|

डडेल्धुरा : प्रदेश ७ अर्थात् सुदूरपश्चिममा थ्रुपै पर्यटकीय क्षेत्र छन्। पर्यकटीय क्षेत्रका दृष्टिकोणले हेर्ने हो भने यस प्रदेशमा सम्भावनाका ढोका प्रसस्त छन्। 

देश संघीयतामा जानुअघि सुदूरपश्चिमलाई राज्यले हेर्ने दृष्टिका कारण यस क्षेत्रका पर्यटकीय क्षेत्रहरु सधैं ओझेल परे। त्यसको असर अझै छ। राज्यका विभेदका कारण पछौटेपन, विकटता, जातीय तथा लैंगिक विभेद, गरिबी, अशिक्षा र अभावले ग्रस्त क्षेत्रको रुपमा यहाँको परिचय बन्यो। तर, यहाँको अनुपम र मनोरम प्राकृतिक सौन्दर्यलाई कहिल्यै कसैले हेर्ने कोसिस गरेनन्। 

सुदूरपश्चिमा रहेका सुन्दर स्थानमध्ये एक हो, खप्तड राष्ट्रिय निकुञ्ज। वर्षको छ महिना हिउँ पर्ने खप्तड क्षेत्रलाई हिन्दूहरूको पवित्र तीर्थस्थल मानिन्छ। यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ। यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापरदह, शिवमन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरु प्रख्यात छन्। 

पुराणअनुसार महादेवले खप्तडको जडिबुटीको प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ। खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरु शदियौँदेखि प्रचलित र प्रख्यात छन्। जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ। हजारौँ तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ आइपुग्छन् र त्रिवेणी नदीमा स्नान, सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्छन्। 

खप्तडमा जताततै लामा अनि थुम्कासहितका हरिया फाँट छन्। फाँटभरी थरीथरीका फूलहरु, तीमाथि उडिरहेका रंगीबिरंगी पुतली, चारैतिर कलमी गरे झैँ लाग्ने घना जंगल। जंगलभित्र नौवटै रङका गुराँस। घना जंगलभित्र सुगन्ध फैलाउने जडिबुटी र हरिया घाँसे मैदान छन्। 

प्रदेश ७ का डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो खप्तड। समुद्र सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाईमा २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ थलथले घाँसे मैदानयुक्त जमिन हो। यहाँ साना–ठूलागरी २४ भन्दा बढी पाटन (फाँट) छन्। 

वि.सं. २०४१ मा यस क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो। उत्तरमा दार्चुलाको अपी र बझाङको सैपाल हिमालको मनोरम दृश्य, अमूल्य जडिबुटी र रंगीबिरंगी फूल फुल्ने बोटबिरुवा, सफा नरम पर्सीयन कार्पेट बिछ्याइए झैँ लाग्ने मैदान, जहाँ टेक्दा पनि बिग्रन्छ कि जस्तो लाग्छ। तीन हजार २०० मिटर उचाईमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ। पाटनहरु हिउँले सेताम्मे भएका हुन्छन्। प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रूखका थुम्काहरू छन्। 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.