|

चितवन : चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्वले विपदका बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएका छन्। अघिल्लो वर्ष बाढीले वन्यजन्तु बगाएर भारत पुर्‍याएकाले यस्ता विपदबाट हुने क्षति न्यूनीकरणका लागि समन्वयलाई चुस्त पार्ने सहमति भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।

 केही दिन अघि चितवन निकुञ्ज र वाल्मीकि टाईगर रिजर्बका अधिकारीहरु बीचमा समन्वय बैठक बसेर यस्तो निष्कर्ष निकालिएको ढकालले जानकारी दिए। अहिले वाल्मीकि टाइगर रिजर्बले हात्तीसारको संख्या समेत बढाएकाले गैंडा लगायत वन्यजन्तुको उद्धारमा अझै सक्रिय भएर लाग्ने जानकारी गराएको उनले बताए। चितवन निकुञ्ज र भारतको वाल्मीकि टाईगर रिजर्व वाल्मीकि आश्रम क्षेत्रमा जोडिएको छ।

चितवन निकुञ्जका प्रमुख ढकालसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल तथा तराई भूपरिधि कार्यक्रम(ताल)का प्रतिनिधि र भारतको वाल्मीकि टाइगर रिजर्बका निर्देशक चन्द्रशेखर लगायतका सुरक्षा र संरक्षण अधिकृत सहभागी बैठकले यस्तो सहमति गरेको हो। 

'वन्यजन्तुहरु जोखिममा परे भने तत्कालै खबर गर्ने, सुरक्षा प्रदान गर्ने र उद्धारमा समन्वय गर्ने भन्ने छ, ढकालले भने, विपदमा हुने क्षति न्यूनीकरणका लागि यो महत्त्वपूर्ण प्रयास भन्ने ठानेका छौँ।' 

गतवर्ष साउन २८ र २९ गते चितवनमा भीषण बाढी आउँदा दर्जनौं वन्यजन्तु मरेका थिए। बाढीले बगाएर भारत र सीमा आसपास पुर्‍याएको १० वटा गैंडालाई चितवन निकुञ्जले उद्धार गरेर ल्याएको थियो। अहिले पनि यस्तो विपद निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर विपदमा वन्यजन्तु जोखिम न्यूनीकरणका लागि समन्वय गर्न थालिएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.