|

सुनसरी : सप्तकोशी नदीमा पानीको वहाव यस वर्षकै उच्च भएको छ। पूर्वि भेगमा तीन दिन यताको वर्षासँगै सप्तकोशी नदीको वहावमा मंगलबार बढेको हो। पछिल्लो मापनअनुसार कोशीमा पानीको वहाव एकलाख ३८ हजार ७५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ।

कोशी व्यारेजका २३ वटा ढोका खोलिएका छन्। आइतबार साँझ एक लाख ३१ हजार क्युसेक पुगेको नदीको वहाव क्रमश घट्दो क्रममा रहेको थियो। पूर्वी पहाडीसहितका भेगमा अविरल वर्षा भएकाले मंगलबार दिउँसोबाट कोशीमा पानीको वहाव बढेको कोशी व्यारेज कन्ट्राेल रुमले जनाएको छ। पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा भएको खण्डमा कोशी नदीमा पानीको सतह बढ्ने गर्छ।

मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरूलाई सर्तक रहन अपिल गरेको भए पनि सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ। नदीको वहावमा उतारचढाव जारी रहे पनि खतरा भने नरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए। वर्षायाममा सधैँजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा रहेको तटबन्धमा आवश्यकता परेको खण्डमा बालुवा सहितको बोरा हाल्ने गरी तयारी गरिएको उप्रेतीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी उप्रेतीका अनुसार कोशीका सबै तटबन्ध सुरक्षित छन्। नियमित अनुगमन र पूर्व तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ। सुनसरीमा लगातारको वर्षाका कारण खोलानालामा जलस्तर बढे पनि कटान भने नभएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.