|

काठमाडौं : एमबिबिएस अन्तिम वर्ष पढ्दै गरेका विशद दाहाल अहिले परीक्षाका लागि पढाइमा व्यस्त छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पढिरहेका उनी यस पटक अलिक बढी चर्चाका पात्र बने। डा. गोविन्द केसीको सत्याग्रहलाई उनले यस पटक नजिकबाट नियाल्ने मौका पाए। केसीको २७ दिनको अनसनमा पूर्ण रूपले साथ दिन उनीसहित अर्का एमबिबीएस विधार्थी नारायण कँडेलले जुम्लासम्मको यात्रा गरे। डा. केसीको यो २७ दिनको अनसनका दौरान दाहालको कस्तो अनुभव रह्यो त? उनी भन्छन्, 'मैले जिन्दगीमा नयाँ पाठ सिकेँ, त्यो के भने आस्था र निष्ठाका अगाडि गलत कार्यहरू पराजित हुनेरहेछन्।' 

डा. गोविन्द केसीसँग पन्ध्रौँ चरणको २७ दिनको अनसनपश्चात सरकारले लचक भएर नौ बुँदे सहमति गरेको छ। फलस्वरूप  केसीको अनसन सकिएको छ भने माथेमा आयोगलाई पूर्ण रूपले कार्यान्वयन गर्न सरकार सहमत पनि भएको छ। केसीको २७ दिनको अनसनका बेला करौडौँ नेपाली उनका पक्षमा उभिएको दृश्य सामाजिक संजाल, टेलिभिजनका स्क्रिन, माइतीघर मण्डलालगायत देशका अधिकांश गाउँ र शहरमा जनलहर देख्न पाइन्थ्यो। 

असार १५ गते सरकारले चिकित्सक विधेयक संसदमा पेस गर्न अग्रसर देखाएपछि त्यो विधेयकविरुद्ध अनसन बस्न डा. केसी जुम्ला प्रस्थान गर्दा उनलाई बसपार्कसम्म पुर्‍याउने काम दाहाललगायतका विद्यार्थीहरूले गरेका थिए। 

केसी जुम्ला गएको छ दिनपछि उनलाई साथ दिन दाहाल र कँडेल पनि जुम्ला पुगेका थिए। उनी भन्छन्, 'सरसँग हुँदा हामीलाई यो अभियान सफल तुल्याउन केही हदसम्म सफल हुन्छौँ कि भन्ने लागेर हामी जुम्ला पुग्यौँ।'  

सरकारी उच्च ओहोदामा बस्ने मन्त्रीहरूले केसीको अनसन गलत छ, जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गरेर छोड्छौँ भनेर अभिव्यक्ति दिइरहँदा दाहाललगायतका त्यहाँका कर्मचारीहरूको मनमा लागेको थ्यो- यसपालि सरकारले केसीको मागमाथि धावा बोल्नेछ। केसीको माग तुहिनेछ र उनको मृत्यु हुनेछ। तर केसी आफ्ना मागमा अडिग थिए। दाहाललाई केसीले भनेको सम्झिन्छन्, 'हामी आत्तिएको देख्दा नआत्तिनू सत्याग्रह यस्तै हुन्छ, ढिलो चाँडो सरकारले हाम्रो माग सम्बोधन गर्छ।'

हरेक दिन अखबारका पाना र अनलाइन पोर्टलमा प्रधानमन्त्रीलगायत सरकारका उच्च पदस्थ नेता तथा मन्त्रीहरूको भाषणले आफूहरू आत्तिएको दाहाल बताउँछन्। उनी भन्छन्, 'मैले त कति पटक सरलाई अब सरकारले हाम्रा मागहरू सम्बोधन नगर्ने भयो, फर्कौं पनि भनेको हुँ।' आफ्ना शिक्षकको ज्यान जाने डरले हरेक विधार्थी आत्तिनु स्वाभाविक थियो त्यस बखत।

'यो हाम्रो बाध्यता थियो, बाध्यताका अगाडि सबै कुरा गौण हुन्छन्।' केसीको सत्याग्रहलाई राजनीतिक रङ दिन पनि खोजियो। यो विषयमा दाहालको तर्क छ, 'हाम्रो कुनै संगठन थिएन, न त कुनै कार्यकर्ता नै। बस् हामी त चिकित्सा क्षेत्र सुधार होस् भन्ने चाहन्छौँ। जहाँ जसले जुन रङ दिन खोजेका छन्, त्यो सब आफ्नो राजनीतिक फाइदाका लागि गरिएको खेल मात्र बुझ्नुपर्छ।'

'हामीले  कर्णाली अभाव, अशिक्षा, चेतनाको कमी भएको क्षेत्र भनेर पढ्यौँ तर कर्णाली फरक रहेछ', उनी भन्छन्, 'हामीलाई साथ दिनुहोस् भनेर कुनै आह्वान नगर्दा पनि जाजरकोट, दैलेख, हुम्ला, डोल्पालगायतका जिल्लाका हजारौँ मान्छेहरू केसीका मागहरू सम्बोधन हुनै पर्छ भनेर पक्षमा उभिएको जनलहर देख्दा लाग्थ्यो, हामीले पढेको कर्णाली गलत रहेछ।'

स्थानीयको साथ र सहयोगले आफूहरूमा समेत आत्मविश्वास बढेको बताउँछन् उनी। हरेक बिहानीसँगै सरकारले केही गर्छ भन्दै उनी डा. केसीको अगाडि पुग्थे। डा. केसी उनलाई सम्झाउँथे, 'धैर्य गर्नुहोस्, ढिलो चाँडो सरकारले हाम्रो माग सम्बोधन गर्नुको विकल्प छैन।' भोको शरीर भए पनि केसीको आत्मविश्वास देख्दा छुट्टै उत्प्रेरणा उत्पन्न हुन्थ्यो उनलाई तर सरकारले कुनै पहल नगर्दा सरकारप्रति वितृष्णा जागेको बताउँछन् उनी। 

केसीको आत्मबल र अडिगपन देख्दा उनलाई पनि अलि ऊर्जा आउँथ्यो तर जब सरकारले शक्ति प्रयोग गरेर साउन ३ गते जुम्लाको केसी अनसन बसेको  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बल प्रयोग गर्‍यो, झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरू घाइते बने, तब सरकार त बहिरो र अन्धो दुवै भइसकेछ भन्ने लागेको थियो उनलाई। त्यो दिन सम्झँदै उनले भने, 'मान्छेहरूको चिच्याहट र अश्रु ग्यासको असरले इमर्जेन्सी वार्ड भरिएको थियो। घाइतेको टाउकोबाट रगत बगेको देख्दा म कुनै रणभूमिमा छु भन्ने लागेको थियो।'

शक्ति प्रदर्शनमा उनले पनि लाठी भेटे। अब केसीलाई समेत कुट्छन् भन्ने लागेर उनीलगायतका केही व्यक्ति केसीको नजिक गएर उनको बचाउमा बसेका थिए। केसीलाई भने कुनै लाठी चार्ज नभएको बताउँछन् उनी। अस्पतालभित्रको त्यो चिच्याहट र कारुणिक दृश्य देख्न नसकेर अन्तत: डा. केसी काठमाडौं आउन सहमत भए। दुई दिनपछि उनी काठमाडौं आइपुगे।

काठमाडौं आइपुगेपछि शिक्षण अस्पतालमा धेरै दिन आन्दोलन चल्यो, जसमा दाहालसमेत सामेल थिए। अस्पताल उपचार गर्ने ठाउँ हो कि आन्दोलन गर्ने? भन्ने प्रश्नमा उनी भन्छन्, 'यो हाम्रो बाध्यता थियो, बाध्यताका अगाडि सबै कुरा गौण हुन्छन्।' केसीको सत्याग्रहलाई राजनीतिक रङ दिन पनि खोजियो। यो विषयमा दाहालको तर्क छ, 'हाम्रो कुनै संगठन थिएन, न त कुनै कार्यकर्ता नै। बस् हामी त चिकित्सा क्षेत्र सुधार होस् भन्ने चाहन्छौँ। जहाँ जसले जुन रङ दिन खोजेका छन्, त्यो सब आफ्नो राजनीतिक फाइदाका लागि गरिएको खेल मात्र बुझ्नुपर्छ।'

डा. केसीको सत्याग्रहको २७ दिनपछि सरकारसँग नौ बुँदे सहमति भयो। आखिर केसीको माग त पूरा भयो नि होइन? उनी सन्तुष्टिको मुस्कानसहित भन्छन्, 'यो केसीको मात्र माग होइन, यो त हामी सबै नेपालीको माग हो नि!'  के अब फेरि डा. केसी अनसन बस्ने संभावना देख्नुहुन्छ? भन्ने प्रश्नमा उनी भन्छन्, 'यसअघि पनि सरकारले सहमति गरेर फेरि त्यो सहमति उल्ट्याउने खेल गरेको थियो तर यसपालि पहिलेको जस्तो नौ महिने सरकार नभएको र लामो संघर्षपश्चात् बनेको स्थायी सरकारले अहिलेको सहमति पूर्ण कार्यान्वयन गर्नेमा विश्वस्त छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.