रूख कटानमा समस्या, स्थानीयको अवरोध

|

काठमाडौं : त्रिशूली-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ। नेपालमै पहिलोपल्ट बनाउन लागिएको यस्तो प्रसारण लाइनको काम झन्डै आधार सकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

एक हजार ३०९ मिटर भूमिगत लाइन बनाउनुपर्नेमा हालसम्म ६३० मिटरको काम सकिएको हो। भूमिगत रूपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्। 

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिइएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ।

रूख समस्या

भूमिगत प्रसारण लाइनमा रूख कटानको समस्याले काममा समस्या परेको ठेकेदार कम्पनीले जनाएको छ। रूख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए। ‘स्थानीयलाई मिलाउँछौँ, गृहमन्त्रीसँग कुरा भइसकेकाले कार्यस्थलमा सुरक्षा दिन्छौँ, रूख कटानमा रहेको समस्या समाधान गर्छौं’, अनुगमनको क्रममा मन्त्री पुनले भने, ‘सिभिल संरचना निर्माणको काम तोकिएको मापदण्ड र गुणस्तरमा दुई महिनाभित्रमा जसरी पनि सक्नुपर्छ।’ 

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६८२ वटा रूख काट्न स्वीकृति दिएको थियो। तर अहिले प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नुपर्ने रूखको संख्या घटेर ३३६ वटा पुगेको छ। रूख कटानको स्वीकृतिका लागि फाइल वन विभागमा पुगेगको छ। रूखको संख्या घटेकाले स्वीकृतिका लागि पुन: पेस गर्नुपरेको आयोजनाले जनाएको छ। काट्नुपर्ने रूखमा टाँचा लगाइसकिएको छ। 

स्थानीयको अवरोध

भूमिगत लाइनका लागि सडक खनिएकाले वर्षाको बेला हिलो भएको भन्दै स्थानीयले काममा अवरोध गर्दै आएका छन्। मन्त्री पुनले हिलो बाटोमा ढुंगा-गिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोहीअनुसार गर्न निर्देशन दिएका छन्। 

प्रसारण लाइन तत्कालका लागि ६० मेगावाटको माथिल्लो त्रिशूली 'ए'को विद्युत काठमाडौं ल्याउन निर्माण गरिएको हो। माथिल्लो त्रिशूली 'ए'को निर्माण आगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ। त्यसले पनि प्रसारण लाइन सोही अवधिभित्र बनाइसक्नुपर्ने दबाब छ। ४५ किलोमिटर प्रसारण लाइनका १४० वटा टावरमध्ये १२७ को जग हालिसकिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए। 

प्रसारण लाइन निर्माणमा अहिले २७० श्रमिक परिचालित छन्। यो प्रसारण लाइनबाट त्रिशूली कोरिडोरमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं ल्याउनसमेत प्रयोग गरिने प्राधिकरणले जनाएको छ। प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा बनिरहेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.