|

कञ्चनपुर : न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोड नै दिइएको छ तै पनि कञ्चनपुरको बेदकोट नगरपालिका-४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर(लिङ्गा) क्षेत्रको अवलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ।

सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। माटोका अनौठा आकृतिसँगै सेल्फी लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्। पर्यटकको सुविधाका लागि नगरपालिकाले सेल्फि प्वाइन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्न पुगेको छ।

टाढाबाट लस्करै मन्दिरहरुको सहरजस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेजस्तो देखिन्छ।

ढुंगाले भरिएको पथरिलो सडकमा सवारीसाधन गुडाउँदै यस क्षेत्रको अवलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु  पुग्ने गर्दछन्। प्रकृतिको अनुपम दृश्यलाई क्यामेरा र मोबाइलमा कैद गरी सामाजिक सञ्जालहरूमा राख्ने कार्यले समेत विगत दुई वर्ष यतादेखि हुँदै आएपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको शिक्षक राघव अवस्थीले बताए। ‘यस क्षेत्रमा पुग्दा  प्रकृतिले नै बनाइदिएको कलाकृति हेरेर मन्त्रमुग्ध नहुने कोही छैनन्’ उनले भने।

टाढाबाट दृश्य नियाल्दा ढुंगालाई ठाउँ-ठाउँमा ठिङ्ग उभ्याइदिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको उनले बताए।

यस क्षेत्रले पर्यटकीय क्षेत्रका रूपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाइमा पर्न थालेको छ।  स्थानीय बासिन्दाका अनुसार यहाँ दैनिक दुईवटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुँदै आएको छ।

भगवान् शिवको बास रहेको विश्वास

यस क्षेत्रलाई स्थानीय बासिन्दाले धार्मिक क्षेत्रका रूपमा समेत लिने गरेका छन्। शिवलिङ्गेशवर क्षेत्रका रूपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ। स्थानीय ७७ वर्षीय विरादत्त भट्ट शिवलिंग क्षेत्रमा भगवान् शिवको बास रहेकाले दत्तचित्त रूपले यस क्षेत्रमा पूजा गरे मनले चिताएको पूर्ण हुने बताउछन्।

माटोका विभिन्न आकृति भएका ठाउँ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानीय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान् शिवलाई स्थानीयले घ्यूसँग भात खाने र चढाउने भाकल गरेपछि मात्र पानी नहरमा आउन थालेको र यस क्षेत्रले धार्मिक मान्यता पाएको भट्टले बताए।

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत वर्षाका कारण खिइँदा चुन, कोइला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रूपमा लिएको हो। हाल जति वर्षा भए पनि माटोका मसिना माटोका आकाशतर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानीयको भनाइ छ। यस क्षेत्रमा विसं २०२५ सालदेखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अवस्थामा छन् त्यही अवस्थामा पहिले पनि देखेको बुढापाकाहरु बताउछन्।

नगरको दोस्रो सभा लिंगामै

बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ। लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो। बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिंगाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए। ‘लिंगा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं।’

चुल्लीगाड खोलामा झोलुंगे पुल र लिंगासम्म पक्की सडक पुर्‍याउने नगरपालिकाको योजना छ। लिंगा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ। बेदकोट नगरपालिकाको दैजी चौराहाबाट सडक मार्ग हुँदै धर्मपुर हुँदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.