उठ्यो १६ लाख राजस्व

|

गोरखा : आर्थिक वर्ष २०७४/०७५ मा ७७ हजार भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन्। नेपाल एकीकरण उद्गम थलोको रुपमा रहेको गोरखामा ऐतिहासिक विषयमा अध्ययन गर्न आउने पर्यटकको संख्या ७७ हजार भन्दा धेरै पुगेको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए। 

‘गोरखा र नेपालको ऐतिहासिक विषयमा अध्ययन गर्नेहरू गोरखा आउने गर्छन्’ उनले भने ‘संग्रहालयको बनोट, यहाँ भएका विषयबस्तु, शाह वंशको इतिहास, नेपाल एकीकरण लगायतको बारेमा अध्ययन गर्नुपर्ने भएकोले विशेष गरी विद्यार्थीहरू यहाँ घुम्न आउँछन्। संग्रहालयले गोरखा जिल्लाका विभिन्न जातजातिका भेषभूषा र धर्म संस्कृति झल्कने ग्यालरीहरू राखेको छ।’ 

अधिकारीले यस वर्ष राजस्वमा समेत बृद्धि भएको जानकारी दिए। ‘यो वर्ष जम्मा ७७ हजार ७५३ जना मान्छेले गोरखा संग्रहालयको अवलोकन गरे’ उनले भने ‘उनीहरूबाट १६ लाख ३२ हजार ६४५ रुपैयाँ राजस्व उठ्यो। हामी कहाँ आउने विद्यार्थीहरू दुई थरीका छन्। एकथरी म्यूजियम कार्ड भएकाहरू र अर्काथरि नयाँ विद्यार्थी जोसँग म्यूजियम कार्ड नभएकाहरू। यी मध्ये ३३ हजार ३३३ जना टिकेट काटेर आए भने र म्यूजियम कार्ड भएका विद्यार्थीहरू र दुई हजार ९०० जना आए।’

संग्रहालयले म्यूजियम कार्ड बनाउन ३० रुपैयाँ लिने गरेको छ। उक्त कार्ड एक पटक बनाए पुग्छ। त्यस्तै विद्यार्थी बाहेकका अन्य आन्तरिक पर्यटकहरू ३९ हजार ८९३ जनाले गोरखा संग्रहालय अवलोकन गरेको संग्रहालयले जनाएको छ। त्यस्तै सार्क मुलुकका ७६ जना र अन्य विभिन्न देशका विदेशी पर्यटकहरू एक हजार ५५१ जनाले संग्रहालय अवलोकन गरे।

संग्रहालयको राजस्वमा विभिन्न कोशेली घरहरूको भाडा समेत जोडिएको प्रमुख अधिकारीले जानकारी दिए। उनले संग्रहालय घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा सात प्रतिशत र राजस्वमा १२ प्रतिशत बृद्धि भएको बताए। गोरखा संग्रहालयमा पार्क समेत भएकोले अवलोकनका साथै घुम्न र मनोरञ्जनलीन पर्यटकहरू आउने उनले बताए।

गोरखा संग्रहालयमा पर्यटकहरूको संख्या बढाउन पुरातत्व विभागसँगको सहकार्यमा संग्रहालयले गोरखाका विभिन्न जातजाति, धर्म र भेषभुषा झल्कने खालका डमीहरू समेत राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.