|

काठमाडौं : डोल्पाबाट प्रतिनिधिसभाको निर्वाचन जितेर सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएका सांसद धनबहादुर बुढा मगरलाई राजीनामा दिन लगाएर बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई चुनाव लडाउने केही सातायता चर्चा चलिरहेको छ। खासगरी नेकपा वृत्तमा यसले चर्चा पाएको छ।

यो हल्लाले भने डोल्पाली युवाहरूमा भने आशंका पैदा भएको छ। निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर पराजित भइसकेका शीर्ष नेता वामदेवलाई चुनाव लडाउने तयारीको हल्ला आएपछि डोल्पाली युवाहरूले पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डोल्पाका युवाहरूले डोल्पाली जनताको भरोसा नटुटोस् र संभावित घटना नहोस् भन्‍नका निम्ति पत्रकार सम्मेलन गरेको बताए।  

पत्रकार सम्मेलनको नेतृत्व गरेका डोल्पाली युवा जीवन शाहीले  संभावित अप्राकृतिक निर्वाचन र घटना नहोस् भन्नका निम्ति पत्रकार सम्मेलन गरिएको स्पष्टोक्ति दिए। 'राजीनामा नहोस्। हुन सक्ने घटना अप्राकृतिक निर्वाचन टरोस्', युवा शाहीले भने, 'डोल्पाली जनताको, डोल्पाली युवाको, सचेत नागरिकको कर्तव्य सम्झेर हामीले सुन्नमा आएको संभावित घटना गलत साबित होस्। निर्वाचित सांसदको राजीनामा नहोस्। नेपाली जनताको भरोसा र आशा नटुटोस् भनेर सचेत गराएका हौँ।'

उनले पत्रकार सम्मेलन कुनै व्यक्ति विशेषप्रति लक्षित नभएको पनि बताए। कुनै नेताको व्यक्तिगत स्वार्थका कारण कोही पनि पीडित हुन नहुने र खासगरी डोल्पाली जनताको सपनामा खेल्न नपाइने उनको भनाइ थियो। 'कोही नेता वा व्यक्ति विशेषको विरोध होइन, देश स्थिरतातिर गइरहेको बेला यस्ताखाले घटना नदोहोरिऊन्। केन्द्रीय नेताको व्यक्तिगत स्वार्थका कारणले अप्राकृतिक क्रियाकलाप नहोस् भन्नका लागि हो', उनले भने।  

निर्वाचित सांसदले डोल्पाली जनताका लागि त्याग गर्न लागेको भन्ने कुरा सुन्नमा आएको भन्दै फेरि चुनाव हुने कुरा डोल्पाली नेतृत्व वर्गको स्वार्थ पनि हुनसक्ने बताए। 'यो उहाँहरूलाई केन्द्रीय नेताको प्रेसर पनि हुन सक्छ। सांसदलाई राजीनामा गर्न लगाएर आफू माथि आउने कुरा पनि हुन सक्छ', शाहीले भने, 'यसमा सबैको स्वार्थ जोडिएको छ। हामी डोल्पामा वामदेव गौतमलाई स्वीकार्ने कुरा मान्न सक्दैनौँ। यो अप्राकृतिक कुरा हुन दिँदैनौँ।' 

यदि यो घटना भएमा नेपाल कम्युनिस्ट पार्टीको इतिहासमा एउटा कालो धब्बाको रूपमा उक्त घटना रहनेसमेत उनले बताए। उनले भने, 'बर्दियाबाट हारिसकेपछि वामदेव गौतमलाई डोल्पाबाट जिताएर ल्यायो भन्ने किसिमको इतिहासमा कालो धब्बा नलागोस् भन्ने हामी चाहन्छौँ।'

अर्का डोल्पाली युवा सुवास चलाउनेले संभावित घटना रोकेर नेतृत्वले डोल्पाली जनताको आशा भरोसाको सम्मान गर्नुपर्ने बताए। 'चुनावमा उहाँ (धनबहादुर बुढा)ले डोल्पाली जनतालाई जुन सपना बाँड्नुभयो, त्यो सपना उहाँले नै पूरा गर्नुपर्छ', उनले भने। 

गएको प्रतिनिधिसभाको निर्वाचनमा देशैभरबाट वाम गठबन्धनले चुनाव जित्दा तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतम भने बर्दिया १ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७५३ मतको अन्तरले पराजित भएका थिए। गौतम पराजित भएपछि पार्टी राजनीति र सरकार संचालनमा असर पुगेको भन्दै डोल्पाबाट निर्वाचित बुढाको राजीनामा गराएर गौतमलाई चुनाव लडाउने तयारी भइरहेका बेला डोल्पाका युवाहरूले पत्रकार सम्मेलनमार्फत् गौतमलाई नस्वीकार्ने चेतावनी दिएका हुन्। डोल्पाबाट निर्वाचित भएर राज्यमन्त्रीसमेत भएका बुढा वामदेव गौतमका निकट मानिन्छन्। 

हेर्नुहोस् विज्ञप्ति :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.