|

दाङ : यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरका प्रमुख मित्रलाल ढकालको कार्यकक्षमा रहेको टेलिफोनमा आइतबार ४ बजेसम्म लगातार सेवाग्राहीको फोन आइरहेको थियो। फोनबाट सेवाग्राहीको एउटा मात्रै प्रश्न हुन्थ्यो- ‘लाइसेन्स कहिलेसम्म खुल्छ?’ 

यातायात प्रमुखको जवाफ हुन्थ्यो- ‘लाइसेन्स त आज दिउँसो नै सकियो।' त्यसपछि सेवाग्राहीको प्रतिप्रश्न हुन्थ्याे- ‘एक हप्तासम्म हुन्न र म्याद?' प्रमुखको जवाफ दिए- ‘होइन, पहिले जस्तो लाइन लाग्नुपर्दैैन। अहिले अनलाइनबाट हुन्छ। त्यसैले एक दिनमै अनलाइनबाट सकिन्छ। पहिले जस्तो एक हप्ता म्याद हुने भन्ने हुन्न।’ यसरी मिनेट मिनेटमा कार्यालय प्रमुखलाई आइरहने फोनले उनलाई भ्याई नभ्याई थियो। यसले अझै पनि धेरै लाइसेन्स आवेदन खोल्न जरुरी छ भन्ने प्रष्ट रहेको कार्यालय प्रमुख ढकालले बताए। 

‘२४ घण्टामै आवेदन पूरा भए। अहिले पनि धेरै जनाले कार्यालयमा फोन गरिरहेका छन्’, उनले भने, ‘यसले अझै  पनि धेरै आवेदन खोल्न जरुरी छ भन्ने प्रष्ट छ।’ अनलाइन प्रणाली सुरु भएपछि अहिले फाराम भर्ने प्रणाली पनि फरक भएको छ। महिनामा एक पटक मात्रै खुल्ने गर्छ। त्यसमा पनि हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार ३०० का दरले लाइसेन्स खुल्ने गर्छ। त्यसले महिनामा पाँच हजार बढी लाइसेन्सको आवदेन खुला हुन्छ तर त्यो आवेदन अनलाइनबाट एक दिनमै पूरा हुन्छन्। यातायात व्यवस्था कार्यालय राप्तीमा एक दिनमै आवेदन पूरा भयो।' 

शनिबार दिउँसो १२ बजेदेखि खुलेको मोटरसाइकल, स्कुटर, जीप, कारको लाइसेन्सको आवदेन आइतबार दिउँसो १ बजे नै सकिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख मित्रलाल ढकालले बताए। अनलाइन प्रणाली सुरु भएपछि पहिले जस्तो लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए। ‘अनलाइन प्रणाली सुरु भएपछि आवेदन दिन सजिलो भएको छ’, उनले भने, ‘पहिले जस्तो लाइन लाग्नुपर्दैन।’ अनलाइन प्रणाली विगतमा फर्म भर्नकै लागि तीन-चार घण्टा लाइन लाग्नुपर्थ्याे तर अहिले त्यो समस्या टरेको उनले बताए। सवारी चालक धेरै भएको तर थोरै मात्रामा लाइसेन्स खुल्ने गर्दा पनि लाइसेन्सका लागि सवारी चालकले प्रतीक्षा गरिहेको उनले बताए। 

‘पाँच हजारदेखि छ हजारसम्म लाइसेन्सको आवेदन खुलेको थियो तर त्यो एक दिनमै  पूरा भयो’, उनले भने, ‘यसले के प्रष्ट हुन्छ भने लाइसेन्स लिन सवारी चालकको व्यग्र प्रतीक्षा छ।’ यस पटक कारको प्रतिदिन ५०, जीप ५० र मोटरसाइकल २०० का दरले आवेदन खुला भएको उनले बताए।

अनलाइन प्रणालीबाट आवेदन दिइसकेपछि अब सेवाग्राहीले अनलाइनले दिएको सूचनाका आधारमा फोटो, डिजिटल हस्ताक्षर र औँठाछाप कार्यालयमा बुझाउनुपर्छ। शनिबारदेखि यातायात व्यवस्था विभागले देशभरकै यातायात कार्यालयबाट लाइसेन्सको आवेदन खुला गरेको थियो। त्यस्तै, कार्यालयबाट गत आर्थिक वर्ष २०७४/०७५ मा सात हजार ८९१ जनालाई लाइसेन्स वितरण गरेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.