|

जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ मा प्रदेश प्रहरी ऐन बनाएर लागू गराउन खोज्नु संघीय प्रहरी ऐनविरुद्ध भएको बताएका छन्। गृहमन्त्री  थापाले संघीय प्रहरी ऐन पारित नै नभई प्रदेशले प्रहरी ऐन  ल्याउनु वा संसदमा दर्ता गराउनु संघीय सरकार र प्रहरी ऐनविरुद्ध भएको बताएका हुन्। 

सर्लाहीको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने क्रममा जनकपुरधाम एयरपोर्टमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा र सुशासनलाई सरकारले कार्ययोजना बनाएर कार्यान्वयन गर्नेतर्फ अग्रसर भएको बताए। उनले सरकार र गृहमन्त्रालयको पहिलो प्राथमिकता भनेकै देशमा अमन, चयन र शान्तिलाई पूर्णता दिने भएकोेले विगतमा भएका नराम्रा काम गर्नेहरुलाई पनि नछोडिने स्पष्ट पारे। 

लामो समयपछि दुई ठूला कम्युनिष्ट पार्टीहरूको एकीकरणले जनतामा विकास र समृद्धिको आशा पलाएको बताउँदै गृहमन्त्री थापाले भने, ‘सरकारको प्रमुख प्राथमिकता भनेको भ्रष्टाचारलाई नियन्त्रण र अपराधमा शून्य सहनशिलताको अवधारणा अनुसार सरकार अगाडि बढ्दैछ। वर्षौदेखि रोकिएको विकास निर्माणका कामहरु संचालन गर्नेदेखि लिएर सिण्डिकेटको अन्त्य गर्दै यातायातालाई व्यवस्थित बनाउने सरकार प्रतिबद्ध रहेको छ।’ देश विकास र समृद्धितर्फ अग्रसर रहेको समयमा केही राजनीतिक दलले अस्थिरता पैदा गर्न खोजेको षडयन्त्र गर्न थालेको बताए। उनले डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर भएको र छिट्टै चिकित्सा शिक्षा विधेयक संघीय संसदमा पेश गर्न लागेको समेत जानकारी गराए। 

धनुषाको जटही नाकामा नेपालको भूमि प्रयोग गरेर भारतीय पक्षले निर्माणको गरेको बाँध बारे पत्रकारहरूको जिज्ञासामा गृहमन्त्री थापाले मोदीको नेपाल भ्रमणको क्रममा भारतीय प्रधनमन्त्री नरेन्द्र मोदी र नेपाल सरकारबीच नेपाल-भारतबीच भएको सन्धि सम्झौताहरू पुनरावलोकनका लागि सहमति भइसकेको र पुनरावलोकन पश्चात धैरै समस्या समाधान भएर जाने दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.