|

जनकपुरधाम : प्रदेश-२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ। तेस्रो मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक थमन विकको हत्या आरोप लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मालाई जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको हो। 

उच्च अदालत जनकपुरधामले प्रदेश राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको झण्डै एक महिनापछि अदालतमा हाजिर भएका राज्यमन्त्री शर्मालाई साधारण तारेखमा रिहा गरिएको प्रतिवादी अधिवक्ता रमेश कुमार पाण्डले जानकारी दिए। सोमबार बिहान अदालतमा हाजिर भएका राज्मन्त्री शर्माको तीन घण्टा लगाएर बयान लिइएको थियो।

बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले थुनछेकको बहस गरेको थियो। थुनछेकमा राज्यमन्त्री शर्माको तर्फबाट कानुन व्यवसायी रमेश कुमार पाण्डे र देवेन्द्र ठाकुर र ज्ञानेन्द्र लाल कर्णले बहस गरेका थिए भने, राज्यमन्त्री शर्माको विपक्षमा सरकारी कार्यालयका अभिवक्ता सुदीप दंगालले बहस गरेका थिए।

सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले यस अघि ७० दिने म्याद दिएपनि सो अवधिमा उनी हाजिर भएका थिएनन्। तर उच्च अदालत जनकपुरका न्यायधीश माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले हत्या आरोपीलाई अबिलम्ब पक्राउ गर्न गत अषाढ २५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रमुखको नाममा परमादेश जारी गरेपछि उनी अदालत समक्ष हाजिर भएका थिए।

थमन विकका श्रीमतीको जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलास समक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो। पक्राउ गर्न भनिएका राज्यमन्त्री शर्मा संगै जलेश्वर नगरपालिकाका मेयर मेयर रामशंकर मिश्र राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका हुन भने, कौशल कुमार यादव महोत्तरी निर्वाचन क्षेत्र नं. ४(क) बाट संघीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनीहरु माथि तेश्रो मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीको आक्रमणमा परेर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको आरोप छ। अभियुक्तहरुलाई फरार भनी करारनामा दिईसकेको बेलामा  महोत्तरी प्रहरीले पक्राउ गर्नबाट पछि हटेको अवस्थामा असई विकको हत्याका फरार अभियुक्तहरु मध्येका एक महोत्तरी ३ ‘क’ बाट प्रदेशसभामा निर्वाचित सांसद अभिराम शर्मा अदालतमा हाजिर भएका थिए।

महोत्तरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको असई विकको हत्या मुद्दामा शर्मा सहित जलेश्वर–६ का रमेशप्रसाद साह, सतिसनन्द चौधरी, राजा चौधरी, नरेश साह, रामराजा साह, हरिओम कुमार भगत, बिक्की साह, जलेश्वर–९ का चन्देश्वर साह, गोलु साह, रवीन्द्रराम चमार, रञ्जित साह, देवेन्द्र चौधरी, पवन कापडी, अनिल ठाकुर, फुले यादव, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव, लक्ष्मी महतो, धमेन्द्र राय र सुरेश पाण्डेलाई अभियुक्त बनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.