|

बारा : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिका प्रशासकीय अधिकृत कुमुद ढकालमाथि स्थानीयले मंगलबार हातपात गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित उद्योगको पूर्वपट्टी रहेको पाकिङ क्षेत्रमा फोहर थुपारेर आगो लगाएको भन्दै आक्रोशित स्थानीयबासीले आगो नियन्त्रणका लागि पुगेका ढकाल सहितको जगदम्बा स्टिलको टोलीमाथि हातपात गरेका हुन्।

मंगलबार बिहान करिब साढे ११ बजे जगदम्बा स्टिलको पाकिङ क्षेत्रबाट निस्केको कालो धुँवाको मुस्लोले सो उद्योग क्षेत्रको बस्तीमा केहिबेर त्राससमेत फैलिएको थियो। सिमरा मनकामना टोलका स्थानीय आफ्नो घरमा समेत आगो फैलन सक्ने भन्दै त्रसित बनेका थिए। स्थानीयले सामाजिक सञ्जालमार्फत उद्योगको विरोध जनाइरहेका थिए।

जगदम्बा स्टिलले बस्तीको जोखिमलाई ध्यान नदिइ फोहर र कालो मोविल मिसाएर आगो लगाएको स्थानीयको आरोप छ। तर जगदम्बा स्टिलले भने पार्किङ क्षेत्रमा थुपारिएको फोहरमा आगो कम्पनीका तर्फबाट नलगाइएको दाबी गरेको छ।

उद्योगका प्रशासकीय अधिकृत ढकालका अनुसार उद्योगले थुपारेको फोहरमा अन्य कसैले आगो लगाइदिएका हुन्। ‘हामीले फोहर बाल्न आगो लगाएका हैनौँ,’ प्रशासकिय अधिकृत ढकालले भने–‘अन्य कसैले आगो लगाइदिएपछि स्थानीय आक्रोशित बनेका हुन्।’ स्थानीयका नाममा केही उच्छृंखल व्यक्तिले आँफूमाथि हातपात गरेको उनले बताए।

बिहान करिब साढे ११ बजेबाट फैलिएको आगो जीतपुरसिमरा उपमहानगरपालिकाको बारुण यन्त्रले करिब एक घण्टापछि नियन्त्रणमा लिएको थियो।

यता जीतपुरसिमरा–१ नम्बर वडा कार्यालयले जगदम्बा स्टिललाई पर्किङ क्षेत्रमा गाडी तथा अन्य उद्योगबाट निस्कने फोहर नराख्न पत्राचार गरेको छ। वडा अध्यक्ष हिराबहादुर गुरुङले पत्र लेख्दै मंगलबारका मितिबाट अर्को व्यवस्था नहुञ्जेल सो पार्कीङ क्षेत्र प्रयोग नगर्न आग्रह गरिएको छ।

स्थानीय गुरुप्रसाद गौतमले मंलबारको आगलागीबाट ठूलो क्षतिको सम्भावना टरेको बताए । उनले स्वास्थ्य र धनजनको क्षतिप्रति गम्भीर बन्न जगदम्बा स्टिललाई आग्रह समेत गरेका छन्।

प्रदूषण नियन्त्रणमा गम्भीर हुन नगर प्रमुखको आग्रह

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा कृष्ण पौडेलसहितका जनप्रतिनिधिले शालिमार र युनिटेक सिमेन्ट उद्योगको अनुगमन गरेका छन्। अनुगमनपछि प्रमुख डा पौडेलले प्रदुषण नियन्त्रणमा गम्भीर हुन उद्योग प्रशासनलाई आग्रह गरेको छन्।

जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित उद्योगलाई स्थानियबासी र वातावरणमा असर नपर्ने गरी प्रदुषण नियन्त्रण गर्न आग्रह गरेका हुन्। मेयर डा पौडेलको नेतृत्वमा पुगेको वडाअध्यक्षसहितको टोलीले प्रदुषण नियन्त्रणका लागि उद्योगले अपनाएको प्रविधि पर्याप्त नभएको भन्दै थप गम्भीर हुन आग्रह गरे।

यसअघि गत पुषमा उद्योगको अनुगमन गर्दै प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराएको थियो। जनप्रतिनिधिको अनुगमनपछि उद्योगले प्रदुषण नियन्त्रण प्लान्ट जडान गरेपनि प्रदुषण नियन्त्रण नभएको स्थानीयको गुनासो छ। स्थानीयको गुनासोपछि जनप्रतिनिधिले पुनः उद्योगको अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा नगर प्रमुख डा पौडेलसहित उपमेयर सरस्वती चौधरी, वडा ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा ६ का अध्यक्ष कैमुदिन अंसारी, वडा २३ का अध्यक्ष अस्लम देवान, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार कार्की, ईन्जिनियर नवराज शर्मा, सञ्जिब रुपाखेती, नेकपाका नेता देवनारायण चौधरीलगायत जनप्रतिनिधि र स्थानियको उपस्थिती रहेको थियो।

अनुगमनका क्रममा उद्योग प्रशासनले प्रदुषण नियन्त्रणका लागि प्रविधि जडानको काम भइरहेको र मानव स्वास्थ्यमा गम्भीर रहेको बताएको छ। उद्योगबाट निस्कने धुलोका कारण स्थानीय पीडित हुँदै आएका छन भने उद्योग वरपरको बाली नष्टसमेत नष्ट हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.