|

काठमाडौं : फ्रान्सले पहिलो र अन्तिम पटक जब विश्व कप जित्यो। हो, त्यही वर्षको डिसेम्बरमा केलियन एम्बापेको जन्म भयो। फुटबल आकाशमा नयाँ स्टारको आगमनको संकेत दिए एम्बापेले, शनिबार रोमान्चक खेलमा अर्जेन्टिनाको हारको नायक बनेर। एम्बापेको खेलले फिफा विश्व कप–२०१८ मा फ्रान्सको दावेदारीलाई बलियो पनि बनाएको छ ।

नयाँ स्टारको जन्मसँगै पुरानाको बिदाइ हुनुपनि स्वाभाविकै हो। विश्व फुटबलमा महान खेलाडी बन्ने दौडमा लागेका अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सपनाको संसारबाट झस्किएका छन्। अनि यथार्थताको धरातलमा ओर्लिएका छन्। शनिबारको हारपछि ती दुवै टोली घर फर्कन सुटकेस बाँध्दैछन्। हुनत सबै प्रतिभाशाली महान बन्दैनन्। सबैले विश्व कपको ट्रफी पनि चुम्न सक्दैनन्। रोनाल्डोले त पोर्चुगललाई युरो–२०१६ मा जित दिलाएर मुलुकमा एउटा भएपनि ठूलो उपाधि भित्राए। तर, मेसीको भागमा त कोपा अमेरिकासमेत परेको छैन। त्यसैले महान बन्ने अभियानमा ती दुवैको परिचय अब प्रतिभाशाली खेलाडीका रुपमा मात्र खुम्चिएको छ ।

सम्भवत् शनिबार कै खेल नै ती दुवै खेलाडीका लागि अन्तिम विश्व कप हुनसक्छ। उमेरका आधारमा रोनाल्डो ३३ वर्षका भइसके भने मेसी उनीभन्दा साढे दुई वर्ष मात्र कान्छा छन्। अबको ४ वर्षपछि उनीहरुले विश्व कप खेल्लान् भन्न गाह्रै छ। खेलेपनि अहिले झैं उच्च फर्ममा भने अवश्य रहने छैनन्। हुनत ४ वर्षअघि फाइनलमा जर्मनीसँग पराजय व्यहोरेसँगै मेसीले सन्यासको घोषणा पनि गरेका थिए। तर, प्रसंसकहरुको दबाबमा उनी राष्ट्रिय टोलीमा फर्किए। उनको त्यो निर्णय अहिले व्यर्थ बनेको छ। त्यसैले ४ वर्षपछि कतारमा उनीहरुको खेल हेर्न पाउनु कल्पना सिवाय अरु केही हुँदैन ।

यो विश्व कपमा मेसी र रोनाल्डो दुवैले टोलीलाई सफल बनाउन अथक प्रयास भने गरे। त्यसको प्रसंसा भने गर्नै पर्छ। रोनाल्डोले टोलीको जितमा यो विश्व कपभरी ४ गोल गरे। मात्र एक गोल गरेका मेसीले भने साथीलाई गोलका लागि सहयोग गरे। शनिबार पनि उनकै सहयोगमा २ गोल भयो। लिग चरणमा प्रसंसायोग्य खेल खेल्न नसकेको अर्जेन्टिनाले फ्रान्ससँग भने विजेता झैं खेल्यो तर, भाग्यले फ्रान्सको साथ दियो। जसरी ४ वर्षअघि फाइनलमा जर्मनीले भाग्यको साथ पाएको थियो ।
त्यो खेलले आधुनिक फुटबललाई बिर्साउँदै पुरानो शैलीको कलात्मक फुटबलको झल्को समेत दियो। अहिलेको फुटबलमा ४–३ को अन्तरले खेलको निर्णय हुनु भनेको असम्भव झैं मानिन्छ। तर, फ्रान्स र अर्जेन्टिनाले फुटबललाई माया गर्नेहरुको मनलाई लोभ्याउने खेल पस्किए, आक्राकम खेललाई अघि सारे। त्यो खेलले जित–हारभन्दा पनि रोमान्चक फुटबलको स्वाद पस्किएर वास्तविक विश्व कपको पहिचान दियो। यो विश्व कपमा सम्भवत अर्को त्यहिस्तरको खेल नहुन पनि सक्छ। त्यो खेलले फ्रान्सको युवा टोलीको प्रसंसा मात्र चुलिएको छैन। उपाधिको बलियो दावेदार बनेर अगाडि पनि आएको छ ।

उता शनिबारको अर्को प्रिक्वार्टरफाइनल खेलमा उरुग्वेले पनि सानका साथ युरोपेली च्याम्पियन पोर्चुगललाई २–१ ले हराएर अन्तिम ८ मा स्थान बनायो। उरुग्वेको जितमा काभानीको २ गोल महत्वपूर्ण रह्यो। पहिलो खेलमा एम्बापेले झैं काभानीले पनि जितका लागि दुई गोल गरे। तर, पहिलो खेलले पस्किएको रोमान्चक फुटबल सो खेलमा देख्न पाइएन। अर्जेन्टिना र फ्रान्सको खेलको महत्वपूर्ण पाटो भनेकै एम्बापे जस्ता स्टार खेलाडीको विश्व फुटबलमा आगमन हुनु हो। ती १९ वर्षिय युवा स्ट्राइकरले आपूmलाई पेले जस्ता महान खेलाडीको समकक्षमा समेत उभ्याएका छन्, जसले ‘टिनएज’ मा विश्व कपमा गोल गरे। साथै उनी विश्व कपमा कम उमेर गोल गर्ने तेस्रो खेलाडी पनि बने। यसअघि मेक्सिकोका म्यानुयल रोसासले सन् १९३० मा अर्जेन्टिनाविरुद्ध १८ वर्ष २ महिना तथा २६ दिनमा विश्व कपमा गोल गरेका थिए। पेलेले भने सन् १९५८ को विश्व कपमा १७ वर्ष ७ महिना र २३ दिन पुग्दा स्विडेनविरुद्ध गोल गरेका थिए। अहिले विश्व कपको इतिहासमा ६० वर्षपछि एम्बापेले १९ वर्षको हुँदा सो सफलता पाएका छन्। एम्बापेको कीर्तिमानसँगै समूह चरणमा गोलको भोक मेटाउन नपाएको फ्रान्सले त्यसमा पनि पूर्णविराम लगाएको छ ।

शनिबारको खेलको समाप्तिसँगै यो विश्व कपमा ३ पूर्व विजेताको यात्रा टुंगिसकेको छ। छनोट चरण नै पार गर्न नसकेको इटाली अनि पहिलो चरणबाटै बाहिरिएको साविक विजेता जर्मनीसँगै अर्जेन्टिना विश्व कपका खेलाडी दर्शकमा सिमित बनेका छन्। साथै गत संस्करणमा पहिलो, दोस्रो र तेस्रो भएका ३ वटै टोली पनि मैदान बाहिर छन्। ४ वर्षअघि तेस्रो भएको नेदरल्यान्ड छनोट चरण पार गर्न नसक्ने अर्को अभागी टोली बनेको थियो ।

आइतबार राति पूर्व विजेता स्पेनको भाग्य परिक्षण हुनेछ भने सोमबार ५ पटकको विजेता ब्राजिल र मंगलबार १९६६ को विजेता इंग्ल्यान्डको भविष्य निर्धारण हुनेछ। अन्तिम १६ मा स्पेनले केही कमजोर प्रतिद्वन्द्वि आयोजक रुसको सामना गर्दा जितको सम्भावना बलियो देखिन्छ। आइतबार नै क्रोयसिया र डेनमार्क समेत अन्तिम ८ मा प्रवेस गर्न मैदानमा भिड्दै छन्। ती दुई खेलका विजेताको अघिल्लो चरणमा सामना हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.