|
फाइल फोटो

काठमाडौं : नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्ती। नेपाल तथा नेपालीभाषी रहेका मुलुकमा विविध कार्यक्रम गरी मनाइँँदै छ।  

आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०४ वर्षअघि वि.सं. १८७१ असार २९ गते भएको थियो। बाबु धनञ्जय आचार्य र आमा धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो। उनले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली जनबोलीमा ढालेका थिए। रामायणलगायत प्रश्नोत्तर, भक्तमाला वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उनी आशुकवि पनि थिए। जहाँ जुन प्रसंग आउँछ, तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो।

उनको निधन १९२५ मा भएको थियो। भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रभातफेरी र प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकविको शालिकमा माल्यार्पण गर्दैछ।  नेपालीभाषीको बहुलता रहेका भारतका विभिन्न भागमा पनि कार्यक्रम गरी भानुभक्त आचार्यको सम्झना गरिँदैछ।

काठमाडौंमा हिमवत्खण्ड कला साहित्य सम्मिलन

भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुँदैछ। काठमाडौंमा ३१ गतेसम्म चल्ने सम्मिलन प्रधानमन्त्री केपी शर्मा अोलीले गर्नेछन्।

सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृतिक कार्यक्रम पनि हुने प्रतिष्ठानका महासचिव डा. देवी नेपालले बताए। तीनदिने कार्यक्रमअन्तर्गत शुक्रबार चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ। समारोहमा  विश्वभरका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, सहभागी हुने महासचिव नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.