|

काठमाडौं : पहिलो पुस्ताका क्यान्सर रोग विशेषज्ञ हुन् डा. मदन पिया। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि रसिक रूपमा प्रस्तुत हुनु उनको विशेषता हो। नेपालमै पहिलो क्यान्सरमा विशेषज्ञता हासिल गर्ने चिकित्सक हुन् पिया।

बंगलादेशबाट एमबिबिएस सकेर आएपछि एक वर्ष शान्त भवन मिसन अस्पताल सानेपामा काम गरेपछि पाटन अस्पतालमा उनले चिकित्सकीय सेवा दिइरहेका थिए। बीचमा इंग्ल्यान्डबाट ट्रपिकल र चेस्ट मेडिसिनमा विशेषज्ञता गर्ने अवसर मिले पनि उनले क्यान्सरकै डाक्टर बन्ने लक्ष्य लिए।

परिवारको इच्छा व्यपार गरिदेअोस् भन्ने

तनहुँको बन्दीपुरमा व्यापारिक घरानामा जन्मिएका डा. पियालाई परिवारको चाहना पनि पुर्ख्यौली पेसा व्यापार व्यवसायमै लागोस् भन्ने थियो तर सानैदेखि पढ्नमा अब्बल रहेका डा. पिया भने परिवारको पुर्ख्यौली पेसाभन्दा विलकुल फरक बाटोमा लागे।

पियालाई सानोमा बोर्डिङ पढ्ने इच्छा नभएको होइन तर परिवारमा कुनै पनि सन्तानलाई उपेक्षा नगर्ने पिया परिवारले अरू सन्तानलाई जुन सरकारी स्कुलमा पढाएका थिए, डा. पियालाई पनि त्यहीँ पढाए तर पढ्नमा अब्बल रहेका डा. पियाले एसएलसीमा प्रथम श्रेणी ल्याएपछि भने उनको पढाइले अर्को मोड लियो र आइएस्सी पढ्न काठमाडौं आए।

झन्डै पशुको डाक्टर

सुरुमा तनहुँको बन्दीपुरमा रहेको भानु हाइ स्कुलमा पढे उनले। पछि परिवारले काठमाडौं क्षेत्रपाटीको जुद्धदय हाइ स्कुलमा पढ्न पठायो र त्यहीँबाट पियाले एसएलसी पास गरे। एसएलसीपछि त्रिचन्द्र कलेजमा आइएस्सी पढेका डा. पिया आइएस्सीमा भने सेकेन्ड डिभिजनमा पास गरे। त्यसबेला आइएस्सी फस्ट डिभिजनमा पास गरेकाले मात्र चिकित्सा विज्ञान तथा इन्जिनियर पढ्न पाउँथे, जसले गर्दा पियाको चिकित्सा शिक्षा र इन्जिनियर पढ्ने बाटो बन्द भएको थियो। त्यसैले उनले भेटरनरी (पशु चिकित्सा शिक्षा) पढ्ने निर्णय गरेका थिए तर व्यापारिक घरानामा हुर्किएका डा. पियालाई परिवारले भेटरनरी पढ्नु भन्दा व्यापार नै गर्ने आग्रह गरेपछि उनी अप्ठ्यारोमा परे।

उनले भने, ‘त्यस बेला आइएस्सीमा फस्ट डिभिजन ल्याएकाले मात्र डाक्टरी शिक्षा पढ्न पाउँथे, मेरो सेकेन्ड जिभिजन भएकाले पढ्न नमिल्ने भएपछि भेटरनरी पढ्ने इच्छा जनाएँ।' तर परिवारले केको डाक्टर भन्दा पशुको डाक्टरको बाबु भन्छन्, पढ्ने भए पैसा नै तिरेर मान्छेकै डाक्टर पढ भन्ने आग्रह गरेपछि चिकित्सा शिक्षा पढ्ने निर्णय लिएको डा. पियाले सुनाए। उनले भने, ‘भेटनरी डाक्टर बन्छु भन्दा बुबाले छोरो के गर्छ भन्दा पशुको डाक्टर भन्नु पर्छ, बन्ने भए मान्छेकै डाक्टर बन।‘

परिवारले भेटरनरी पढ्न नदिएपछि पैसा तिरेरै एमबिबिएस पढ्ने आग्रह गरेपछि डा. पिया तत्कालीन वेस्ट पाकिस्तान, हालको बंगलादेशस्थित किङ बन्ड मेडिकल कलेज, हालको ढाका मेडिकल कलेजमा पैसा तिरेरै पढ्ने उद्देश्यले एमबिबिएस भर्ना भए। सन् १९६७ मा उनी एमबिबिएस भर्ना हुँदाताका  बंगलादेश स्वतन्त्र गराउने लडाइँ भइरहेको थियो। यसले गर्दा उनले राम्रोसँग पढ्न पाएनन्। सधैँ लडाइँ भइरहने वातावरणले गर्दा उनी केही समय नेपाल फर्किए र पछि पुन: गएर एमबिबिएस पूरा गरेर आए।

यसरी बने क्यान्सरका डाक्टर

क्यान्सरमा विशेषज्ञता हासिल गर्ने डा. पिया नेपालका पहिला चिकित्सक हुन्। क्यान्सरको उपचार गर्ने नेपालका कुनै पनि अस्पतालहरूमा उपकरण तथा विभाग थिएन, जसले गर्दा उनलाई क्यान्सर रोगको बारेमा विशेषज्ञता हासिल गरेर राम्रो होला भन्ने लागेको थिएन रे!

भर्खरै बेलायतबाट छाती रोगमा विशेषज्ञता लिएर पाटन हस्पिटलमा काम गरिरहेका थिए। छाती रोगको उपचारमै नामी डाक्टर भइसकेको बेलामा नेपालमै उपचार नहुने रोगको बारेमा पढेर के गर्नु भन्ने लागिरहेको थियो उनलाई। उनले भने, 'भर्खरै बेलायतबाट छाती रोगमा विशेषज्ञता हासिल गरेर आएर काम गरिरहेको थिएँ। नाम पनि राम्रै कमाइरहेको थिएँ। त्यसबेला क्यान्सर पत्ता लागे पनि उपचार गर्ने कुनै उपकरण थिएन। त्यसैले उपचार नहुने रोग पत्ता लगाएर मात्रै के गर्नु भन्ने लागिरहेको थियो।'

त्यही बेला नेपालमा जयन्ती शाहको नेतृत्वमा क्यान्सरबारे जनचेतना जगाउन क्यान्सर रिलिफ सोसाइटी गठन गरेर नेपालमा भर्खर भर्खरै क्यान्सरबारे जनचेतना फेलाउने काम भइरहेको थियो। एक दिन सोही सोसाइटीबाट डा. पियालाई भेट्नका लागि खबर आयो। उनी जयन्ती शाहलाई भेट्न गए। खास कुरा भर्खरै सोसाइटीका लागि फोक्सोका क्यान्सर पत्ता लगाउने मेसिन ‘ब्रोनोस्कोपी’ आएको रहेछ तर चलाउने मानिस नभएर समस्या परिरहेको बेलामा छाती रोग विशेषज्ञ भएका कारण उनलाई भेट्न बोलाइएको रहेछ।

सोसाइटीकै सल्लाहमा उनले ब्रोनोस्कोपी चलाउन थाल्ले। ब्रोनोस्कोपीबाट बिरामीको उपचार गर्न थाल्दा केही फोक्सोका क्यान्सरका बिरामी पनि पत्ता लागे। रोग पत्ता लागे पनि त्यसबेला नेपालमा क्यान्सरको कुनै पनि उपचार हुने अवस्था थिएन, जसले गर्दा बिरामीहरू विदेश जानुपर्ने बाध्यता थियो। उनले बिरामीलाई सल्लाह दिन्थे।

सन् १९९० को एक दिन अमेरिकाबाट नेपाल आएका एक जना अमेरिकी क्यान्सर रोग विशेषज्ञ उनलाई भेट्न पाटन अस्पताल आए। भेटमा उनलाई 'तिमीसँग समय छ भने अमेरिका आऊ पढ्न' भने। केही समयपछि उनी क्यान्सरबारे अध्ययन गर्न छात्रवृत्ति लिएर अमेरिका गए। एक वर्षसम्म अमेरिकामा पढेर उनी नेपाल फर्किए। क्यान्सरको विशेषज्ञ बनेर आए पनि नेपालमा क्यान्सरको उपचार गर्ने कुनै पनि उपकरण तथा औषधि नभएको बेला अब अप्ठ्यारो पर्ने भो भन्ने अनुभव गरेको उनी बताउँछन्। उनले भने, 'क्यान्सरबारे विशेषज्ञता हासिल गरेर आए पनि उपकरणको अभाव थियो। क्यान्सरको औषधि नेपालमा पाइन्नथ्यो, जसले गर्दा फोक्सोका क्यान्सर रोगिका लागि टिबिको औषधि चलाउनुपर्ने अवस्था थियो। यसले गर्दा सुरुसुरुमा त मान्छे मरेको प्रमाणित गर्ने डाक्टर पो भइएछ जस्तो लाग्न थालेको थियो।'

समय फेरिँदै गयो। नेपालमा पनि क्यान्सर रोगको उपचार सम्भव हुने वातावरण हुँदै आयो। यसले गर्दा धेरै क्यान्सर रोगीहरूलाई नेपालमै उपचार गरेर मृत्युको मुखबाट बचाउन सफल भए। पछि उनी भक्तपुर क्यान्सर अस्पतालको संस्थापक निर्देशक बनेर त्यहाँ पाँच वर्ष सेवा गरे। यस्तै, भरतपुरमा स्थापना भएको विपी कोराला मेमोरियल क्यान्सर अस्पतालमा बोर्ड सदस्यका रूपमा उनले काम गरे। हाल उनी जावलाखेलस्थित नेसनल क्यान्सर अस्पतालबाट बिरामीलाई सेवा दिइरहनुका साथै। क्यान्सरविरुद्धको अभियानमा पनि उनी निरन्तर लागिरहे। उमेरले ६५ वर्षभन्दा माथि पुगिसकेका पिया अझै पनी उही जोश जाँगरका साथ बिरामीको सेवा गरिरहेका छन्।

यति मात्र नभएर हाल उनी ललितपुर महानगरपालिकाको स्वास्थ्य सल्लाहकारसमेत रहेका छन्। समय मिलेको बेला उनी ललितपुर महानगरपालिकाको हरेक वडामा पुगेर स्वास्थ्य सेवा कसरी प्रदान गर्ने भन्ने सल्लाह दिन्छन्। साताको एक दिन आफ्नै घर छेवैमा रहेको आफ्नै वडा कार्यालयमा पुगेर बिरामीसमेत हेर्ने गरेको उनी बताउँछन्।

नेपालमै सम्भव छ क्यान्सरको उपचार

धेरै जना अहिले पनी क्यान्सरको उपचार गर्न विदेश जाने गरे पनि क्यान्सरको सबै खालको उपचार नेपालमै हुने पियाले बताए। उनले भने, 'केही समय अगाडि क्यान्सरको उचारका लागी बाहिर जानुपर्ने अवस्था थियो तर हाल अमेरिकामा जस्तो सुविधाले क्यान्सरको उपचार हुन्छ, नेपालमा पनि त्यही सुविधा छ।' हाल सरकारले क्यान्सर रोगीलाई उपचारका लागि दिने सेवाभन्दा रोग लाग्नै नदिन जनचेतना फैलाउनु आवश्यक रहेको उनले बताए। उनले भने, 'सरकारले अहिले क्यान्सर रोगीलाई सेवामा सहुलियत दिएको छ तर यस्तो गर्नुभन्दा रोग लाग्नै नदिन जनचेतना फैलाउनु आवश्यक छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.