|

बर्दिया : जिल्ला समन्वय समिति बर्दियाका पदाधिकारीहरूको ११ महिनाको सेवासुविधाबापतको रकम निकासा भएको दुर्इ घन्टा ४८ मिनेटमै फ्रिज भएको छ। जिल्ला समन्वय समितिका प्रमुखको मासिक ४१ हजार रुपैयाँ, उपप्रमुखको मासिक ३६ हजार रुपैयाँ र सदस्यहरू (सात जना)को मासिक १६ हजार रुपैयाँका दरले पाउनु पर्ने ११ महिनाको जम्मा रकम २० लाख ७९ हजार रुपैयाँ फ्रिज भएको हो।

आर्थिक वर्षको अन्तिम दिन असार ३२ गते राति नौ बजेर १२ मिनेटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालय बर्दियामा निकासा पठाएकोमा सोहि दिन राति ठीक १२ बजे खाता बन्द हुने भएको हुँदा उक्त रकम भुक्तानी नभई फ्रिज भएको हो।

बर्दियालगायत प्रदेश-५ का छवटा जिल्ला दाङ, बाँके, रोल्पा, प्यूठान र पूर्वी नवलपरासीका जिससका पदाधिकारीहरू उक्त सेवासुविधा पाउनबाट बञ्चित भएको जिल्ला समन्वय समितिका उपप्रमुख मानबहादुर बिष्टले बताए। उपप्रमुख बिष्टले जिससका पदाधिकारीहरूले प्रदेश सरकारबाट निर्धारित ऐनअनुसारको सेवासुविधा पाउनु पर्ने भएता पनि कर्मचारीहरूको लापर्वाहीका कारणबाट बञ्चित भएको बताए।

'जिल्ला समन्वय समितिको कोषमा स्थानीय श्रोतबाट प्राप्त करोडौँ रुपैयाँ जम्मा भएता पनि उक्त खाता सरकारले बन्द गरेकोले खर्च गर्न पाइदैन, मन्त्रालयले समयमा निकाशा नगरिदिँदा जनप्रतिनिधिहरू मर्कामा परेका छन्', उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.