|

काठमाडौं बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण भक्तपुरको चाँगुनारायण नगरपालिका ५ बुद्धलामाको घर भत्कियो। उनको घरपछाडि झरेको पहिरोले घर पुर्दा ७० वर्षीय हिराबहादुर लामा, ६५ वर्षीय तानमाया लामा र उनकी नातिनी २ वर्षीय सम्पदा लामाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेस थापाले बताए।

भक्तपुरमा डुबानमा परेका ५७ जनालाई प्रहरीले उद्धार गरेको छ। भक्तपुरको हनुमन्ते र खस्याङ खुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुर थिमि- १ लोकन्थलीसम्मको भूभाग डुबानमा परेको हो। 

हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धी स्मृति बालअस्पताल, राममन्दिर, बारही स्थान, मंगलतीर्थ, सल्लाघारीस्थित अस्पताल, मध्यपुर थिमिस्थित मध्यपुर थिमि अस्पतालसमेत जलमग्न भएको छ। खस्याङ खुसुङ खोलामा आएको बाढीले मध्यपुर थिमिको राधेराधे क्षेत्रसमेत डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन्। त्यस्तै, वर्षाका कारण थापाथलीस्थित सुकुम्बासीबस्ती पूरै डुबानमा परेको छ। बाढी र डुबानका कारण काभ्रेको बनेपासमेत  प्रभावित भएको छ।

वर्षाका कारण उपत्यकालगागयत देशका विभिन्न ठाउँमा बाढी र पहिरोको उच्च जोखिम बढेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। बुधबार रातिदेखि परेको वर्षाको विवरण आउन बाँकी भए पनि यस वर्षको मनसुन सुरु भएयता बाढी, पहिरो र प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेको संख्या ४० भन्दा बढी पुगेको उनले बताए।बुधबार रातिको वर्षाका कारण बाढीले अरनिको राजमार्ग, मुग्लिन सडक खण्ड, नुवाकोट सडक खण्डमा आएको पहिरोको कारण यातायातसमेत ठप्प भएको छ।

तयारी अवस्थामा हेलिकोप्टर

गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिका अनुसार विपद व्यवस्थापनको तयारीको लागि काठमाडौं, पोखरा, इटहरी, र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा रहेको विपद् व्यवस्थापन कार्यकारी समितिले सरकारका सबै निकायलाई तयारी अवस्थामा रहनसमेत सर्कुलर जारी गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

विभिन्न स्थानमा खोज र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयारी अवस्थामा रहेका छन्। विभिन्न जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँग समन्वय गरेर बाढीपीडितहरूका लागि आवश्‍यक सामग्रीसमेत पठाउन सुरु गरिएको सुवेदीले बताए। आपतकालीन अवस्थामा सेनाका हेलिकोप्टर जुनसुकै समयमा पनि उड्न सक्ने सुवेदीको भनाइ छ। गृहमन्त्रालयले बाढी प्रभावित क्षेत्रका नागरिकलाई विपदको बेला सावधानी अपाउन पनि आग्रह गरेको छ। 

हाइअलर्टमा सुरक्षा निकाय

विपदमा परेका नागरिकको उद्धारका लागि तीनओटै सुरक्षा निकाय हाईअलर्टमा रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल हाइअलर्टमा रहेका हुन्। तीनवटै सुरक्षा निकायले विपदमा उद्दारको लागि आ-आफ्नो टिम तयारी अवस्थामा रहेको जनाएका छन्।  

नेपाली सेनाले विपदको लागि नेपालभरी रहेका सेनाका फौजलाई तयारी अवस्था राखिएको जनाएको छ।  नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले  हरेक पृतनाहरूमा रहेका तालिम प्राप्त टोलीलाई उद्दारको सामग्रीसहति हाइअलर्टमा राखिएको बताए। त्यस्तै, सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेका अनुसार सबै जिल्लामा विपदसम्बन्धी तोकिएको जनशक्तिबाहेक २४ सै घण्टा तयार रहने गरी गुल्मलगायतका सशस्त्र प्रहरी तयारी अवस्थामा रहेका छन्।

नेपाल प्रहरीले पनि विपद व्यवस्थापनमा विपद व्यवस्थापनसम्बन्धी तालिम प्राप्त १२ सय जनालाई उच्च तयारी अवस्थामा राखेको र देशैभर रहेका प्रहरी कार्यालयहरूलाई समेत बाढीपहिरोपीडितको उद्दारका लागि तयारी अवस्थामा रहन निर्देशन भएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.