पूर्ण रूपले क्षतिग्रस्त गरायो। भोलिपल्ट १३ गतेको ६. ८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु यही ठाउँको आसपास परेको थियो। विनाशकारी भूकम्पले क्षति पुगेको यो गढिको संरक्षणमा कसैले पनि पहल नगरेको स्थानीयको गुनासो छ। भूकम्पले क्षतविक्षत भएको अझै उस्तै छ। त्यहाका स्थानीयवासि बस्ने थलो नभएर अन्यन्त्र बसाई सर्ने क्रममा छन्।

सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा बढी भूकम्पबाट क्षतिग्रस्त ठाउँ पनि दुगुनागढी हो। दुगुनागढी प्राकृतिक मनारोम वातावरणले मात्रै अनुपम होइन, सामरी दृष्टिकोणले उच्च छ र दुश्मनले हत्तपत्त आक्रमण गर्न नसक्ने पनि छ। वि.स. १९०३ मा आफू प्रधानमन्त्री भएपछि जंगबहादुरले तिब्बतसँगको परराष्ट्र नीतिमा केही फेरबदल ल्याए। राजनीतिक कारणले दुई देशबीच बेलाबेलामा खटपट भयो। नेपालले तिब्बतसँग धेरै पटक लड्यो। तिब्बती सेनाले केही लखेट्दै ल्याएपछि जंगबहादुरले सीमानजिक आफना सेनालाई सुरक्षित र मनोबल बलियो बनाउने हिसाबले यहाँ गढी बनाउन लगाए। 

प्रधानमन्त्री भएको नौ वर्षपछि अर्थात् वि.सं. १९१२ (सम्वत् १९१२ भित्र पौष सुदी १ रोज ३ देखि चैत्रभरि रोज ३ सम्म, जम्मा ४ महिना।) मा श्री ३ जङ्गबहादुर राणाको निर्देशनमा नेपाली सेनाले यो गढी निर्माण गरेको हो। जतिबेला नेपाल भोटबीच खटपट चलिरहेको थियो। आफू सुरक्षित रहनका लागि नेपाल भोट युद्धका बेलामा कालीप्रसाद, शेर र गोरखनाथ गरी तीन गणले संयुक्त रूपमा यो गढी निर्माण गरेका थिए भन्ने कुरा बुझिन्छ। यो गढी निर्माणको तजबिज तात्कालीन लेप्टिनेन्ट कर्णेल पहलमानसिंह बस्नेतले गरेका थिए भने निर्माण कार्यको रेखदेख जनरल धीरशम्शेरले गरेका थिए। 

भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हाँसिल गरेको प्राप्त शिलालेख (हाल पुरिएको) मा उल्लेख छ। भनिन्छ, दुगुनागढीबाट पड्काएको तोपगोलाले खासा बजारको घरहरूको झ्यालढोकाका बाहाँसम्म छेडेका थिए। सानो र ठूलो गरी दुईवटा किल्ला रहेको दुगुनागढीमा आवतजावत गर्न पर्खाल निर्माण गरी सुरक्षित बाटोसमेत निर्माण गरिएको छ। शत्रुसँग लड्न सजिलो हुने गरी भौगोलिक हिसाबले समेत गढी उचित ठाउँमा निर्माण भएको देखिन्छ। यहाँबाट तिब्बतको खासाबजार नजिकै देखिन्छ। जताबाट शत्रु आए पनि देखिन्छ। शत्रुको क्रियाकलाप हेर्न र आक्रमण गर्न सजिलो हुनेगरी बनाएको यो गढीको बनावट वास्तवमै वैज्ञानिक र आधुनिक पाराको देखिन्छ। 

सीमा सुरक्षा या अन्य कुराले बेलाबेलामा भइरहने खटपटका कारण अंशुवर्मा भन्दा पछिपछिका शासकहरूले सीमा, अस्तित्व रक्षाका खातिर आ-आफ्ना बुद्धिले भ्याएसम्मको काम गर्दै आएका छन्। यसै सिलसिलामा दुगुनागढीको पनि आफ्नै इतिहास बनेको पाइन्छ। नेपाल तिब्बतको सीमायुद्ध समाप्ति सँगै प्रयोगविहीन बन्न गएको उक्त गढी विनाशकारी भूकम्पको कारण केही क्षति पुग्न गएको थियो।

राज्यपक्षबाट यो ऐतिहासिक गढी पुनर्निर्माणको कुनै पहल गरेको छैन। तापनि १५० वर्षपछि पनि यो गढी उत्तिक्कै गरीमा बोकेर बसेको छ यो गढी। चीनको खासा बजारलगायत अरु रमणीय भू-भागहरूको यहाँबाट अवलोकन गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.