|

दैलेख : गत वर्ष बैशाष ३१ गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरूबाट जनताले धेरै आशा राखेका थिए। जनताले राखेको धेरै अपेक्षामध्ये एउटा थियो विगतमा जस्तै असारको अन्त्यमा बजेट सक्नलाई हतारो नहोला भन्ने। विकासको नाममा असारे भेलमा करोडौं रकम खर्चिने परिपाटीको अन्य हुन्छ भन्ने आशामा रहेका जनताको त्यो सपना पूरा हुन भने पाएन्।

स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरूले पनि विगतमा जस्तै असारे विकासलाई छोड्न सकेनन्। असारको अन्त्यतिर आउन नागरिकहरूलाई रोपाइको चटारो परेजस्तै दैलेखका ११ वटै स्थानीय तहमा अहिले बजेट सक्न भ्याइनभ्याई छ। दैलेखका केही स्थानीय तह र विषयगत सरकारी कार्यालयले असार पहिलो सातासम्म पनि योजनाको सम्झौता गरेको पाइएकको छ।

जिल्ला प्राविधिक कार्यालयले महाबु गाउँपालिकाको खोलीबजार–बडाखोला–बाँसी काशीकाँध सडक निर्माणका लागि श्रमदानसहित ५७ लाख रुपैयाँको योजना सम्झौता गरेको भेटिएको हो।

उक्त कार्यालयले ५० लाख रुपैयाँको रामाघाट–सिहासैन–पीपलकोट सडकको समेत जेठ अन्तिम साता सम्झौता गरेको थियो। दुवै सडकमा बढीमा १५ दिन मात्र काम हुने उपभोक्ता समितिका पदाधिकारी नै बताउँछन्। आर्थिक वर्ष सकिनै लाग्दा योजना सम्झौता गरेपछि स्थानीय बासिन्दाले गुणस्तरीयताको प्रश्न उठाउन थालेका छन्।

आर्थिक वर्षको अन्तिममा सम्झौता गर्ने र जथाभावी सडक खन्ने प्रवृत्तिले सरकारी रकमको दुरुपयोग हुने गरेको उनीहरूले बताए। 'सडक निर्माणका नाममा ठेकेदार मोटाउने काम मात्र भइरहेको छ', महाबु गाउँपालिकाका स्थानीय मानबहादुर बुढाले भने, 'समयअघि नै काम गर्ने पर्याप्त वातावरण भए पनि जेठको अन्तिम सातामात्र सम्झौता भयो।'

उनले जनप्रतिनिधि आए पनि पहिलेको जस्तै असारमा मात्र विकास गर्ने र रकमको दुरुपयोग गर्ने प्रवृत्ति रोकिन नसकेको बताए। ११ महिनाभरि विकासका काम ठप्प हुन्छन उनले, 'भने बाँकी एक महिनामा सारा विकासका काम सकाउन खोजिन्छ यसले कसरी गुणस्तरीय र दिगो विकास होला?'

दिनभर सडकको काम गरे पनि रातिको पानीले पहिलेको जस्तै बनाउने गरेको सडक निर्माणमा संलग्न मजदुर बताउछन्। मध्यपहाडी राजमार्ग छुँदै महाबुको खोलीबजार–बडाखोला–बाँसी–काशीकाँध सडकको निर्माण भइरहेको छ।

५७ लाख रकम विनियोजन भएको उक्त सडकमा पीसीसी ग्याबिन सोलिङ र सिमेन्ट वाल बनाउनेलगायत काम भइरहेका देखिन्छ। निर्माणमा खटिएका मजदुर हर्कबहादुर सिंहले घामपानी नभनेर काम गर्दै आएको बताए।

लामो समयदेखि ठेक्कामा संलग्न कालिका कन्स्ट्रक्सनका प्रोप्राइटर झनकबहादुर बुढालाई उपभोक्ता समिति अध्यक्षको जिम्मा दिइएको छ। तर उनले भने बमोजिम काम गर्न नसक्ने देखिन्छ।

कार्यविधिअनुसार उपभोक्ता समितिमा राजनीतिक दलका कार्यकर्ता र निर्माण व्यवसायी बस्न नपाउने प्रावधान छ। प्राविधिक कार्यालयले निर्माण समितिलाई १५ दिनको अल्टिमेटम दिएर सम्झौता गरेको थियो। प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले निर्माण समितिको कार्यविधिमा निर्माण व्यवसायी स्वयं बस्न नपाउने बताए।

महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले प्राविधिक कार्यालयले आफ्नै तरिकाले काम गरिरहेकाले आफूलाई त्यसबारे जानकारी नभएको दाबी गरे।

जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर अयुष जोशीले स्थानीय यातायात पूर्वाधार कार्यक्रमतर्फ एक करोड रकम आएको र रकम फ्रिज हुने भएपछि हतार–हतार सम्झौता गरिएको बताए। 'सम्झौताअनुसार भन्दा पनि कामअनुसार रकम भुक्तानी हुनेछ', उनले भने, 'जतिसक्दो छिटो र गुणस्तरीय काम गर्ने तयारीमा छौं।'

खोली बजारको मात्र होइन सदरमुकाम दैलेख बजारभित्र पनि असारे चटारो बढेको छ। ठेकेदारले सडक पिसिसिको जिम्मा लिए पनि काम हुन सकेको छैन। एकातिर म्याद थपको चिठ्ठी बनाइदै छ। अर्को तर्फ काम पनि सुरु भइरेहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.