|

गोरखा : आफ्नै आमाको हत्या गरी जलाउन घाटमा पुर्‍याएको अवस्थामा शव, छोरा र मलामीलाई नियन्त्रणमा लिएको गोरखा प्रहरीले अनुसन्धानलाई तीब्रता दिएको छ। जिल्लाको भीमसेन थापा गाउँपालिका १ मसेलस्थित सपुंगेमा शुक्रबार ३२ वर्षका छोरा राजेश विश्वले आफ्नै आमा ६३ वर्षकी बिबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनीसहित १८ जनाविरुद्ध जिल्ला अदालत गोरखामा हत्या अभियोगमा मुद्दा दर्ता गरी तीनदिनको म्याद थप गरिएको छ।

 उनै राजेशले आफ्नी आमाको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरी घाटमा जलाउन लगेका बेला गोरखा प्रहरीले स्थानीयको गोप्य सूचनाका आधारमा हत्या भएकी बिबाको शव र मलामी निबेलघाटबाट नियन्त्रणमा लिएको थियो। मदिरा सेवन गरेर पटक-पटक कुटपिट गर्ने राजेशले पनि मदिरा सेवन गरी आमालाई कुटपिट गरेको स्थानीयले प्रहरीलाई दिएको बयानमा बताएका छन्। ‘आमालाई कुटपिट गरी, कर्तव्य गरी मारेको रहेछ’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले भने, ‘हामी अनुसन्धान गर्दैछौँ।’ प्रहरीले मृतक बिबाको टाउको, हातगोडा र अनुहारमा चोटपटक रहेको जनाएको छ।

शवको जिल्ला अस्पताल गोरखामा पोस्टमार्टम समेत भइसकेको छ। कुटपिट गरेर हत्या भएको थाहा पाएका स्थानीयले घाटसम्म लैजान सहयोग गरेको भन्दै मलामीविरुद्ध पनि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीले मृतकका छोरा राजेशसहित दिलबहादुर नेपाली, राजेन्द्रकुमार सिर्मल, सुनिल नेपाली, सागर सिर्मल, होमबहादुर सिर्मल, रिठे सार्की, टेकबहादुर नेपाली,  हरि नेपाली,  हरेराम सिर्मल, भरत बयलकोटी, सुनिल नेपाली, मनवीर नेपाली, ईश्वर सिर्मल, नन्दलाल सिर्मल, नविन सिर्मल, सन्तबहादुर मग्राती र आरुघाटका दुर्गा ब्रमशाहविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.