|

सल्यान : प्रकृतिको कुचिकारको रुपमा रहेको लोपाेन्मुख गिद्ध संरक्षण गर्न सल्यानमा अभियान सञ्चालन गरिने भएको छ। पशुमा लगाउने डाइक्लोफेनिक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेपछि जिल्लामा अभियानकै रुपमा गिद्ध संरक्षण गर्न थालिएको हो। 

खाना र बासस्थानको अभावका कारण दिन प्रतिदिन गिद्धको संख्या घट्दै जान थालेपछि संरक्षण अभियान थालिएको गिद्धसम्बन्धी अध्ययनमा संलग्न सुमन घिमिरेले बताए। उनले भने, ‘खाना र बासस्थानको अभाव तथा अन्य पशुचौपायमा डाइलोफेनिक औषधिका कारण गिद्धको संख्या घट्दै गएको छ। जिल्लामा गिद्धको संख्या १४२ रहेको पाइएको छ। जसमा सुन गिद्ध १४ वटा, सेतो गिद्ध १२ वटा, हिमाली गिद्ध ६६ वटा र हाडफोर गिद्ध १६ वटा छन्।’

जिल्लाको लेख पोखरा, झिम्पे, काभ्रा, बाँमे, लुहाम, काल्चे, मोखला, दमाचौर लगायतका ठाउँमा गिद्ध पाइन्छ। केही समय अघि जिल्लाभरि पाइने गिद्ध लोप हुँदै गई रहेका छन्। अहिले स्थानीयवासीको सक्रियतामा पास नेपाल सल्यानले गिद्ध संरक्षण अभियान सुरु गरेको जनाएको छ। जथाभावी सडक निर्माण र वन फँडानीका कारणले समेत गिद्धको संख्या घटेको पाइएको पास नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर केसीले बताए।

पास नेपाल सल्यानले जिल्लामा गिद्ध संरक्षण केन्द्र स्थापनाको तयारी समेत गरेको छ। नेपालमा पाइने ९ प्रकारका गिद्ध मध्ये सल्यानमा ४ प्रकारका गिद्धको प्रजाति रहेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.