|

पाल्पा : जिल्लाको तानसेन नगरपालिकामा सूर्तीजन्य पदार्थको बुधबार अनुगमन गरिएको छ। स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र पाल्पाको संयोजन र तानसेन नगसपालिकाको सहयोगमा अनुगमन गरिएको हो।

तानसेन–६ लामीडाँडा र ७ को बाँसटारी र प्रभासमा रहेका होटल तथा पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा नियमविपरीत खुल्ला रूपमा चुरोट, सूर्ती र भोला जस्ता सूर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको पाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका नायव सुब्बा लक्ष्मण घिमिरेले बताए। उनका अनुसार नियमविपरीत बिक्री गर्न राखिएका झण्डै २० हजार बराबरको सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिइएको छ। उनले भने 'नियन्त्रणमा लिएका सूर्तीजन्य पदार्थ सम्बन्धित ठाउँमै जलाएर नष्ट गरिएको छ।'

प्रभासमेडिकल कलेज परिसरमा समेत खुल्ला रूपमा चुरोट र भोला बिक्री गरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए। यस्तो सयौँ मान्छे बिरामी परेर आउने अस्पतालकै नजिक नियमविपरीत सूर्तीजन्य पदार्थको कारोबार हुनु दुखद भएको बताए।

'अहिले सांकेतिक रूपमा अनुगमनका क्रममा फेला परेका सूर्तीजन्य पदार्थ नष्ट गरियो' उनले भने 'अब निरन्तर रूपमा अनुगमनलाई प्रभाकारी बनाई यस्तो कार्यको नियन्त्रणमा लाग्ने छौं।' स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्रका प्रबन्ध निर्देशक रामबहादुर राउतले नियमले बन्देज लगाएको सूर्तीजन्य पदार्थ मनपरी बिक्री गरिनुले मानव स्वास्थ्यमा खेलवाड भएको भएको बताए।

उनले भने 'जनस्तरमा अझै पनि चेतनाको कमी हुनु र व्यपारीले लापरबाही तरिकाले यस्ता पदार्थ बिक्री वितरण गर्नाले यसलाई नियन्त्रण गर्नेतर्फ सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्छ।' नगरभित्रै हुने यस्ता गतिविधिलाई रोक्नको लागि प्रभावकारी अनुगमन आवश्यक रहेको उनले बताए।

'नेपाल सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न ऐन, नियम तथा निर्देशिका– २०६८ कार्यान्वयन गरिसकेको अवस्थामा ऐन नियमको अलिकति पनि प्रभाव नपर्नु गम्भीर अवस्था हो' उनले थपे 'यसको कार्यान्वयनलाई सन्देश दिनको लागि मुख्य बजारमा कडा अनुगमन गर्नुपर्छ।'

राज्यले निरीक्षण वा अनुगमनका क्रममा नियम पालना गरेको नपाइएमा कानुन बमोजिम कारबाही गर्ने बताइरहेको छ। नियममा भनिएको छ सार्वजनिक स्थलहरूमा सूर्तीजन्य पदार्थ (चुरोट, बिडी, खैनी, सूर्ती, गुटखा, तमाखु, सुल्फा, कक्कड) लगायत बिक्रीवितरण तथा सेवन गर्न पाइदैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.