|

काठमाडौं : प्रदिप श्रेष्ठ निर्देशित फिल्म 'ब्ल्याक' भदौ १ गतेबाट प्रदर्शनमा आउँदै छ। फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन्। रिलिज मिति नजिकिदै गर्दा निर्माण युनिटले प्रचार प्रसारलाई पनि तिब्र परिरहेको छ।

फिल्म रिलिजलाई लिएर एकदमै उत्साहित रहेको आँचल र आकाश बताउँछन्। 'फिल्मलाई लिएर म एकदमै उत्साहित छु र उत्तिकै नर्भस पनि', आँचल भन्छिन्, 'नयाँ टिमसँग काम गरेको छु। मिहिनेत गरे अनुसारको रिजल्ट आउँछ आउँदैन् भन्ने कुरमा डर पनि छ।'

आकाश पनि राम्रो टिमसँग काम गरेकोले फिल्मबाट आशावादी रहेको बताउँछन्। उनी भन्छन्, 'आँचल शर्मा, निर्देशक प्रदिप श्रेष्ठ जस्तो प्रोफेसनल टिमसँग काम गर्न पाएको छु। मिहिनेत गरे अनुसार सफलता पाउँनेमा विश्वस्त छु।'

डार्क लभस्टोरी फिल्म भएकाले फिल्मको नाम 'ब्ल्याक' राखिएको निर्देशक प्रदिपले बताए। उनले भने, 'यो फिल्ममा समस्या र बेदनाले भरिएको लभस्टोरीलाई प्रस्तुत गरिएको भएकाले यसलाई ब्ल्याक नाम दिइएको हो।'

'जीवन रेखा', 'डर', 'कवज', 'भगवान सबैको'जस्ता फिल्महरु निर्देशन गरिसकेका प्रदिपले यस फिल्ममा केही नयाँ प्रस्तुत गर्न खोजेको बताउँछन्। भन्छन्, 'मैले हरेक फिल्ममा नयाँ नयाँ प्रयोग गर्दै आइरहेको छु। त्यसैले यसमा पनि केही नयाँ पक्कै गरेको छु। फिल्ममा तपाईहरुले भिएफएक्सले अधिकतम प्रयोग देख्न सक्नुहुन्छ।' भिएफएक्स रहरले नभएर फिल्मको स्कृप्ट अनुसार गरिएको उनको तर्क थियो।

फिल्ममा नयाँ कलाकार र पुराना कलाकारहरुको मिश्रण छ। फिल्मको कथा तथा स्कृप्टका आधारमा नै उनीहरुलाई फिल्ममा लिइएको निर्देशक बताउछन्। भन्छन्, 'युवा पुस्तामा लक्षित फिल्म भएकाले आकाश र आँचललाई लिएको थिए। र, पुराना कलाकारहरु पनि फिल्मको कथाले माग गरेकाले लिएको हुँ।' फिल्ममा आयुष रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, सुन्दर श्रेष्ठलगायतको पनि मुख्य भूमिका छ।

निर्माण भएको लामो समय पश्चात फिल्म रिलिजको तयारीमा छ। फिल्मको काम सक्किन लामो समय लागेकाले रिलिज ढिला भएको निर्मात्री आश्मा पण्डेले बताइन्। उनले भनिन्, 'फिल्मको काम नसकिएकाले नै रिलिज ढिला भएको हो। हामी निरन्तर काममा नै थियौं।'

फिल्म व्यापारिक रुपमा पनि सफल हुने विश्वास आश्मामा छ। उनी भन्छिन्, 'पूर्ण रुपमा तयार भएको फिल्म हेर्दा फिल्मबाट एकदमै उत्साहित छु। राम्रो फिल्म बनेको छ। त्यसैले फिल्म सफल हुनेमा विश्वास छ।'

'आश्मा फिल्मस् प्रालि'को व्यानरमा निर्माण भएको फिल्ममा आश्मा पाण्डेको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन्। फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतीक पौडेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन छ। रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.