|

सुनसरी : काठमाडाैं उपत्यकाका टिपर आतंकको समचार आइरहेका बेला पूर्वमा पनि टिपर आतंक मच्चाएको पाइएको छ। पूर्वमा टिपरले गर्दा भएका २५ दुर्घटनामा १५ को मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाकारी दिएकाे छ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याक हेर्दा ढुंगा गिट्टी बाेक्ने टिपर बढी दुर्घटनामा पर्ने गरेको पाइएको छ। गत आर्थिक वर्षमा २५ वटा टिपर दुर्घटना हुँदा १५ जना सडक यात्रुको मृत्यु भएको हो। गत आर्थिक वर्षमा झापामा धेरै टिपर दुर्घटना भएको रेकर्ड ट्राफिकको ढड्डामा छ। झापामा मात्र ९ वटा टिपरले एक वर्षमा ९ जनाको ज्यान लिएको छ। कमिसनको लोभमा धेरे पटक ढुंगा गिट्टी वोक्न तीब्र गतिमा चलाएका कारण पनि बढी दुर्घटना भइरहेको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ। राज्यको कानुनलाई समेत बेवस्ता गर्दै हाइवेमा तीब्र गतिमा हुइकिने टिपर धेरैको ज्यान लिएको प्रहरीको तथ्यांकमा उल्लेख छ। 

यी हुन् ज्यान गुमाउने

झापामा धेरै टिपर दुर्घटना भएको जनाएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले झापामा २०७४ कार्तिक २२ गते टिपरको ठक्करबाट इन्द्रप्रसाद योङहाङको ज्यान गयो। यस्तै २०७४ साल पुसमा लाक्पा लामाको टिपरकै कारणले मृत्यु भएको ट्राफिक तथ्यांकमा उल्लेख छ। त्यस्तै झापामै २०७४ माघ ३ गते गौरभ ताजपुरीया, २०७४ चैत्र १ गते सन्तोष थापा, माघ १४ गते कुलदिप, २०७४ चैत्र १५ गते संदिप यादवको टिपरकै कारण ज्यान गयो। त्यस्तै २०७५ बैशाख ११ गते झापाकै सुबोध परियार, २०७५ असार १० गते झापाकै लक्ष्मण खतिवडा र २०७५ असार १८ गते झापाकै विवेक बराल र नेसनल भण्डारीको टिपरकै ठक्करले मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीको रेकर्डमा छ। त्यस्तै मोरङमा २०७४ कार्तिक २० गते ज्योतिकुमारी यादव र मोरङमै २०७४ मंसिर १६ गते मुकुन्द्र सुबेदीको टिपरको ठक्करले मृत्यु भयो।

सिराहमा २०७४ साल पुल २३ गते अबदुल खानको टिपर दुर्घटनामा मृत्यु भयो। २०७४ माघ १३ गते ओखलढुङ्गामा टिपरले बिहार सिंह तामाङलाई ठक्टर दिएर मृत्यु भयो भने २०७४ माघमै सुनसरीका संजु आलेमगरको पनि टिपरको ठक्करकै कारण ज्यान गुमाउँनु परेको प्रहरीको तत्थ्यांकमा उल्लेख छ। 

यसो भन्छन् सरोकारवालाहरू

पूर्वाअञ्चल टिपर व्यावसायी संघका महासचिव शिव पोखरेल सडकका कारण दुर्घटना बढेको दाबी गर्छन्। टिपर दुर्घटना हुनु बाटो घाटोको समस्याले पनि हो उनले भने। उक्त संघमा ४०० टिपर आबद्ध भएको भन्दै उनी टिपर दुर्घटनामा मृत्यु धेरै भइरहेको स्वीकार गर्छन्। सडकमा गुड्ने अन्य सवारीलाई कसरी हिड्नुपर्छ भन्ने ज्ञान पनि छैन। त्यस कारण पनि सडकमा दुर्घटना बढ्दै गएको पोखरेलको दाबी छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रमुख राजकुमार लम्सालले टिपर चालकहरू सानो उमेरका भएका कारण पनि दुर्घटना बढेको बताए। प्राय राम्रो चालक विदेश जान्छन् अहिले टिनेजरहरूले चलाएका सवारी धेरै दुर्घटनामा परेको उनी बताउँछन्।

टिपरले धेरै मोटरसाइकल चालकलाई ठक्कर दिइरहेको उनको भनाई छ। 'सडक साँघुरो छ खाल्डाखुल्डी छ सडक सुधारको साटो दिनानुदिन बिग्रँदो अवस्थामा त्यो पनि दुर्घटनाको कारण हो' एसपी लम्सालले भने। सवारी चालकको लापरवाहीले धेरै दुर्घटना हुँदै आएको भन्दै अहिले कडाई गर्ने थालिएको उनले जनकारी दिए। 

यस्तो छ दुर्घटनाको कारण

निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिन पाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने ’खतरनाक’ सवारी बनेका छन्। टिपरहरू जति खेप ओसारर्‍याे त्यति बढी कमाउँछन्। आम्दानीको लोभमा एकै दिन बढी टिप भ्याउन खोज्छन्। कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन थालेका छन्। टिपर चालकले प्रति खेप ५०० देखि १ हजार ५०० रुपैयाँसम्म भत्ता पाउँछन्।

दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ। यस्तो व्यवसायी र चालकका होडबाजीले टिपरको गति बढेको एक टिपर व्यवसायी नाम नभन्ने सर्तमा भन्छन्। टिपरको बढी शिकार मोटरसाइकल, स्कुटर, साइकल चालक तथा पैदलयात्रु भइरहेका छन्। यस्ता सवारी टिपरको आवाजले नै हड्बडाउँछन्। साना सवारीलाई पेल्ने प्रवृत्ति उत्तिकै छ। महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन्। यसले गर्दा पनि दुर्घटना बढेको छ।

टिपर सिकारुले समेत चलाउनाले पनि दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाई छ। जथाभावी चलाउने, ओभरटेक गर्ने गर्दा पनि टिपरले साना सवारी साधनलाई पटक-पटक ठक्कर दिने गरेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.