|

तनहुँ : राष्ट्रिय क्षयरोग केन्द्रको आयोजनामा तनहुँमा पहिलो पटक प्रिभ्यालेन्स सर्वेक्षण गरिएको छ। जिल्ला गरिएको वृहत् प्रिभ्यालेन्स सर्वेक्षणबाट ग्रामीण क्षेत्रका व्यक्तिमा लुकेर रहेको क्षयरोग पत्ता लगाइने छ। तीन दिन गरिएको सर्वेक्षणमा क्षयरोगको स्याम्पलका लागि ५५० जनाको खकार संकलन गरिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरका डा. समिता अधिकारीलगायत तीन जना डाक्टरहरु तथा २२ जना स्वास्थ्यकर्मीको टोलीले सर्वेक्षण गरेका हुन्। म्याग्दे गाउँपालिका ४ छाङ्गमा पहिलो पटक अत्याधुनिक एक्सरे मेसिनको प्रयोगबाट सर्वेक्षण गरिएको प्रदेश-४ का स्वास्थ्य संयोजक गोविन्दराम मरासिनीले जानकारी दिए। मरासिनीले देशभरको ५५ जिल्लामा हुने प्रिभ्यालेन्स सर्वेक्षणमा ९९ कलस्टर अन्तर्गत साविक छाङ्ग गाविस ३ मा सर्वेक्षण गरिएको बताए।

मरासिनीले सर्वेक्षणका लागि १५ वर्षभन्दा माथिका सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरी क्षयरोग पत्ता लगाउने बताए। तीन दिन स्क्रिनिङ क्याम्प गरी उक्त स्थानका व्यक्तिहरूमा लुकेर रहेको क्षयरोग पत्ता लगाउन खकार संकलन गरिएको र त्यसको न्यूनीकरण र नियन्त्रणका लागि सेवाग्राहीलाई प्रोत्साहित समेत गरिएको उनको भनाइ छ।

रोगका बारेमा जानकारी दिनसमेत आवश्यक रहेकाले स्क्रिनिङ क्याम्प गरिएको जरुरी रहेको थियो। सेवाग्राहीहरूले रोगका बारेमा जानकार भए मात्रै उनीहरू स्वास्थ्यको पहुँचमा आउन सहज हुनेछ।

सर्वेक्षणबाट विभिन्न व्यक्तिहरूमा लुकेर रहेको क्षयरोग पत्ता लगाइने र उनीहरूलाई उपचारको दायरामा ल्याइने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले बताए। जनस्वास्थ्य अधिकृत भट्टराईका अनुसार चार करोड रुपैयाँमा बृहत् एक्सरे मेसिनबाट पहिलो पटक तनहुँमा बृहत् सर्वेक्षण गरिएको हो।

सर्वेक्षणका लागि विभिन्न बैठक बसी सामाजिक परिचालक र स्वास्थ्य स्वयम् सेवक खटाएर क्षयरोगसम्बन्धी बिरामीको जनगणनासमेत गरिएको उनले बताए। संकलन गरिएको खकार २४ घण्टाभित्र राष्ट्रिय क्षयरोग केन्द्र कालीमाटी भक्तपुर पठाइ सकिएको भट्टराईले जानकारी दिए।

स्वास्थ्य कार्यालयको तथ्यांकमा सिधै सम्पर्कमा आउने क्षयरोगका बिरामी कम देखिए पनि केही व्यक्तिहरू स्वास्थ्यको पहुँचमा आउन नचाहेको र  त्यस्ता लुकेका क्षयरोग यो सर्वेक्षणले उनीहरूलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने उनले बताए। तीन दिनसम्म गरिएको क्षयरोगको स्याम्पलका लागि संकलन गरिएको खकारको रिपोर्ट एक महिनापछि आउने भट्टराईले जानकारी दिए।

जिल्लामा करिव ३२८ जना क्षयरोगका बिरामी रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरू गरेर सुसूचित गरिरहेको भएपनि अस्पतालको सम्पर्कमा नआउँदा अझै बढी क्षयरोगका बिरामी हुनसक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.