‘पारिवारिक मोहमा फसेर सभापतिले पार्टी सिध्याउनुभयो’

|

काठमाडौं : गत वर्ष भएका तीन तहको निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोग्नुपरेपछि यसबेला कार्यकर्तामा नैराश्य छाएको छ। परिवर्तनका लागि भएका विभिन्न संघर्षमा महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस निर्वाचनपछि कमजोर बनेपछि पार्टी कार्यकर्ताहरूमा निराशा छाएको छ।

निर्वाचनपछि हारको जिम्मा कसले लिने भन्ने विषयमा पटक पटक उत्पन्न भएको विवादले पार्टी एक हुनुको सट्टा विभाजित हुँदै गर्दा कार्यकर्ताले भने नेतृत्वलाई एक हुन आग्रह गरिरहेका छन्। पार्टीलाई एक बनाएर लान नसक्दा कांग्रेस कमजोर अवस्थामा पुगेको भन्दै कार्यकर्ता चिन्तामा छन्।

नेतृत्व भने अझ सशक्त ढंगबाट गुट चलाएर अघि बढिरहेको छ। हेटौँडामा जारी जिल्ला सभापतिहरूको भेलामा पनि गुटगत राजनीति छताछुल्ल भएको थियो।

मंगलबार भएको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवाले पेल्न खोजेपछि संस्थापनइतर पक्षका केही नेता असन्तुष्ट देखिए। पार्टी नेता कृष्णप्रसाद सिटौला, नेता प्रकाशमान सिंह र अर्जुननरसिंह केसी असन्तुष्ट देखिए। उनीहरू सल्लाहअनुसार कार्यक्रम संचालन नगरेको र देउवाले पेलेको भन्दै असन्तुष्ट भएका थिए। सिंह र केसी उद्घाटन कार्यक्रममा मंचमा बसे पनि नेता सिटौला भने मंचमा बसेनन्। 

‘कार्यक्रमअघि सिंह, सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायत बसेर मिलेर जाने सहमति भएको थियो’, स्रोतले भन्यो, ‘सहमतिअनुसार सभापति र वरिष्ठ नेताले बोल्ने भनिएको थियो तर सभापतिले कार्यक्रम तालिका बिगार्नुभयो। पदाधिकारीलाई बोल्न दिने भन्नुभयो। त्यो थाहा पाएर सिटौला मंचमा जानुभएन।’

त्यसपछि सिंहले भेला बहिष्कार गर्ने मनस्थिति बनाएका थिए तर सिटौलाले सम्झाएपछि सिंहले भेला बहिष्कार भने गरेनन्। अर्को गुटलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने रणनीतिका साथ पार्टी नेतृत्व भने अघि बढिरहेको छ। पार्टी नेताको यो रणनीतिले पार्टी एक हुने छाँटकाँट देखिँदैन।

कांग्रेसको यो गुटगत राजनीति हेटौँडामा जारी सभापतिहरूको भेलामा पनि देखापर्‍यो। पछिल्लो समय देखिएको पार्टीका दुई गुट एकले अर्कालाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने रणनीतिका साथ भेलामा उपस्थित भएका छन्।

सभापति शेरबहादुर देउवा पक्ष जिल्ला सभापतिमा कमजोर छ भने संस्थापनइतर पक्षको निकै बहुमत छ। यही बहुमतको बलबाट संस्थापनइतर पक्ष संस्थापन पक्ष कमजोर भएको प्रमाणित गर्न चाहन्छ तर देउवा पनि कम छैनन्। उनका पक्षका जिल्ला सभापतिहरूले देउवाको बचाउ गरिरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देउवाको विरोधमा उत्रिएको छ।

पार्टी नेता कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीको साथ पाएको पौडेल पक्षका सभापति अहिले देउवाको विरोधमा आफ्ना भनाइहरू राखिरहेका छन्। जिल्ला सभापतिहरूले सभापतिले पार्टीलाई राम्रोसँग संचालन गर्न नसको भन्दै आलोचनासमेत गरिरहेका छन्।

स्रोतका अनुसार देउवा निकट मानिएका ललितपुर सभापति मदन अमात्यलेसमेत सभापति देउवाको विरोध गरे। स्रोतले भन्यो, ‘सभापति गुटको मानिनुभएका अमात्यले पनि सभापतिको विरोध गर्नुभयो। उहाँले सभापतिले पार्टीलाई अनुशासनमा राख्न नसकेको बताउनुभएको थियो।’ भेलामा सहभागी एक जिल्ला सभापतिका अनुसार अमात्यले निर्वाचनमा अन्तर्घात गर्नेलाई अनुशासनको कारवाही नगर्दा पार्टी यो अवस्थामा आएको धारणा राखेका थिए।

भेलामा जिल्ला सभापतिहरूले पार्टीमा योगदान गरेकालाई टिकट नदिनु र समानुपातिकमा सभापतिले आफ्नो खुसीले नाम राखेका कारण हार व्यर्होनुपरेको धारणा राखेका थिए। यस्तै, जिल्ला सभापतिलाई अधिकार नदिँदा पनि निर्वाचनमा कांग्रेस पराजित भएको धारणा आएको छ। भेलामा सहभागी एक जिल्ला सभापतिले भने, ‘भेलामा अरू विषयभन्दा पनि निर्वाचन केन्द्रित विषय उठेको छ। निर्वाचनमा जिल्ला सभापतिलाई उम्मेदवार छान्ने अधिकारसम्म नदिँदा पार्टीले पराजय भोग्नुपरेको धारणा आयो।’

यस्तै, सभापति विधानविपरीत चलेका कारण कमजोर अवस्थामा आएको जिल्ला सभापतिहरूले धारणा राखेका थिए। जिल्ला सभापतिहरूले अब पार्टीको विधान पनि संविधानअनुसार बनाएर तत्काल पार्टीको तल्लो तहबाट अधिवेशन गर्दै आनुपर्ने धारणा राखेका थिए।

पार्टीका चितवन सभापति जीतनारायण श्रेष्ठले स्थानीय तहमा चितवमा माओवादीलाई समर्थन गरेका कारण कांग्रेस कार्यकर्तामा मनोबल गिरेको बताएका थिए। उनले पार्टी केन्द्रको रणनीतिले पार्टीले पराजय व्यहोर्नुपरेको धारणा राखेका थिए। अमात्यले देउवाको रवैयाका कारण पार्टीभित्र प्रजातन्त्र खतरामा परेको धारणा राखेका थिए।

भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिले देउवाको विरोध गरे। केही जिल्ला सभापतिले देउवाको बचाउ गरे पनि उनको खुलेर प्रसंशा गर्न नसकेको एक जिल्ला सभापतिले जानकारी दिए। उनले भने, ‘करिब ७/८ जना जिल्ला सभापतिले देउवको बचाउ गरे तर उनीहरूले पनि खुलेर प्रशंसा गर्न सकेनन्। हारको जिम्मा सबैले लिनुपर्छ मात्र भने। उनीहरूको आसय सभापतिलाई खुइल्याएर नजाअौँ भन्ने थियो।’

धेरै जिल्ला सभापतिहरूले देउवाका कारण पार्टी यो अवस्थामा पुगेको बताएका थिए। बैठकमा सहभागी एक जिल्ला समापतिले भने, ‘धेरै साथीहरूले सभापति पारिवारिक मोहमा फसेर विधानअनुसार पार्टी चलाउन सक्नुभएन भन्ने धारणा राख्नुभयो। सभापति प्रचण्डको भूलभूलैयामा फस्नुभयो। उहाँहरूले पार्टीलाई प्रजातान्त्रिक नबनाएको आरोप लगाउनुभयो।’

देउवा प्रधानमन्त्री हुँदा जनअपेक्षाअनुसार काम गर्न नसक्नु हारको अर्को कारण भएको सभापतिहरूले बताएका थिए। ‘उहाँले प्रधानमन्त्री हुँदा जनताको हितमा काम गर्नुभएन। लोकतन्त्रविपरीत काम गर्नुभयो। त्यो जनतालाई बिच्क्याउने काम भयो भन्ने साथीहरूको धारणा छ। यस पटक सधैँ कांग्रेसलाई भोट हाल्ने जनताले पनि हालेनन्। त्यो भोट कांग्रेसलाई नहालेको होइन, देउवाको विरुद्ध हालेको भन्ने साथीहरूको आलोचना थियो।’

तर देउवा पक्षका एक जिल्ला सभापतिले भने देउवाको बचाउ गरेका छन्। पार्टीका कंचनपुर सभापति हरि बोहराले निर्वाचनको हारको जिम्मा सबैले लिनुपर्ने धारणा राखे। उनले थाहाखबरसँग भने, ‘पार्टी हार्नुको कारण हामी सबै नै हौँ, सभापति मात्र होइन। अब हामी सबै एक भएर अघि बढ्नुपर्छ।’

उनले अब पुराना कुरा बिर्सिएर एक भएर अघि बढ्नुपर्ने बताए। ‘हामी २०५१ र २०६४ को निर्वाचनमा पनि हारेका थियौँ। अब पुराना कुरा बिर्सिएर एक भएर अघि बढ्नुपर्छ’, बोहराले भने, ‘अब कांग्रेसलाई अर्को निर्वाचनमा पहिलो दल बनाउन जागरण अभियान चलाउनुपर्छ। तराईमा पूर्व झापादेखि पश्चिम कंचनपुरसम्म र पहाडमा ताप्लेजुङदेखि दार्चुलासम्म अभियान लिएर सबैको घरघरमा पुग्नुपर्छ।’

धैर्य भएर देउवाले सुने आलोचना

कांग्रेस सभापति देउवा आफ्नो विरुद्धमा आएको मतलाई सुन्ने धर्य राख्दैनन् भन्ने बेलाबेला आलोचना भइरहन्छ। आफ्नो आलोचना हुन थालेपछि देउवा बैठक नै छाडेर जान्छन् भन्ने चर्चा पनि छ। तर यस पटक भने आफ्नो विरोधलाई धैर्यपूर्वक सुने देउवाले।

काभ्रे जिल्ला सभापति मधु आचार्यले देउवाले पहिलो पटक धैर्य भएर आफ्नो आलोचना सुनेको देखेको बताए। उनले भने, ‘सभापतिज्यूले यसरी धैर्य भएर सुनेको देखेको थिइनँ तर यस पटक उहाँले निकै धर्य भएर सुन्नुभयो। पूरै समय बैठकमा बस्नुभयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.