|

काठमाडौं : कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मंगलबार दिउँसो राजीनामा दिएका छन्। सार्वजनिक समारोहमा दिएको अभिव्यक्तिबाट महिलाहरू अपमानित भएको भन्दै  चौतर्फि आलोचना भएपछि मन्त्री तामाङले प्रधानमन्त्री केपी शर्मा अोलीको निर्देशन मानेर राजीनामा दिएका हुन्।

मन्त्री तामाङले राजीनामा दिँदै आफू सधैं नेपाली नारीप्रति सम्मान गर्ने गरे पनि त्यही विषयबाट लखेटिनु पर्दा चित्त दुखेको भन्दै पत्रकार सम्मेलनमै आँशु झारेका थिए । उनले महिलाकै सन्दर्भमा बोलेका विषयले नेपाल कम्युनिस्ट पार्टी, नेपाल सरकार र आम जनतालाई दुखी बनाएकोमा क्षोभ समेत प्रकट गरे ।

'म नेपाली नारीप्रति अत्यन्तै सम्मान गर्छु। म कोही पनि महिला हिंसामा नपरुन् भन्ने गर्छु। त्यो अनुसार कानुनहरू बनाउन तत्पर रहन्छु। तर कहिलेकाँही त्यै विषयले लखेट्ने दिन पनि आउने रहेछ', तामाङले भने, 'म निरन्तर नारी अस्मिताको सम्मान गरेर लामो समयदेखि नेपाली महिलाको हक र अधिकारका लागि लड्दै आएको व्यक्ति हुँ। आज महिलाको बिषयमा निरन्तर काम गर्ने क्रममा त्यही विषयले मलार्इ लखेट्यो। यो विषय यस्तो ढंगले आयो की मेरो पार्टी, सरकार, नेपाली जनता दुखी हुने अवस्था आयो।'

पत्रकार सम्मेलनमा उनी पत्नी एवं प्रदेश सांसद उषाकला राईसहित उपस्थित भएका थिए।

उनले आफू अलिक भावुक व्यक्तिसमेत भएको भन्दै राजीनामा घोषणा गर्दै गर्दा उनका आँखाबाट आँशु झरे। 'म अलिअलि भावुक मान्छे पनि हुँ। मैले सधैंभरी जनताको हितमा काम गरे। म सदैव जनताको पक्षमा काम गर्छु र म कहिल्यै पनि हानी गर्ने काम गर्दिन। यति धेरै साथीहरूले चासो व्यक्त गरेर सहभागी हुनुभएकोमा मलार्इ खुसी लागेको छ', उनले भने।

तामाङले आफूप्रति लक्षित भएर आएका टिप्पणीलार्इ समेत सकारात्मक रूपमा लिएको भन्दै मिडियामा आएका समाचारहरू सकारात्मक नै भएको भन्दै धन्यवाद समेत दिए। तामाङले मन्त्रालयमा राजीनामा दिएको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा पत्र बुझाउन पुगेका छन्।

मन्त्री तामाङले एक कार्यक्रममा नेपाली छात्राहरू एमबीबीएस एवं स्वास्थ्य शिक्षा हाँसिल गर्न बंगलादेश जाने र त्यहाँ उनीहरूले सर्टिफिकेट प्राप्त गर्न अस्मिता बेच्नु पर्ने बताएका थिए। काठमाडौंको एक निजी विद्यालयको कार्यक्रममा तामाङले उक्त अभिव्यक्ति दिएका हुन्। उनको विवादित अभिव्यक्ति प्रति सामाजिक संजाल, राजनीतिक वृत्तमा व्यापक आलोचना भएको थियो।

उनको अभिव्यक्तिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नै विवादित हुने देखिएपछि प्रधानमन्त्री ओलीले उनलार्इ राजीनामा दिन निर्देशन दिएका थिए। सोही निर्देशन अनुसार तामाङले राजीनामा दिएका हुन्।

हेर्नुहोस् मन्त्री तामाङले राजीनामा दिँदै गरेको भिडियोः

पढ्नुहोस्: 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.