|
प्रतीकात्मक तस्बिर

पर्वत : पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामका लाभग्राहिलाई वितरणका लागि सदरमुकाम कुश्माबाट लगिएको २३ लाख रुपैयाँ बाटोबाटै हराएको छ।

वडा सचिव सुनकुमारी भट्टराईले नेपाल बैंक लिमिटेडको कुश्मा शाखाबाट निकालेर लगेको उक्त रकम बीचबाटोमै हराएको बताएकी छिन्। विहादी गाउँपालिकाका छवटै वडाका सचिवहरुले गएको शुक्रवार नेपाल बैंक लिमिटेडको कुश्मा शाखाबाट एकैपटक तीन करोड तीन लाख रुपैयाँ निकालेका थिए। जसमध्ये वडा - ६ का सचिव सुनकुमारी भट्टराईको झोला मात्र गाडीबाटै हराएको र बाँकी पाँच जना सचिवको रकम सुरक्षित रहेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले जानकारी दिए।

शुक्रवार बैंकबाट रकम निकालेपछि सबै जना कुश्माकै एक होटलमा बसेर शनिबार बिहान पोखरा-स्याङजा-वालिङ हुँदै विहादीका लागि छुटेका थिए। यात्रा गर्ने क्रममा पैसा भएको आफ्नो झोला गाडीबाटै हराएको वडा सचिव भट्टराईले बताइन।

कुश्माबाट हिँडेपछि उनीहरू गाडीमै रकम छाडेर दुई घण्टा पोखरामा र स्याङजाको वालिङमा पुगेपछि डेढ घण्टा गाडी रोकेर बसेका थिए। त्यसपछि गाउँपालिकाअन्तर्गत बर्राचौरमा पुगेर शंका लागेर हेर्दा रकम नभएको पाइएको भट्टराईको भनाइ छ। विभिन्न ठाउँमा गाडी राखेर घुम्न निस्किदाँ खसेको वा कसैले लगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

सामाजिक सुरक्षाको रकम हराएपछि पीडित भट्टराईले खोजीका लागि प्रहरीमा निवेदन दिएकी थिइन्। उक्त निवेदनपश्चात् खोजीका लागि पहल भइरहेको र सुरुमा सँगै रकम लिएर गएका छजना वडा सचिवहरूलाई सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए। उनका  अनुसार राज्यको ठूलो धनरासी हराउनुमा सचिवहरू नै जिम्मेवार हुनुपर्ने बताउँदै सुरुमा सचिवहरूलाई नै अनुसन्धानमा राखिएको छ। उक्त रकम नपाइएमा स्वयं वडा सचिव जिम्मेवार हुनुपर्ने पनि प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

यता प्रहरी नायव उपरीक्षक दीलिप घिमिरेले पीडितको उजुरीपछि रकमको खोजतलास भइरहेको जानकारी दिए। जिल्लाका अन्य गाउँपालिकाका वडाहरूमा बैंकबाट नै सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ। तर विहादीमा बैंकको पहुँच नहुँदा वडा सचिवहरूले नै वडा कार्यालयवाट चौमासिक रूपमा भत्ता वितरण गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.