|

भद्रपुर (झापा) : भद्रपुरस्थित झापा कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षकसहित छ जनालाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ।

कारागारमा सुरक्षाका जिम्मा पाएका प्रहरी नायब निरीक्षक हस्तबहादुर श्रेष्ठ घर बिदा बसेका बेला उनको स्थानमा इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक गणेश राईसहित ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दार र चार जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

‘प्रहरी कर्मचारीको लापरवाहीले कारागारबाट कैदी भागेका हुनाले उनीहरुलाई तत्काल कारागारको सुरक्षाबाट हटाइसकेको छौं’, प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘प्रहरी संगठनको नीति तथा कानुन बमोजिम प्रहरी कर्मचारीलाई कारवाही हुन्छ।’ 

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार कैदीबन्दी फेला नपरेको खण्डमा छ जना प्रहरी जागिरबाट समेत बर्खास्त हुन सक्छन्। कैदीबन्दी फरार घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। समितिले काम सुरु गरिसकेको छ। कारागारबाट गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी आइतबार दिउँसो फरार भएका थिए। 

प्रहरीमाथि ढुंगा प्रहार

कारागारबाट फरार भएका माझी बिर्तामोडतर्फ भागेका थिए। उनलाई आइतबार राति करिब ९ बजे गरामनीमा खटिएका प्रहरी टोलीले सडकमा भेट्टाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। त्यस बेला उनले दुई जना प्रहरीमाथि ढुंगा प्रहार गरी उनी त्यहाँबाट पनि भाग्न सफल भएको प्रहरीको भनाइ छ।

‘सुरक्षा व्यवस्था कडा बनाइएपछि फरार कैदी फेला पर्‍यो,’ उनले भने, ‘तर ड्युटीमा खटिएका असइमाथि ढुंगा प्रहार गर्दै गरामनी उत्तरतर्फको जंगलतर्फ पुनः भाग्यो।’ माझी जंगलतर्फ भागेकाले जंगल घेरेर प्रहरीले रातभर खोजतलास गरे पनि फरार फेला पार्न नसकेको प्रहरीको भनाइ छ।

'फिल्मी शैली'मा झापा कारागारबाट एक कैदीबन्दी फरार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.