प्री सिजन टुरमा रहेको रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब रियल म्याड्रिड २-१ ले पराजित भएको हो।
अमेरिकाको मियामीमा भएको खेलमा युनाइटेडको जितमा एलेक्सिस सान्चेज र एन्डर हेरेराले गोल गरेका थिए। रियलका लागि करिम बेन्जेमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त रहेन।
१८ औं मिनेटमा सान्चेजको गोलबाट युनाइटेडले अग्रता लियो। २८ औं मिनेटमा हेरेराले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा बेन्जेमाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
दोस्रो हाफमा दुवै टिमले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असफल हुँदा पहिलो हाफको नतिजा नै निर्णायक बन्यो। युनाइटेड यसअघि प्रिमियर लिगको अर्को टोली लिभरपुलसँग ४-१ ले पराजित भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।