|

अहिले नेपाली वर्णविन्याससलाई लिएर चर्किएको बहस व्यापक बनिसकेको छ। हिजो वर्णविन्याससमा सुधारको वकालत गर्नेहरू आज फरक्कै विपरीत दिशामा फर्किएका छन्। त्रिभुवन विश्वविद्यालयका प्राडाहरू, जसले हिजो नयाँ वर्णविन्यासस लागू गर्न सम्बन्धित निकायलाई सिफारिस गरे, जसले प्रज्ञाप्रतिष्ठानको नयाँ परिमार्जित शब्दकोशलाई वैधता दिए, आज तिनैले पत्रपत्रिका र अन्य सञ्चारमाध्यम तथा विभिन्न मञ्चमार्फत् पहिलेका आफ्ना गल्तीलाई स्वीकार गर्दै नयाँ वर्णविन्यासस गलत भएको बताइरहेका छन्।

तर, जसले नयाँ वर्णविन्यासस लागू गराउन नेतृत्व लिए, तिनले अझैसम्म यस कुरालाई स्वीकार गर्न सकेका छैनन्। हिजो नयाँ वर्णविन्याससका लागि र्समर्थन गर्नेहरू नै आज नयाँ वर्णविन्याससका अभियन्ताहरूलाई 'भाषाका भष्मासुर' भनिरहेका छन्। आखिर किन यस्तो भइरहेको छ? किन हिजो राज्यले प्रज्ञाप्रतिष्ठानलगायतका निकायमार्फ् गोष्ठी, अधिगोष्ठी, सम्मेलनका नाममा त्यत्रो धनराशि राज्यकोषबाट खर्च गर्‍यो? अनि विभिन्न तहका पाठ्यपुस्तक छपाइमा लागेको लगानीको अवस्था के हो? यस विषयमा सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ।

भाषा र संस्कृति पूरक हुन्। भाषा र संस्कृतिलाई दख्खल दिनु भनेको सभ्यतामाथि दख्खल दिनु हो। केही समयअघि संसदमा गम्भीर सवाल उठ्यो- नेपालमा भाषामाथि अराजकता सिर्जना गर्नका लागि डलर आएको छ। यो डलरभित्र निकै ठूलो संशय लुकेको छ। हुनत २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा विदेशी पैसाको खोलो बगेकै छ, सशक्तीकरण, पैरवी, पहुँच, पहिचान आदि इत्यादिका नाममा।

दुनियाँको राम्रो अध्ययन गरेका पश्चिमाहरूलाई राम्ररी थाहा छ- कुनै पनि संस्कृति र सभ्यतामाथि प्रहार गर्नु छ भने सबैभन्दा पहिला त्यहाँको भाषा (भाषिक सभ्यता) ध्वस्त पार्नुपर्छ।

भाषासमेत यसबाट अछुतो रहेन। दुनियाँको राम्रो अध्ययन गरेका पश्चिमाहरूलाई राम्ररी थाहा छ- कुनै पनि संस्कृति र सभ्यतामाथि प्रहार गर्नु छ भने सबैभन्दा पहिला त्यहाँको भाषा (भाषिक सभ्यता) ध्वस्त पार्नुपर्छ।

भाषा नै संवादको माध्यम हो, भाषा नै सांस्कृतिक आदानप्रदानको आधार हो र भाषा नै विभिन्न जात, समुदाय, वर्ग र क्षेत्रको सम्बन्धसूत्र वा एकताको आधार हो। यस कुरालाई राम्ररी बुझेरै नेपाली भाषाका केही पण्डितलाई किन्ने काम भएको हुन सक्छ, जसले सोझै र प्रभावकारी रूपमा नेपाली भाषिक सभ्यतामाथि नाङ्गो आक्रमण गर्न सकोस्। अहिले यही कुरा देखिन्छ नेपाली वर्णविन्याससको विवादका सम्बन्धमा।

नयाँ वर्णविन्याससले नेपाली भाषालाई सरल, सहज र सुवोध्य बनाउने तर्क नयाँ वर्णविन्यासका पक्षधरहरूको रहेको छ। यसो हो भने हिजोको वा प्रचलित वर्णविन्यासस कठिन, असहज र दुर्वोध्य थियो भन्ने बुझिन्छ। यतिका वर्षम्म यतिका धेरै मानिसले स्वाभाविक रूपमा प्रयोग गर्दै आएको चीज कसरी यस्तो हुन पुग्यो अचानक? केही मानिसको लहड (लोभ?)का कारण यसरी कुतर्क अगाडि सारेर वर्णविन्याससलाई तहसनहस पार्नुले दीर्घकालीन नकारात्मक प्रभाव पार्ने कुरामा कसैको ध्यान गएको पाइएन।

वि. सं. २०६९ मा नयाँ वर्णविन्यासस लागू गर्न निर्देशन दिने तात्कालीन शिक्षा मन्त्री दिनानाथ शर्माले आफू केही गलत सल्लाहकारको भुलभुलैयामा फसेको बताइसकेका छन्, सार्वजनिक रूपमै। आफूले आफ्ना सल्लाहकारको गलत सल्लाहका कारण त्रुटिपूर्ण निर्णय गराएको अहिले उनलाई बोध भइसकेको छ। त्यसो त हिजो नयाँ वर्णविन्याससका अभियन्ता आफ्ना गुरु हेमाङ्गराज अधिकारीको निर्देशन र भुलभुलैया (उनीहरूको शब्दमा)मा फसेको ठान्ने त्रिविका केही प्राध्यापक आज आफ्नो गल्तीबोध गर्दै मानक नेपाली भाषा अभियानमा लागिसकेका छन्। यसभित्र राजनीति छैन भन्न नसकिए पनि जे जसरी ढिलै भए पनि उनीहरूलाई आत्मबोध भएको छ, त्यसलाई भने सकारात्मक रूपमै लिनुपर्ने हुन्छ।

यो भाषाको लडाइँ (विवाद?) केही व्यक्तिमा मात्र सीमित रहेन। नेपालभित्र मात्र नभएर विश्वका धेरै देशमा नेपाली बोल्ने, लेख्नेहरू छन्, तिनलाई नयाँ वर्णविन्याससबारे कसले, कहिले र कसरी प्रशिक्षित गर्ने? नेपालबाहिर रहेका नेपालीले तत्‍तत् स्थानमा आफ्ना बाबुनानीहरूलाई आफ्नो भाषा, संस्कृति अद्यावधिक गराउन नेपाली विद्यालय खोलेर पठनपाठन गराइरहेका छन्। हामी भने यहाँ हाम्रा मौलिकता र पहिचानमा आफ्नै हातले बञ्चरो हानिरहेका छौँ, त्यो पनि कोही बाहिरी संस्था वा निकायको प्रभावमा। यस्तो घटना विश्वमै विरलै होला, जहाँ आफ्नै संस्कृति र सभ्यतालाई मास्न राज्य र राज्यका निकायसमेत संलग्न हुन्छन्। नेपालमा नेपाली भाषाको सन्दर्भमा यही भयो, जुन नहुनुपर्थ्यो।

हिजो नयाँ वर्णविन्याससका अभियन्ता आफ्ना गुरु हेमाङ्गराज अधिकारीको निर्देशन र भुलभुलैया(उनीहरूको शब्दमा)मा फसेको ठान्ने त्रिविका केही प्राध्यापक आज आफ्नो गल्तीबोध गर्दै मानक नेपाली भाषा अभियानमा लागिसकेका छन्।

भाषाको विवाद वर्णविन्यासमा मात्र सीमित रहेन, शब्दको प्रयोग र प्रचलनमा अनि वर्णको रूप र आकारमा समेत पुगेको छ। दुनियाँमा बोलिने, लेखिने ६ हजार भन्दा बढी भाषाका बारेमा थाहापत्तो नभएका केही प्राडाको लिँडे तर्क र कुप्रभावमा परेर प्रचलित नेपाली भाषा बिगार्ने काम निकै लामो षड्यन्त्रको परिणाम हो भन्ने कुरामा दुई मत रहेन। वि. सं. २०४० देखि नै यो प्रयास भइरहेको रहेछ। पछि २०५७ मा भाषा गोष्ठीका नाममा अझ उत्कर्षमा पुर्‍याउने काम हुँदै ०६७ मा आइपुगेपछि भने भाषा संगोष्ठीका नाममा नेपाली भाषामाथि तथानाम गरिएछ।

यसैको परिणाम ०६९ मा शिक्षा मन्त्रालयले आदेश जारी गरेको रहेछ कि विद्यालयीय पाठ्यक्रम, उच्चमाविलगायतमा नयाँ वर्णविन्यासअनुसार पाठ्यपुस्तक र पाठ्यक्रम तयार पारी लागू गराउने। यसैको मेसोमा नेपाली भाषा साहित्यको ठेक्का लिएर बसेको राज्यको नियकाय नेपाल प्रज्ञाप्रतिष्ठानले शब्दकोश तयार पारेछ, तिनै 'भाषाका भष्मासुर'को अगुवाइमा। अहिले आएर धेरैको बुद्धिको बिर्को खुलिसकेको छ, तथापि जसको खुल्नुपर्ने हो, त्यसको भने बाँकी नै छ।

भाषालाई परिमार्जन, परिष्कार, अद्यावधिक गराउन सकिन्छ तर त्यसका आफ्नै प्रक्रिया र सीमा हुन्छन्। भाषा भनेको प्रचलनले परिमार्जन र अद्यावधिक हुने चिज हो, व्यक्तिको लहड र दवावले होइन। राज्यको निरंकुश दवावले पनि भाषा, संस्कृति जस्ता कुरामा परिवर्तन गर्न सकिँदैन, किनभने यी त मानिसको जीवनशैली बनिसकेका हुन्छन्। आफ्नो जीवनशैलीमा परिवर्तन गर्न हत्तपत्त मानिसले रुचाउँदैन। यही भएको हुनुपर्छ नेपाली भाषाको पछिल्लो भाँडभैलोका सन्दर्भमा पनि।

जे नहुनु थियो, त्यही भयो। जे नगर्नुपर्थ्यो त्यही गरे केही भाषाका पण्डितले। अब त्यसलाई सच्याउनतिर लाग्नुपर्छ। सच्याउने कसरी भन्दा बिगार्ने र बुझ्नेहरूको समझदारी, समन्वय र सहकार्यमा। यदि बिगार्नेहरू कसैको प्रभावबाट सञ्चालित रहेछन् भने छानबिन गरी सख्त कारवाही गर्न राज्य चुक्नुहुँदैन। र, भूलवश वा अञ्जानमा वा कम ज्ञान वा कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण यस्तो भएको रहेछ भने त्यहीअनुसारको नसिहत दिन पनि राज्य पछि पर्नुहुँदैन।

यद्यपि, भूल र कमजोरी स्वीकार गरेर पुनः नेपाली भाषाको भाँडभैलोलाई सच्याउनतिर लागेमा स्वागत गर्नुपर्छ, जसरी अहिले त्रिविका केही प्राध्यापकहरू आएका छन्। देश, विदेशमा रहेका नेपाली भाषासेवी, साहित्यसेवी, सञ्चारकर्मी अथवा नेपाली भाषासँग सम्बन्धित व्यक्ति, संस्था र निकायका प्रतिनिधिहरूको वृहत् सम्मेलन गरी टुङ्गोमा पुग्नुपर्छ। फरक मतहरूको कदर गर्दै नेपाली भाषिक सभ्यतालाई जोगाउन लागिपर्नु हामी सबैको कर्तव्य हो। अहिलेको भाषाको बहस बुद्धिविलासमा सीमित हुनुहुँदैन। यदि यसो भएमा नेपाली भाषिक सभ्यता ध्वस्त पार्न उद्यतहरूलाई अझ हौसला मिल्नेछ र हामी हाम्रा सभ्यतालाई इतिहासको गर्तमा जाक्नेछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.