|

चितवन : चितवनको रत्ननगर नगरपालिकामा बाघ संरक्षणका लागि स्कुल शिक्षा कर्याक्रम शुरु भएको छ। मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको बाघ संरक्षण उपसमितिले बाघ संरक्षणका लागि बिहीबारदेखि स्कुल शिक्षा कार्यक्रम शुरु गरेको हो। बालबालिकामार्फत सेचतना जगाउनु मुख्य लक्ष्य हो।

रत्ननगरको कपरखोर माध्यामिक विद्यालयमा आज एक कार्यक्रमका वीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त कार्यक्रमको उद्घाटन गरे। सो क्रममा बोल्दै नगरप्रमुख वनले स्कुलका बालबालिकामार्फत तिनका अभिभावकहरुलाई सचेतना दिन स्कुल शिक्षा कार्यक्रम प्रभावकारी हुने बताए।

प्राय निकुञ्जको मध्येवर्ती क्षेत्रमा जंगलमा घाँस दाउरा खोज्न जाने तथा जंगलमा आश्रित हुने अभिभावकहरु सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका बुबाआमा हुने भएकाले उनीहरुलाई केन्द्रित गरेर स्कुल शिक्षा शुरु गरिएको आयोजक समितिका संयोजक जीतु तामाङले जानकारी दिए।

मुख्यगरी विद्यार्थीलाई सचेत गराउन सके उनका अभिभावक समेत सचेत हुने भएकाले आजबाट स्कुल शिक्षा कार्यक्रम थालिएको भन्दै तामाङले कार्यक्रमको मुख्य उद्देश्य वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तु द्वन्द्व घटाउनु रहेको उल्लेख गरे।

बिहीबारबाट शुरु भएको स्कुल शिक्षा कार्यक्रम पहिलो चरणमा यहाँको कपरखोरी, मोहना, चित्रसारी, मालपुर बछौली र झुवानी माध्यामिक विद्यालयमा सञ्चालन हुने छ। पहिलो चरणको कार्यक्रममा झण्डै ३०० वालवालिकालाई सचेत गराईने छ। त्यसपछि चितवन निकुञ्जको पुर्वी सेक्टर अन्तरगतका सबै विद्यालयमा कार्यक्रम चलाइने जनाइएको छ।

सो क्रममा बोल्दै मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष तथा संरक्षणकर्मी बासु ढुंगानाले विरलै देशमा पाईने दुर्लभ पाटे बाघ संरक्षणले नेपालको प्रतिष्ठा समेत उँचो हुने र यसलाई हेर्न विदेशीहरु आउने भएकाले पर्यटन विकासमा समेत टेवा पुग्ने भएकाले संरक्षण जरुरी रहेको उल्लेख गरे।

बाघमारा मध्यवर्ती सामुदायिक वन र लिभिङ, वीथ टाईगर परियोजनाको सहकार्यमा शुरु भएको कार्यक्रममा प्रकाश चापागाईले बाघ संरक्षण र यसको महत्वको बारेमा प्रशिक्षण दिएका थिए। हाल नेपालमा १९८ वटा पाटे बाघ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.