फिचर

विस्थापित गराउने गीतले नै गरायो स्थापित
SHARES

'नारायण दाइको हौसलाले राष्ट्रव्यापी बन्यो देउडा'

साउन २४, २०७५


    कैलाली :

    जाडी होली पुषका मैनाओडिहाल सल

    दूध खान भनि बिल्लो गयो, उही पड्यो कौल

    बाहुनका धुलौटो छनै, धामीका पगडी

    मुसो उपरखुट्टी हाल्लो, बिल्लोको अगाडि

    सदूरपश्‍चिममा 'देउडा सम्राट'को परिचय बनाएका नरेन्द्रराज रेग्मीलाई यी चार हरफले स्थायी शिक्षकबाट देउडा सर्जक बनाए। गीतबाट परिचित हुने धेरै पात्रहरूमध्येका एक हुन् रेग्मी पनि। तर सर्जक रेग्मी सोही गीतका कारण जिल्लाबाटै विस्थापित हुन पुगेका थिए।  

    २०४२ देखि बझाङको थलारामा रहेको थलारा माध्यमिक विद्यालयमा शिक्षण पेसामा कार्यरत रेग्मीको जन्म २०१६ सालमा बझाङको मालुमेलामा भएको थियो। २०४४ मा आफूले अध्यापन गर्ने विद्यालयबाट विद्यार्थी लिएर एउटा सांस्कृतिक कार्यक्रममा सहभागी भए। कार्यक्रमका प्रमुख अतिथि थिए, बझाङका प्रमुख जिल्ला अधिकारी।

    प्रमुख जिल्ला अधिकारीको क्वार्टरमा दूध पुर्‍याउन जाने एक किशोरीसँग उनको अवैध सम्बन्ध रहेको थियो। सबैलाई यो कुरा थाहा थियो। तर प‌चायतकालको बेला सबैलाई थाहा भएर पनि कोही बोलेनन्। रेग्मीले यही विषयलाई गीत बनाए र गाए।

    उक्त गीतले सिडिओलाई पोल्यो। शिक्षकलाई त्यसै केही भन्न मिलेन। उनले राजाको अपमान गरेको भन्दै रेग्मीमाथि राजद्रोहको मुद्दा चलाए। उनलाई पक्राउ गर्ने चेतावनी दिएपछि रेग्मी सरकारी जागिरसँगै थातथालो पनि छाडेर भागे।

    ३० वर्षपछि त्यो दिन सम्झँदै रेग्मीले भने, ‘सिडिओले नलखेटेको भए आज पनि त्यही ठाउँमै पढाएरै बसेको हुन्थेँ होला।’ गायक रेग्मीलाई लागेको संगीतको नशाले छ वर्षदेखिको सरकारी जागिर छुटायो तर संगीतको साधना भने छुटाउन सकेन।

    सरकारी जागिर छुटेपछि २०४५ सालमा रेडियो नेपालमा स्वर परीक्षाका लागि उनी काठमाडौं गए। स्वर परीक्षामा उत्तीर्ण भए।

    राजनीतिमा व्यंग्य : 'चैर मुसी चैर'

    उनी राजनीतिमा भएका विकृतिलाई पनि गीतको रूपमा प्रस्तुत गर्न थाले। त्यही व्यंग्यात्मक गीतमध्येको एउटा थियो- 'चैर मुसी चैर।'

    चैर मुसी चैर, चैर मुसी चैर

    गोठका भर्‍याङमुनि फुछड लुकाउना छन्

    सिंहदरबारभित्र पसी बजेट मल्काउना छन्

    चैर मुसी चैर

    आजकल मुसा पसिगया अपिस हुने घर

    भन्सार, मालपोत, नापी शाखा वन विभाग र कर

    चैर मुसी चैर

    कल्लेइ ताली बजाएन, कि गट्टो स्वर भयो

    मुसा मार्न बिल्लो पाले, त्यही पनि चोर भयो

    चैर मुसी चैर

    तीन दशक पहिले रेडियो नेपालमा स्वर परीक्षामा उत्तीर्ण भएपछि रेकर्ड गरिएको गीत हो, चैर मुसी चैर। २०४५ सालमा पहिलो पटक ‘खप्तडको सेरोफोरो’ क्यासेट निकाले उनले। उक्त क्यासेटमा यो गीत समावेश छ।

    'त्यो बेला जनतालाई चुसेर सिंहदरबारभित्र रमाउनेलाई व्यंग्य गरेर गीत लेखेँ, अहिले त्यस्ता थुप्रै गीतले बजार पिट्दै छन्।

    पहिलो क्यासेटबाटै रेग्मीलाई ठूलो सफलता मिल्यो। ‘त्यो बेला मेरो एक लाख क्यासेट बिक्री भयो।त्यो समयमा सर्वाधिक बिक्री भएको ‘खप्तडको सेरोफोरो नै हो’, रेग्मीले भने, ‘तीन दशकअघिको गीत अहिले पनि सान्दर्भिक छ। नेता उस्तै छन्, व्यथा उस्तै छ।' यसो भन्दै उनी खित्का छाडेर हाँसे।

    ‘चैर मुसी चैर भन्नाले चर मुसा चर भन्ने बुझिन्छ’, रेग्मीले भने, ‘त्यो बेला जनतालाई चुसेर सिंहदरबारभित्र रमाउनेलाई व्यंग्य गरेर गीत लेखेँ, अहिले त्यस्ता थुप्रै गीतले बजार पिट्दै छन्।’ 

    यही गीतमार्फत् देउडा संगीतको नगरीमा पाइला टेकेका थिए नरेन्द्रराज रेग्मीले। अहिले पनि यो गीत धेरै श्रोताको मन मस्तिष्कमा छ। त्यसै गीतले रेग्मीलाई चर्चित मात्रै बनाएन, रेग्मीको सांगीतिक यात्रामा बलियो जग भएर रह्यो। झण्डै तीन दशक लामो सांगीतिक यात्रामा उनले छ दर्जन क्यासेट सार्वजनिक गरिसकेका छन्। 

    २०५१ सालमा ‘इसा मुसा काइनाई’ भन्दै रेग्मीले गाईजात्रा पनि निकाले। प्रदेश ७ मा गाईजात्रा निकाल्ने उनी नै पहिलो कलाकार हुन्।

    गायिका नपाउने समस्या

    रेग्मीले पहिलो पाँचवटा एल्बम भने एकल स्वरमा गाए। त्यो उनको रहरको कारण थिएन, बाध्यता थियो उनकाे। गायिका नपाएका कारण उनले एकल स्वरमा गीत गाएका थिए। ‘केन्द्रमा रहेका गायिकाहरूले सुदूरपश्चिमको भाषा नबुझ्ने, यहाँ गायिका पाउन मुस्किल’, रेग्मीले भने।

    तत्कालीन समयमा रेग्मीको एकल संघर्ष जारी रह्यो। ‘राम्रो स्वर भएका युवतीलाई भनौँ भने घर भाँडिएला भन्ने डर, नभनौँ भने पाँचवटा एल्बम एक्लै निकालिसकेँ’, रेग्मीले भने। उनले सुदूरमा गायिका नपाएपछि केन्द्रकै गायिकालाई देउडा गाउन लगाएको पनि सुनाए।

    क्यासेट जलाउँदाको पीडा

    'त्यो बेला एल्बम बेचेर खर्च टार्नुपर्ने बाध्यता थियो', रेग्मीले सुनाए, ‘अहिले जस्तो हातहातमा गीत बजाउने अवस्था थिएन। त्यस्तो बेला मेरा १० हजार बढी एल्बम जलाइयो।’ २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंशनास भएको सम्झनामा रेग्मीले गीत बनाएका थिए। घटनाको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हानेर पुल छेउतिर अचेत अवस्थामा लडिबक्सेको थियो।

    तर प्रश्न- आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो?

    रानाभाट आयोगले निकालेको निश्कर्ष जनतालाई स्वीकार्य नहुने भन्दै गीत गाएका रेग्मीको त्यसै वर्ष क्यासेट जालाइयो, गीतमाथि प्रतिबन्ध लगाइयो। त्यो दिन सम्झँदै रेग्मीले भने, ‘मुलुक द्वन्द्वमा थियो, सरकारविरुद्ध कोही चुइँक्क बोल्न सक्ने अवस्था थिएन। म बोलेँ। क्यासेट जलाए। मलाई पनि जलाउँछन् कि भन्ने डर लाग्यो।’

    'नारायण दाइको हौसलाले राष्ट्रव्यापी बन्यो देउडा'

    रेग्मीले राष्ट्रिय कलाकारहरूलाई पनि देउडा गीत गाउन लगाएर देउडाको विस्तृतीकरणमा खेलेको भूमिका सम्झनलायक छ। केही वर्षअघि रामचन्द्र काफ्ले र जुनु रिजालले ‘खेलौला देउडा चैतली’ गीत गाएपछि सुदूरको देउडाले राष्ट्रियस्तरमा महत्त्व पाएको थियो। त्यो गीतका शब्द संकलक पनि रेग्मी हुन्।

    त्यसपछि मिलन लामाले पनि रेग्मीकै शब्दमा रहेको देउडा गाए। अर्जुन कौशलले ‘आइगयो वसन्त’ आएपछि देउडाको उचाइ ह्वात्तै बढ्यो। अहिले छायांकनको अन्तिम चरणमा रहेको 'रघुवीर' चलचित्रमा पनि  रेग्मीको गीत समावेश गरिएको छ। त्यो बेला निकै रुचाइएको ‘ढुकुरान्चरी’ बोलको गीत चलचित्रमा राखिएको छ।

    २०५० सालमा रेग्मीले ‘ढुकुरान्चरी’ निकालेका थिए। त्यो बेला उक्त गीत समावेश  क्यासेट एक लाख बढी बिक्री भएको थियो। पाल्पा घर भएका नरायण रायमाझीले उनलाई अझै प्रेरणा दिइरहे। रेग्मी भन्छन्, ‘नारायण दाइ नभएको भए म पनि संगीतमा हुने थिइनँ होला।’

    हराए ती ‘कला’ र ‘गला’

    देउडा गीतमा सबैको मुखमुखमा झुण्डिने एउटै बोलको गीत हो- ‘झ्याम्म झ्याम्म।’ यही चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशीले देउडाका पारखीहरूलाई नयाँ गीतको स्वाद नचखाएको वर्षाैं भइसक्यो।

    देउडा संगीतको यहाँसम्मको यात्रामा अनवरत कला, गला र साधनाले खारिएका देउडाका पुराना संगीतकर्मीसमेत अहिले हराउन थालेका छन्। भोजराज भट्ट, राजाराम भाट, अन्तराम विष्ट, टेकराज अवस्थी, यज्ञराज उपाध्याय, भुवन दहाल, हरिना साउद, डिग्रादेवी गाइने, लालबहादुर थापालगायतका कलाकारहरूले नयाँ गीत नल्याएको वर्षाैं बितिसकेको छ।

    यही क्षेत्रमा सक्रिय रहेका पुराना देउडाका संगीतकर्मीहरूले पनि वर्षमा एक, दुईवटा भन्दा बढी गीत ल्याउन सकेका छैनन्। देउडा संगीतको जग हालेका कलाकारहरू नै पेसाबाट पलाएन भएपछि युवा पुस्ताहरू जो, देउडा नाम दिएर आधुनिक र पप शैलीमा गीत निकाल्दै छन्, उनीहरू पनि अभिभावकविहीन जस्तै भएका छन्।

    ‘टिक्न’ र ‘बिक्न’ गाह्रो

    देउडाका गायक गायिकाहरू पलायन भइसकेका छन् तर रेग्मीको अहिलेसम्म पनि देउडा संगीतमै साधना जारी छ। गायक रेग्मीले देउडा संगीतमै लामो समय साधना गरेर नाम कमाए र लाखौँ श्रोता दर्शकको माया पनि पाए।

    गायक नरेन्द्रराज रेग्मी भन्छन्, ‘संगीतमा लागेर सरकारी जागिर छाडेको पीडा बिर्सने प्रयास गरिरहेको छु।’ पछिल्लो समय रेग्मीले ‘धन्य कली जुग’ गीत ल्याएका छन्। उनलाई गायिका टीका पुनले साथ दिएकी छन्।

    रेग्मीको ‘धन्य कली जुग’ यस्तो छ:

भानुभक्त आचार्य

आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : bhanuavenues@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]