|

सुनसरी : धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शनिबार अपरान्ह दाहसंस्कार गरिँदै छ। त्यसभन्दा अगाडि स्वर्गीय सुब्बाको शवयात्रा निकालिने भएको छ। काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्प्तालमा गत साउन १ गते ५२ वर्षीय प्रमुख सुब्बाको निधन भएको थियो।

नगर प्रमुख सुब्बाका पार्थीव शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। उनको पार्थीव शरीर शनिबार बिहान साढे ११ बजेपछि नगरवासीको सामूहिक श्रदाञ्जलीका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा राखिएको छ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थीव शरीर पब्लिक स्कूलको खेल मैदानमा राखिएको बताए। त्यसपछि धरान उपमहानगरको मुख्यमुख्य स्थानमा शवयात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्पराअनुसार अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने प्रमुख प्रशाकीय अधिकृत घिमिरेले जानकारी दिए।

उनको अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कारका लागि सरकारका तर्फबाट उप–प्रधानमन्त्री र्इश्वर पोख्रेल, प्रदेश-१ का मुख्यमन्त्री शेरधन रार्इसहित अन्य नेताहरूको समेत सहभागिता रहेको  छ। उनको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार हुने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन्।

स्व. सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित थिए। पछिल्लो समयमा नगर प्रमुखमा निर्वाचित भएपछि कामको अधिक चापले उनको स्वास्थ्यमा प्रतिकुल प्रभाव बढेको र अधिक धपेडीकै कारणले उनको शरीरमा रोगको सङ्क्रमणको चाप थपिएको बताइएको छ। उनको निधनपछि अब धरान उपमहानगरपालिकामा प्रमुखविहीन बन्न पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.