भेलालाई सांगठनिक विषयमा केन्द्रित गर्ने देउवाको रणनीति

|

काठमाडौं : महाधिवेशनको समयमा अधिकांश नेताहरूलाई आफ्नो कित्तामा ल्याएर नेपाली कांग्रेसको सभापति जितेका शेरबहादुर देउवा पछिल्ला दिनहरूमा एक्लिँदै गएका छन्। तीन तहको निर्वाचनमा कांग्रेसले निराशाजन नतिजा ल्याएपछि देउवा एक्लिँदै गएका हुन्। निर्वाचनको नतिजालाई जोडेर देउवालाई एक्ल्याउने कोसिस पनि भइरहेको छ।

देउवाको मात्रै कारणले कांग्रेस हार्‍यो वा हारेन भन्ने अर्को विश्लेषणको विषय बन्न सक्ला तर देउवाले गरेको एकलौटी ‘पावर एक्सरसाइज’ले गर्दा नेताहरू चिढिएका थिए। कांग्रेसले प्रतिकूल नतिजा ल्याएपछि त्यसको सम्पूर्ण जिम्मेवारी देउवाले लिनुपर्ने आरोप नेताहरूले लगाउँदै आएका छन्। निर्वाचनपछि आठ महिनामा नेपाली कांग्रेस वृत्तमा देउवाको खुबै आलोचना भइरहेको छ।

अहिले हारको सम्पूर्ण जिम्मेवारी देउवाको टाउकोमा हाल्दै नेताहरूले गुटगत कित्ताकाट सुरु गरिसकेका छन्। महाधिवेशनका समयमा देउवाको समूहमा पुगेका अर्जुननरसिंह केसी रामचन्द्र पौडेको कित्तामा आइपुगेका छन्। पार्टीभित्र छुट्टै गुट चलाएर ‘बार्गेनिङ पावर’ बढाउन खोज्ने नेता कृष्णप्रसाद सिटौला पनि घुम्दै फिर्दै रामचन्द्र पौडेलकै कित्तामा आएका छन्। 

यसरी कांग्रेसका प्रभावशाली नेताहरू एउटै कित्तामा भेला भएर देउवालाई छेउमा पुर्‍याउने कोसिस गरिरहेका छन्। हालै भएका नेपाली कांग्रेस निकट तीनवटा भ्रातृसंगठनको चुनाव पनि पौडेल निकटहरूले जितेका छन्। यसरी देउवालाई विस्तारै कमजोर बनाउन खोजेको देखिन्छन्।

आउँदो महाधिवेशनसम्म देउवालाई कमजोर बनाउने रणनीति पौडेल समूहको छ। यस सन्दर्भमा ५ असारदेखि सुरु हुने जिल्ला सभापतिहरूको भेलामा पनि देउवाको सातो लिने तयारी पौडेल समूहले गरेको छ। 

पौडेल समूहको अारोप र घेराबन्दी स्वीकार्न देउवा तयार छैनन्। देउवाले हारको सम्पूर्ण जिम्मेवारी कांग्रेस केन्द्रीय समितिले लिने गरी निर्णय गराए। उक्त निर्णय आफ्नो समूहले नमान्ने भन्दै पौडेलले देउवाको विरोध गरिरहेका छन्। 

त्यसपछि पौडेल देउवाको विरुद्धमा मोर्चा बनाउन सक्रिय रहे। फलस्वरूप पार्टीको १३औँ महाधिवेशनमा देउवा पक्षलाई समर्थन गरेका नेता कृष्णप्रसाद सिटौला, देउवाबाट पार्टी महामन्त्रीमा उठेका अर्जुननरसिंह केसीलाई एकै मोर्चामा ल्याउन सफल भए पौडेल। 

असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौँडामा हुने जिल्ला सभापतिहरूको भेलामा पनि देउवाविरुद्धको गुट उनको आलोचना र विरोध गर्न सक्रिय हुनेछ। पौडेलसँग मोर्चाबन्दी गरेका सिटौला पक्षका एक नेताका अनुसार पार्टीका जिल्ला सभापतिहरूलाई सभापतिविरुद्ध खरो उत्रन सर्कुलर नै जारी गरिएको छ।

केन्द्रीय समितिमा त्यत्रो विरोध गर्दा पनि सभापति सुध्रने पक्षमा नरहेको भन्दै उनीविरुद्ध खरो उत्रनुपर्ने सभापतिइतर पक्षले निष्कर्ष निकालेको छ। पौडेल पक्षका एक नेता भन्छन्, ‘पार्टीलाई विधानविपरीत चलाएका, निर्वाचनको समयमा टिकट विरणमा भएको सिन्डिकेटलगायतका कारण पार्टी हारेको छ। तर सभापति हारको जिम्मा लिनै चाहनुहुन्न। जिल्ला सभापतिहरूको भेलामा हामी यो विषय व्यापक रूपमा उठाउँछौँ।’ 

नेतृत्वको कमजोरीका कारण स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म नै अनपेक्षित नतिजा ल्याउनुपरेको भन्दै पौडेल पक्षले नेतृत्वलाई सुध्रन आग्रह गर्ने ती नेताले बताए। उनले भने, ‘स्थानीय तहमा पनि सभापतिज्यूकै कारण हार्नुपरेको हो। टिकट वितरणमा उहाँले मनोमानी गर्नुभयो।’

पौडेल पक्षले जिल्ला सभापतिहरूको भेलामा सभापति देउवाले स्थानीय तहको निर्वाचनमा चितवन महानगरपालिकामा कांग्रेसले जित्ने अवस्था हुँदाहुँदै आफ्नो उम्मेदवार पछि सारेर माओवादीलाई समर्थन गरेको विषय उठाउनेछन्। यस्तै, प्रतिनिधिसभा झापामा कांग्रेसलाई समर्थन नगरेको राप्रपालाई गरेको समर्थन गर्नुको कारण, पार्टी नेता विमलेन्द्र निधिविरुद्ध उम्मेदवार उठाएको राजपालाई समर्थन गर्नुलगायतको विषयलाई पौडेल पक्षका जिल्ला सभापतिले खरो रूपमा उठान गर्ने स्रोतको दाबी छ। ती नेता भन्छन्, ‘टिकट वितरणदेखि नै सभापतिज्यूले एकलौटी गर्नुभएको छ। जिल्ला सभापतिहरूले सिफारिस गर्नुपर्ने ठाउँमा आफैँले उम्मेदवार छान्नुभयो। जिल्ला सभापतिहरूले प्रदेशसभाको सम्म टिकट पाएनन्। सबै जिल्ला सभापतिहरू असन्तुष्ट छन्।’

जिल्ला सभापतितर्फ भने देउवा ‘निरीह’ छन्। जिल्ला सभापतिमा भने देउवाइतर पक्षको बहुमत छन्। ७७ मध्ये ३२ जिल्लाका सभापति देउवा पक्षमा छन् भने पौडेल र सिटौला पक्षमा ४५ सभापति छन्। तर देउवा पक्षका केही जिल्ला सभापतिले पनि देउवाको विरोध गरिरहेको पौडेल पक्षका एक नेताले बताए। उनले भने, ‘चुनावअघिसम्म सभापति पक्षमा भएका जिल्ला सभापतिहरू अहिले असन्तुष्ट हुनुहुन्छ। अब उहाँको विरोधमा उत्रनुहुन्छ।’

तर सभापति भने आफ्नो बचाउमा लाग्ने ती नेता बताउँछन्। ‘निर्वाचनपछि उहाँको गतिविधि हामीले देखेकै हौँ। उहाँ गल्ती स्वीकार गर्न चाहानु नै हुन्न। उहाँ आफ्नो रक्षामा त दलबल सहित उत्रनु नै हुन्छ’, उनले भने। तर अब सभापतिले सोच्नुपर्ने बेला भएको ती नेताले बताए। उनले भने, ‘उहाँकै कार्यशैलीले उहाँ कति कमजोर हुँदै हुनुहुन्छ भन्ने ट्रेड युनियन कांग्रेसको निर्वाचनले नै प्रस्ट पारेको छ।’ अब पनि देउवा नसच्चिए समाप्त हुने पौडेल पक्षको आरोप छ। पौडेल पक्षका एक नेता भन्छन्, ‘उहाँको साथमा रहेका नेताहरूले पनि धमाधम साथ छाड्दै हुनुहुन्छ। अब पनि सच्चिनुभएन भने उहाँ आफैँ समाप्त हुनुहुन्छ।’

यस्तै, सभापतिइतर पक्षका युवा नेताहरूले भने छलफललाई औपचारिकतामा सीमित गर्न नहुने पक्षमा छन्। छलफलबाट केही नयाँ सन्देश दिएर अघि बढ्नुपर्ने युवा नेताहरूले धारणा राख्दै आएका छन्। 

देउवामाथि अर्को आरोप : संसदमा निरीह 

जिल्ला सभापतिहरूको भेलामा पौडेल पक्षले देउवमाथि लगाउने आरोपमध्ये संसदमा भूमिका खेल्न नसकेको पनि एक हो। उनीहरूले यसअघि पनि पटक पटक यो आरोप लगाउँदै आएका छन्।

देउवा संसदीय दलको नेता भएर पनि संसदमा खरो प्रतिपक्षको भूमिका खेल्न नसकेको पौडेल पक्षका एक नेताले आरोप लगाए। उनले भने, ‘हामीलाई जनताले दिएको मत प्रतिपक्षको हो तर संसदीय दलको नेता तथा सभापतिज्यू भने सत्ता पक्षको जस्तो गर्नुहुन्छ। केही नेताले सरकारको गलत कामको विरोध गरिरहनुभएको छ तर संसदीय दलको नेता भएर पनि उहाँ सरकारको नराम्रो कामको पनि ताली बजाएर समर्थन गर्नुहुन्छ।’ 

अब कांग्रेस सच्चिनका लागि संसदमा कडा प्रतिपक्षको भूमिका खेल्नुपर्ने उनको भनाइ छ। त्यसका लागि सभापतिलाई दबाब नदिई नहुने पौडेल पक्षको निष्कर्ष छ। जिल्ला सभापतिको भेलामा यो विषयले पनि प्रवेश पाउनेछ। सभापतिइतरका जिल्ला सभापतिले यस विषयलाई लिएर पनि देउवाको विरोध गर्नेछन्।

पौडेल पक्षका एक नेता भन्छन्, ‘प्रतिपक्षको भूमिका नर्वाह गर्न नसके फेरि पनि कांग्रेस कमजोर नै हुन्छ। त्यस कारण यसमा संसदीय दलको नेतालाई सजग त गराउनै पर्‍यो नि!’

देउवा पक्षका नेता भन्छन् : जिल्ला सभापतिको संख्याको आधारमा केही हुँदैन

पौडेल गुटले देउवाको विरोध गर्ने रणनीति तयार गरिरहँदा देउवा पक्ष भने उक्त बैठक पार्टीको विधान संशोधन, सांगठनिक विषय र पार्टी महासमितिको बैठकमा उठाइने एजेण्डाको सुझाव लिन मात्र भेला आयोजना गर्न लागिएको बताउँदै आएको छ।

देउवा पक्ष भने उक्त बैठकमा निर्वाचनको समीक्षा गर्ने पक्षमा छैन। तर संस्थापनइतर पक्षले निर्वाचनमा पराजयको विषय उठिहाले त्यसको जवाफ दिने तयारीमा रहेको बताइएको छ। देउवा पक्षका नेता मीन विश्वकर्मा भन्छन्, ‘विषय अरू नै भए पनि निर्वाचनका कुरा त आइहाल्छ। जिल्ला सभापतिहरूले नबुझ्नुभएको रहेछ भने सभापतिज्यूले बुझाउनुहुनेछ।’

संस्थापनइतर पक्ष भने संख्यको हिसाब गरेर देउवालाई पेल्ने योजनामा छ। जिल्ला सभापतिमा देउवा कमजोर भएका कारण उनीहरू यस पटक भने पेल्ने पक्षमा छन्। केन्द्रीय समितिमा बहुमतका आधारमा देउवाले आफूहरूलाई पेलेको भन्दै देउवाइतर पक्ष जिल्ला सभापतिको भेलामा त्यसको बदला लिने दाउमा छ तर नेता विश्वकर्माले भने जिल्ला सभापतिको संख्या गनेर कुनै निर्णय हुन नसक्ने बताउँछन्।

‘विधानमा जिल्ला सभापतिहरूको बैठक नभएका कारण त्यहाँबाट आएको निर्णय लागू गर्नुपर्छ भन्ने बाध्यकारी केही छैन’, उनले भने, ‘उहाँहरूले दिएको सुझाव मात्र लिने हो। त्यस कारण जिल्ला सभापतिको संख्या गनेर केही हुन्न। उहाँहरूको बुझाइ गलत भयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.