|

जाजरकोट : जिल्लाको शिवालय गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि २४ करोड २३ लाख ६८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटको १० लाख रुपैयाँ मात्र गाउँपालिकाको आन्तरिक राजश्वले व्याेहोर्ने छ। आन्तरिक आय कुल बजेटको एक प्रतिशतभन्दा कम हो।

कानुन बनाउनेदेखि लागू गर्नेसम्म अधिकार पाएका स्थानीय तहले बजेटमा भने केन्द्र तथा प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था आएको छ। शिवालयले उक्त बजेट मध्ये संघीय सरकारबाट वित्तीय सामानीकरणअन्तर्गत ६ करोड ४२ लाख, राजश्व बाडफाँडमा पाँच करोड २९ लाख ९४ हजार र सशर्त अनुदान ११ करोड २० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरेको छ। त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरणअन्तर्गत ४९ लाख २२ हजार र राजश्व बाँडफाँडबाट दुई लाख १० हजार रुपैयाँ, चालु वर्षको बाँकी ७० लाख र गाउँ पालिकाको आन्तरिक राजश्व संकलन १० लाख हुने लक्ष्य लिएको छ। 

गाउँपालिकाभित्र राजश्व संकलनका स्रोत नहुँदा कम राजश्व संकलनको लक्ष्य राखिएको हो। चालु आर्थिक वर्षको हाल सम्मको यथार्थ राजश्व संकलन आठ लाख ५० हजार रहेको गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले बताए। बजेटको ठूलो हिस्सा तलब भत्तामा सकिने छ। तलब भत्तातर्फ अर्थात् चालु खर्चमा १५ करोड ५८ लाख रुपैयाँ र पुँजीगत अर्थात कार्यक्रम बजेट खर्च आठ करोड ६५ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ।

बारेकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागी कुल २७ करोड ३० लाख ८६ हजार रुपैयाँको बजेट हालै सार्वजनिक गरेको छ। बारेकोटले संघीय सरकारबाट प्राप्त ससर्त तथा निशर्त अनुदान, रावश्व बाँडफाडबाट प्राप्त अनुदान र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई नै बजेटको मुख्य आम्दानीको स्रोत मानेको छ।

गाउँपालिकाको आफ्नै आन्तरिक राजश्व संकलन भने जम्मा १५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको हाल सम्मको यथार्थ राजश्व संकलन करिव ९ लाख रुपैयाँ रहेकोले सोही आधारमा आगामी वर्ष १५ लाखसम्म राजश्व संकलन गर्न सकिने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए। उनले राजश्व संकलन न्यून हुँदा जनताका अपेक्षा पुरा गर्न गाह्रो भएको बताए। ‘आन्तरिक राजश्व संकलन एकदमै न्यून हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नु पर्ने अवस्था छ। केन्द्रबाट पठाएको सीमित बजेटले पूर्वाधार विकासदेखि नागरिकका दैनिक आवश्यकता परिपूर्तिमा निकै समस्या देखियो’ उनले भने।

कुशे गाउँपालिकाले आगामी आर्थिक वर्षको ३२ करोड ९९ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजश्व ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ। जवकी चालु आर्थिक वर्षको हालसम्मको यथार्थ राजश्व संकलन करिव १२ लाख रुपैयाँ मात्र छ। त्यस्तै जुनीचाँदे गाउँपालिकाले आगामी आर्थिक वर्षमा करिव २८ करोडको बजेट सार्वजनिक गरेको छ।

आन्तरिक राजश्व ३० लाख संकलन गर्ने लक्ष्य लिएको छ। चालु आवमा १५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले हाल सम्म १२ लाख रुपैयाँमा मात्र संकलन गरेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिएका छन्। उनले गाउमा राजश्व संकलन गर्ने आधार नै नभएको गुनासो गरे। तीनवटा नगरपालिका रहेको जाजरकोटमा ४२ करोडको बजेट भएको भेरी नगरपालिकाले एक करोडकोे आन्तरिक राजश्व संकलनको लक्ष्य लिएको छ भने ४२ करोड ६५ लाख बजेट रहेको छेडागाड र करिव ४० करोड बजेट रहेको नलगाड नगरपालिकाले ५०/५० लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेका छन्। आन्तरिक राजश्व संकलन कुल बजेटको ज्यादै न्यून संकलन हो।

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाकोे गरी कुल दुई अर्ब ३० करोडको बजेट आगामी आर्थिक वर्षका लागि प्रस्तावित गरिएको छ। त्यसमध्ये करिव तीन करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ। गाउँ तथा नगरपालिकाको आन्तरिक राजश्व संकलन निकै न्युन मात्रामा हुने र संघीय तथा प्रदेश

सरकारबाट प्राप्त सीमित बजेटले पूर्वाधार विकासदेखि सामाजिक सुधारका कार्यमा बजेट विनियोजन गरेर सवै नागरिकको चित्त बुझाउने तथा समृद्ध गाउँ तथा नगर बनाउने कुरा निकै चुनौतिपूर्ण रहेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए। उनले आन्तरिक राजश्व संकलन कम हुने गाउँ तथा नगरलाई अनुदानमा विशेष प्राथमिकता दिनुपर्ने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.