|

गोरखा : जिल्लाको धार्चे गाउँपालिका- ६ स्थित काशीगाउँमा बोक्सी आरोपीलाई पक्राउ गर्न गएका प्रहरी र जनप्रतिनिधिमाथि आक्रमण भएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा स्थानीय आमा-छोरीलाई बोक्सी आरोप लगाएको ठाडो उजुरी परेपछि आरोपीलाई नियन्त्रणमा लिन काशीगाउँ पुग्दा प्रहरीमाथि आक्रमण भएको स्थानीयले जानकारी दिए। 

बोक्सीले स्थानीय भीमकुमार गुरुङलाई बिष खुवाई मारेको भन्दै बोक्सी प्रमाणित गर्न मृतकको शव काट्नेलाई नियन्त्रणमा लिन काशीगाउँ पुगेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका हुन्। मान्बु प्रहरी चौकीबाट शनिबार दिउँसो साढे १ बजे काशीगाउँ पुगेका सात जना प्रहरीमाथि आक्रमण भएको प्रहरी स्रोतले जनाएको छ। आक्रमणमा प्रहरी हवल्दार र एक सिपाही सामान्य घाइते भएका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए। साथै बोक्सी आरोप लगाएर शव काट्नेविरुद्ध प्रहरी कार्यालयमा उजुरी गरेको भन्दै पीडितका आफन्तमाथि पनि कुटपिट गरेका छन्।

बोक्सीको आरोप लगाइएकी पीडित काली गुरुङ, उनकी छोरीहरू मीनकुमारी गुरुङ, सूचना गुरुङ र दिदी मित्रीमाया गुरुङमाथि आक्रमण भएको उजुरी दिन सदरमुकाम आएकी छोरी राममाया गुरुङले जानकारी दिइन्। ‘आमा र बहिनीलाई बोक्सी भन्नेलाई पक्राउ गर्न गएको प्रहरीलाई गाउँलेले कुटे भनेर खबर आएको छ’, राममायाले भनिन्, ‘हामी गाउँ जान भनेर गएको, सबैले नजाऊ, तिमीहरूलाई मार्छन् भन्छन्।’ उनले स्थानीय रोशन गुरुङले प्रहरीकहाँ उजुरी गरे राम्रो नहुने भने धम्की यसभन्दा पहिले नै दिएको बताइन्। उक्त विवाद मिलाउन भनेर छलफल गर्न लागेका स्थानीय जनप्रतिनिधि कान्ते गुरुङ र आशबहादुर घलेलाई समेत स्थानीयले आक्रमण गरेका छन्।

‘पुलिस गाउँ आएपछि सबै जना भेला गरेर छलफल गर्नुपर्‍यो भनेपछि हामीले हरेक घरका एक जनाको दरले मान्छे जम्मा पार्‍यौँ’, आशबहादुरले भने, ‘छलफल सुरु गर्न भनेर मात्रै लागेका थियौँ, हाम्लाई नै लात्तै लात्ताले हाने।’ उक्त घटना भएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा १२ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरीको टोली काशीगाउँ पठाइएको प्रहरी उपरीक्षक विमल बस्नेतले बताए।

बोक्सीको आरोपबारे अनुसन्धान प्रक्रिया नै प्रभावित हुने गरी आक्रमण हुनु दुखद् घटना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको भनाइ छ। ‘सत्यतथ्य के हो अनुसन्धान गर्ने हो। अवरोध भएको छ’, उनले भने, ‘अवरोध नगर्न प्रहरीले सहजीकरण गर्छ। हुँदै भएन भने अराजक हुँदै गए भने प्रहरीले बल प्रयोग गर्न पनि सक्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.