|

काठमाडौं : लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानहरूमा बज्दै आएको ‘गाउँ गाउँबाट उठ’ गीत अब नेपथ्य ब्याण्डको म्युजिक भिडियोका रूपमा तयार भएको छ।

श्याम तमोटले लेखेको ‘संकल्प गीत’का रूपमा लोकप्रिय यस सिर्जनालाई यो ब्याण्डले एक दशकभन्दा अघिदेखि उसका हरेकजसो कन्सर्टहरूमा प्रस्तुत गर्दै आएको छ। वामपन्थी विचारधाराबाट प्रभावित भई कुनै समय रामेश र मन्जुलले सुरु गरेको मुलुकव्यापी सांगीतिक जागरणको महत्त्वपूर्ण सिर्जनाका रूपमा रहेको यस गीतलाई धेरैले धेरै भाषामा प्रस्तुत गर्दै आएका छन्।

विशेषगरी तीस वर्षे पञ्चायतकालमा यस गीतले सांकेतिक रूपबाट सन्देश प्रवाह गर्दै जनताको हक अधिकारका निम्ति भएका आन्दोलनलाई मलजल गरेको थियो। तत्कालीन अवस्थामा रेडियो नेपालले यस गीतलाई प्रतिबन्धित गरेको थियो। तर जनस्तरमा चाहिँ यसको लोकप्रियता चुलिँदै गयो। २०४६ र २०६२ सालका जनआन्दोलनहरूमा यो गीत जताततै बजेको थियो।

पहिलो जनआन्दोलनलगत्तै बनेको फिल्म ‘बलिदान’मा समावेश गर्नका निम्ति यसको व्यवस्थित रेकर्ड भएको थियो। त्यो सिनेमा पञ्चायतकालमा प्रजातन्त्रका निम्ति लड्नेहरूमाथि आधारित थियो।

पछिल्लो समय भने यस गीतलाई नेपथ्यले रेकर्ड गरेको छ र ब्याण्डले आइट्युन, गुगल प्ले र स्पोटिफाइ जस्ता ‘भर्चुअल स्टोर’हरूका माध्यमबाट यो गीत सार्वजनिक गरेको छ। हालसम्म नाम नजुरेको नेपथ्यको दशौँ एल्बममा यो गीत समेटिएर आउने बताइएको छ।

यो म्युजिक भिडियो तयार पार्नका लागि नेपथ्यले केही समयअघि गरेको नेपाल भ्रमणका क्रममा आयोजित कन्सर्टहरूका दृश्यहरूलाई एकापसमा जोड्ने काम गरिएको छ। भिडियोमा यो गीत गाइरहेका बेला मुलुकभित्र र बाहिरका बेग्लाबेग्लै दर्शक जमातको उत्साह र उमंग पनि देख्न सकिनेछ।

‘नेपथ्यले यस गीतलाई आफ्नो बनाएर शान्ति र शिक्षा अभियानमा प्रयोग गरेको देख्दा म असाध्यै प्रभावित भएको छु’, गीतकार श्याम तमोट भन्छन्, ‘उनीहरूको संगीत प्रस्तुत गर्ने मौलिक तरिकाले यो गीतलाई अझ फराकिलो श्रोताको घेरामा पुग्न मद्दत गरेको छ।’

‘यो गीतले बोकेको ऊर्जा र भावना प्रस्तुत गर्नका निम्ति लाइभ कन्सर्टहरूका दृश्य नै शक्तिशाली हुन्छन् भन्ने लागेकाले भिडियो तयार पार्नका निम्ति बेग्लाबेग्लै स्थानका रेकर्डहरूलाई एक ठाउँमा समेटेका छौँ’, नेपथ्यको प्रवर्द्धक तथा प्रस्तोता नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस भिडियोमा मुलुकभित्र र कतिपय स्थानमा विदेशका समेत कन्सर्टहरूको दृश्य समेटिएको छ।’

भर्खरै तयार पारिएको यो म्युजिक भिडियोलाई नेपथ्यको आधिकारिक यु ट्युब च्यानल www.youtube.com/nepathyaofficial मा यो लिंक https://youtu.be/BliMnFmWaBw बाट हेर्न सकिन्छ।

हेर्नुहोस् भिडियो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.