|

काठमाडौं : संसदीय सुनुवाइ समितिमा कुन राजनीतिक दलबाट कति जना सदस्य रहने भन्नेबारे प्रतिनिधिसभामा सहमति जुटेको छ।

संघीय संसदको आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकले उक्त समितिमा १२ जना प्रतिनिधिसभा र तीन जना राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्ने र राष्ट्रियसभाबाट कुन दलबाट कति जना सदस्य रहने भन्नेबारे पनि टुंगो लगाएको छ।

समितिको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले समितिले छिट्टै पूर्णता पाएर गठन हुने बताए। उनले भने, 'यो समितिका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरूलाई भोलि (सोमबार)सम्म नाम दिन भनेका छौँ र यो समिति अब छिट्टै बन्छ।' उनले संसदीय सुनुवाइ समितिमा सबै दललाई समेटेर लैजानेबारे कार्यव्यवस्था समिति बैठकमा छलफल भएको पनि बताए। उनले भने, 'सबै दललाई समेट्नेगरी संख्या निर्धारण गरेका छौँ। राष्ट्रियसभामा कुन दलबाट कति भन्ने समितिले नै निर्धारण गर्छ।'

मन्त्री तामाङले दिएको जानकारीअनुसार संसदीय सुनुवाइ समितिमा सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीबाट सात, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट दुई, संघीय समाजवादी फोरमबाट एक, राष्ट्रिय जनता पार्टी नेपालबाट एक र अन्य तथा स्वतन्त्र सांसदहरूमध्येबाट एक जना सांसदको प्रतिनिधित्व हुने सहमति भएको छ।

यो संख्यामा केही फेरबदल गर्नेबारे कुरा पनि आएको तर हाललाई यसलाई नै अन्तिम मानिएको मन्त्री तामाङको भनाइ थियो। उनले त्यस्तो सम्भावना रहे पनि त्यो नाम आएपछि मात्रै गर्न सकिने बताए।

संसदीय सुनुवाइ समिति नहुँदा विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा ढिलाइ भएको छ, जसका कारण ती निकाय प्रमुखविहीन बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.