|

बैतडी : जिल्ला अदालतले चालु आर्थिक वर्ष ०७४/७५ को हालसम्मको अवधिमा ८० प्रतिशत मुद्दा फैसला गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ९६ मुद्दा परेकोमा ७७ मुद्दा फछ्योट भइसकेको जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले जानकारी दिए। यसमध्ये १६ वटा मुद्दा जबरजस्तीकरणीका परेकोमा ११ वटा मुद्दाको फैसला भएका छन्।

यस्तै महिला हिंसाका १० मुद्दा परेकोमा ८ मुद्दाको फैसला गरिसकेको न्यायाधीश गौतमले बताए। समग्रमा महिला हिंसाका २६ मुद्दा दर्ता भएकोमा २३ मुद्दाको फैसला भएको उनले बताए। क वर्गको अदालतले ६ महिनाभित्र मुद्दाको फैसला गर्नुपर्ने व्‍यवस्थाअनुसार मुद्दा फैसला भइरहेको बैतडी जिलला अदालतले जनाएको छ। बैतडी जिल्ला अदालतमा कुनै पनि मुद्दा ६ महिनाभन्दा पहिलाका नरहेको जिल्ला न्यायाधीश गौतमको दावी रहेको छ। उनले भने, 'सबैभन्दा पुरानो भनेको गत चैत १२ को मुद्दा फैसला हुन बाँकी छ।'

पछिल्लो समय विभिन्न प्रविधिको दुरुपयोगले जवरजस्ती करणी र महिला हिंसाका घटनाहरू बढिहरेको जिल्ला न्यायाधीश गौतमले बताए। मोवाइल, इन्टरनेट तथा  सामाजिक सञ्जालले पनि पछिल्लो समय अपराधिक घटना बढ्दै गएका बताइएको छ। 

गत वर्ष सातवटा मुद्दा जिम्मेवारी सरिआएका थिए ८९ नयाँ गरी जम्मा ९६ मुद्दा दर्ता भएका बैतडी जिल्ला अदालतका श्रेस्तेदार भीमप्रसाद भुसालले जानकारी दिए।

बैतडी जिल्ला अदालतले निःशुल्क कानुनी सेवा पनि दिइरहेको छ। यो वर्षमा निःशुल्क रूपमा कानुनी सेवाबाट तीनजनाले मात्रै सेवा लिएका छन्। निःशुल्क रूपमा कानुनी सेवाबारे यहाँका नागरिकलाई जानकारी नहुँदा यो सेवा लिनेको संख्या न्यून रहेको श्रेस्तेदार भुसालको भनाई  रहेको छ।

'गरिब, असहाय, अशक्त नागरिकले यो सेवा लिनसक्छन्', उनले भने 'वार्षिक ४० हजारभन्दा कम आम्दानी भएका व्यक्तिले निःशुल्क कानुनी सेवा लिन सक्छन्।' निःशुल्क कानुनीसेवाबारे जानकारी दिन जिल्ला अदालतले बैतडीका विभिन्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम तथा अन्तरक्रियासमेत गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.